तुषानल भित्रको ज्वालामुखी

हिमालय टाइम्स
Read Time = 8 mins

धरानमा बल्न लागेको आगो अहिले निभे जस्तो छ । यसका लागि वर्तमान सरकार स्वयं गृहमन्त्री र सम्बन्धित सबै अधिकारीहरू बधाई र धन्यवादका पात्र भएका छन् । कुनै समयमा नेपालगञ्जमा बलेको आगो होस् कि रौतहटको गौर अथवा बाराको कलैयामा धार्मिक सांस्कृतिक द्वन्द्वको कहाली लाग्दो विगतको रूपमा नेपाली इतिहासको गर्तमा पुरिइसकेका घटना हुन् । तर ती घटनाको पुनर्जन्म हुनेगरी अहिले धरान दृश्यमा प्रकट भएको छ । कुनै पनि जातीय समुदायका, कुनै पनि धार्मिक समुदायका, जिम्मेदार नागरिकहरूको सहभागिता त्यसमा नभए पनि देशमा विखण्डनको आगो बाल्ने, धार्मिक वैमनस्य फैलाउने र आफ्नो दुनो सोझ्याउनेहरू भने त्यहाँ विद्वेषको आगो सल्काउने, त्यसलाई डढेलोमा परिणत गर्ने कार्यमा नियतबस देखिएका छन् । अर्कातिर त्यस आगोलाई फैलाउने योजनाका तहत घ्यू थप्ने प्रयासहरू पनि भएको देखिन्छ । तर नौ गते स्थानीय प्रशासनले जुन योग्यता र कुशलता प्रशर्दन गर्‍यो, संघीय सरकारको, जिम्मेदार राजनीतिक दलको नेतृत्वले जुन रूपमा बुद्धिमत्ता देखाए त्यो प्रशंसनीय छ ।

