श्रमिक हितमा सामाजिक सुरक्षा कोष

हिमालय टाइम्स
Read Time = 8 mins

नेपाल सरकारद्वारा सामाजिक सुरक्षा कोषको दायरा फराकिलो बनाइएको छ । अब यसमा अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकहरू पनि समावेश हुनसक्ने भएका छन् । यस कोषलाई प्रधानमन्त्री पुष्पकमल दाहालले श्रमिकका हकमा ‘ब्रेक थ्रु’ हो भन्नुभएको छ । उक्त कोषको कार्यक्रममा अबका दिनदेखि अनौपचारिक क्षेत्रका र स्वरोजगार व्यक्तिहरूलाई समेत समेटिएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीबाट भएको र उक्त सन्दर्भमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएका कारण अब अनौपचरिक क्षेत्रका र स्वरोजगार व्यक्तिहरूमा समेत आशाको सञ्चार भएको छ ।

निर्माण, यातायात, कृषि, घरेलु कामदार जस्ता विभिन्न क्षेत्रमा संलग्न मजदुर आफ्नो शरीरमा तागत छउन्जेल दैनिक काम गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् तर उनीहरू रोगी हुँदा, बिरामी पर्दा, दुर्घटनामा पर्दा तथा वृद्धावस्थामा पुगेपछि आफ्ना हातमा कुनै रकम नहुने, औषधोपचार गर्न नपाउने, आपूmले चाहेको मीठोमसिनो खान र राम्रो लाउन नपाउने अवस्था सिर्जना हुन्छ । यो हाम्रो समाजमा स्थापित तीतो यथार्थ हो । यस्तो अवस्था आजदेखिको होइन । जुनसकै राज्यप्रणाली भए पनि हाम्रो सामाजिक अवस्था र व्यवस्थाका रूपमा स्थापित भइसकेको छ । विकृतरूपमा, समाजविरुद्ध हुनेगरी रहेका कुनै पनि प्रचलनको अन्त्य हुनु आवश्यक भइसकेको र त्यसको महसुस भइरहेको अवस्थामा अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगारलाई समेत समावेश गर्नेगरी यस्तो व्यवस्था गरिनु सुखद् पक्ष भएको छ ।

सामाजिक सुरक्षा कोषको व्यवस्था पहिले नै भइसकेको थियो । त्यसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू र अन्य स्वरोजगारलाई समेटिएको थिएन । कोषको दायरा फराकिलो बनाउँदै लाने क्रममा हालै यस्तो व्यवस्था गरिएको हो र यस कार्यक्रममा प्रधानमन्त्री स्वयं उपस्थित भएर सम्बोधन गर्नुभएको छ । वर्तमान संविधानको कार्यान्वयन गर्ने क्रममा समाजका विभिन्न तह-तप्काका मानिसलाई राज्यको सुरक्षाको प्रत्याभूति गराउनु आवश्यक छ, त्यस क्रममा विभिन्न व्यवस्था हुनु जरुरी छ । आविष्कारको जननी आवश्यकता भने झै समाज विकासको क्रममा आवश्यक हुने नीति, नियम, कार्यक्रम तय गर्ने जिम्मेदारी राज्यको हो, राज्य अर्थात् सरकार । आवश्यकता र जिम्मेदारीबोधकै कारण सरकारले हालै सामाजिक सुरक्षा कोषको आयातन विस्तार गरेको हुनुपर्छ । स्वरोजगार व्यक्तिहरू अनौपचारिक क्षेत्रका श्रमिकहरूको सुरक्षाको कुनै प्रत्याभूति नहुँदा श्रमिक पलायन हुने, निराश रहने र श्रमव्यवस्था गतिहीन हुने अवस्था छ । नयाँ व्यवस्थाका कारण श्रमको सम्मान, केही हदमा संरक्षण हुनसक्छ भने आर्थिक रूपमा केही न केही सहयोग पुग्ने कुरा निर्विवाद छ ।

तर, यसका लागि श्रमिकहरूले पनि नियम अनुसारको योगदान गर्दै जानुपर्ने हुन्छ । आफूले कोषमा तोकिए अनुसारको केही रकम जम्मा गर्दै जानुपर्छ र सरकारले त्यसमा केही रकम थपिदिँदै जान्छ । त्यसो गर्दा लामो समयसम्म श्रमिकले जम्मा गरेको रकम र सरकारले त्यसमा थपिदिएको रकम जम्मा गर्दा निवृत्त वा असक्त अवस्थामा सहयोग हुने निर्विवाद छ । त्यसकारण सरकारले कोषको कार्यक्रममा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई समेत जोड्ने जुन प्रयास गरेको छ त्यो उनीहरूका लागि केही नहुनुभन्दा केही हुनु समान हितकर हुनेछ ।

दिनरात पसिना बहाउँदै अनेक दुःख कष्ट गरेर कमाएको रकम अनावश्यक रूपमा खर्च गर्ने श्रमिकहरूको बानी–व्यवहारमा यसले नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । मदिरा सेवन, मनोरञ्जन र खेलबाडमा खर्च गर्ने उनीहरूको बानीमा यस कार्यक्रमले स्वतः नै केही हदसम्म नियन्त्रण गर्छ र सरकारले थपिदिने रकम र भविष्यका लागि बचत हुने आशाले श्रमिकहरूको बानीमा परिवर्तन ल्याउँछ, ल्याउनुपर्छ । तर उनीहरूले कोषमा रकम जम्मा गर्ने बानीसमेत विकास नगरी हुँदैन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले पनि सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा समेटेर उनीहरूको भविष्य सुरक्षित गरेको विचार व्यक्त गर्नु भएको छ । उहाँको विचार सरकारी धारणा हो, यसलाई सार्थक गराउन सरकारकै पहल पहिलो सर्त हो भन्ने कुरा बिर्सनु हुन्न ।

यस कार्यक्रमको अर्को एउटा सकारात्मक पक्ष के हो भने मजदुरहरूका बीचमा रहेको विभेदको रेखालाई यस कार्यक्रमले बिस्तारै मेटाउँदै लैजान्छ । हामीमाथि भेदभाव भएको छ भन्ने मानसिकता बोकेर बसेका अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारहरूले सरकारले आपूmलाई समेत सम्झेर आफ्ना लागि पनि एउटा अवसर दिएको रूपमा उनीहरूले हेर्नसक्छन् । उनीहरूमा रहेको हीन भावना मेटाएर मनोवैज्ञानिक रूपमा प्रभाव पार्न सक्नुमात्र पनि एउटा सफलता हो भने अवसर प्रदान गरी कार्यक्रममै संलग्न गर्दा निश्चय उनीहरूले यसलाई आत्मसात गरेर अगाडि बढ्नेछन् भन्ने कुरामा विश्वास गर्न सकिन्छ । तर यस्तो विश्वासलाई मूर्त गराउन सरकारको सदिच्छाले मात्रै पुग्दैन श्रमिकहरूको सकारात्मक सोच र व्यवहार अनिवार्य हुन्छ भन्ने सत्यलाई आत्मसात गर्नु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?