राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित भेटघाटमा उहाँले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिनुभएको हो । नेपाली टोली मंगलबार राती पाकिस्तान प्रस्थान गरेको छ ।

‘यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिन चाहन्छु,’ राष्ट्रपति पौडेलले भेटघाटका क्रममा भन्नुभयो, ‘यसप्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन तथा राष्ट्रको प्रतिष्ठा एवं गरिमा बढाउन योगदान दिनेछ ।’

नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगत्का लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

‘विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टोलीसँग खेल्ने अवसर नेपाली टोलीका लागि थप उत्साहको विषय हो । उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईंहरूको अहोरात्रको मेहनत र परिश्रम सफल होस्,’ राष्ट्रपति पौडेलले सफलताको शुभकामना दिँदै भन्नुभयो ।

नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न टोलीसँग नजाने हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीप बिरामी भएका कारण नजाने हुनुभएको हो । उहाँ फिट भएपछि जानुहुनेछ ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध पछिल्लो एक वर्षदेखि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । पछिल्लो बहसमा अदालतले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?