तुषानलको अर्थ भूसभित्रको आगो भन्ने लाग्छ । धरानको अवस्था प्रत्यक्षमा शान्त भएको देखिए पनि यो मुद्दा तुषानल भएर लुकिरहेको र कुनै पनि समयमा दावाग्नि भएर देखा पर्ने संभावना रहन्छ । भन्नेहरू त नेपालको वर्तमान संविधान, राजनीति र राजनीतिक नेतृत्व सबैका कारण तुषानलले झन् सशक्त आकार लिँदै छ, भनिरहेका छन् । तुषानल शब्दलाई कृतिकै रूपमा वरिष्ठ पत्रकार लेखक देवप्रकाश त्रिपाठीले राजनीतिकमा प्रयोग गर्नुभएको छ । तुषानल एक प्रकारको मन्द विष पनि हो । मन्द विषले शनै-शनै प्राणान्त गराउँछ । तुषानलले पनि भित्रभित्रै समाजलाई खरानी पार्ने सामथ्र्य विकास गरिरहेको हुन्छ । नेपालको संविधान स्वयं तुषानल जस्तो भएर नेपाली समाजलाई खरानीमा परिणत गर्ने उपक्रममा छ भन्नेहरूलाई धरान प्रकरणले पुष्टि गरेको छ । संविधानमा विद्यमान धर्मनिरपेक्षतालाई हिन्दू धर्म र संस्कृतिविरुद्ध केन्द्रित गरियो भन्नेहरूका मनमा तुषानल गहिरोे रूपमा देखिन्छ । एकातिर यो अवस्था छ भने अर्कातिर जातिवादको चर्को नारा लगाउने, संविधानमा अन्तर्निहित अक्षर र भावनाका विरुद्ध उभिएर जातीय घृणा फैलाउने काम भइरहेको छ । बाहृमण, क्षत्रीय वा बौद्ध, किरात, वोन जस्ता पूर्वीय र परम्परागत धर्म संस्कृतिदेखि सिंगो ॐ कार परिवारले वरण गरेको हिन्दु धर्म संस्कृतिविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुनुलाई बहादुरी सम्झने र आफ्नाविरुद्ध कसैले केही भनेमा अपमान सम्झने र कोकोहोलो गर्ने संस्कृति देखा परिरहेको छ । बहुल जाति र धर्मका मानिसले अल्पसंख्यकको सम्मान जुनरूपमा गर्नुपर्छ त्यही रूपमा अल्पसंख्यक दाबी गर्ने वा रहेकाहरू समेतले जिम्मेदारीकासाथ आफूलाई प्रस्तुत गर्नु जरुरी छ । नेपालका सन्दर्भमा गाई जनावरमात्रै होइन यो राष्ट्रिय जनावर पनि हो । संसारको कुनै पनि कानुनले राष्ट्रिय जनावरको सिकार गर्न दिँदैन । नेपालमा त आस्थासँग जोडिएको विषय हो यो । एउटा पक्ष हो । कुनै पनि समाजलाई विनाश गर्नु छ भने त्यो समाजका परम्परा, रिति-स्थितिमा प्रहार गर्नुपर्ने हुन्छ । अहिले नेपालको बहुमतमा रहेका समुदायले आफ्नो स्वतन्त्रमाथि आक्रमण भइरहेको ठान्नु यसै अर्थमा स्वाभाविक हुन्छ । तर, कुनै पनि व्यक्ति कुनै पनि धर्म संस्कृतिलाई वरण गर्न, ग्रहण गर्न स्वतन्त्र हुन्छ । धार्मिक स्वतन्त्रताको अर्थ यही नै हो । स्वतन्त्रताले निषेध गर्दैन । बहुमतका आधारमा निषेध गर्ने काम पनि गलत हुने छ । नेपाली समाजको सहिष्णुता, सद्भाव र सहनशील स्वभावलाई घोचपेच, घृणा र असंयमित अभिव्यक्तिले तुषानलमा परिणत गर्ने निश्चित छ । कसको स्वार्थमा कसको हितमा र कसको सेवामा समर्पित हुन्छ यस्तो व्यवहार ? यस्तो विषयमा राज्यले स्थायी प्रकारको विशिष्ट अनुसन्धान संयन्त्र बनाउनु आवश्यक छ । नेपाल यसै पनि दुई विशालकाय छिमेकीहरूका बीचमा ज्वालामुखी गर्भस्थ रहेको अवस्थामा छ । दुई छिमेकीहरूको अन्तराष्ट्रिय सामथ्र्य, शक्ति र छवि फरक रूपमा विकसित भइरहेको यो समयमा अरू शक्तिहरूका पनि आँखा लाग्नसक्छन् । त्यसमा पनि सांस्कृतिक र धार्मिक रूपान्तरणको तीव्र वेगको सुनामीमा जातीय द्वन्द्वले सिर्जना गर्ने अतिवादी चिन्तन यस्तो प्रवृत्तिका लागि आफैं राजमार्ग बन्नसक्छ ।

सरकारले एउटा अप्रिय संभावनालाई रोक्यो । तर के एक पटकको सफलताले निरन्तरता पाउनु सम्भव हुन्छ ? गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे कुनै स्थायी समाधान खोज्नसक्नुपर्छ । धरानवासीहरूले जुन संयमता देखाए, जुन सहिष्णुता देखाए, जसरी सरकारको कदमलाई सहयोग र समर्थन गरे त्यो अत्यन्त प्रशंसनीय छ । तर भोलिका दिनमा यस्तो प्रशंसनीय काम नहुन पनि सक्छ । किन भने तुषानल जस्तो भएर त्यहाँ विषवृक्ष उमार्ने, विद्वेषको फल फलाउनेहरू अनेक नाम र रूपमा सक्रिय छन् । जातीय राजनीतिको मौलो ठड्याउनेहरूले धर्म र संस्कृतिलाई प्रहार गरिरहेको अवस्था छ । आजको दिनमा सभ्य समाजको सभ्य आग्रह हो : आ-आफ्नो धर्म र संस्कृतिलाई पालना गरौं, अरूको आस्था र विश्वासमाथि हस्तक्षेप नगरौं, प्रलोभन, भय वा अन्यखाले भ्रम छर्दै समाजलाई विषाक्त नवनाऔं । यसैकारण हाम्रो आग्रह छ : स्थायी संयन्त्र निर्माण गरी समयमा नै यस्तो घातक प्रवृत्ति र वृत्तिलाई रोक्न सरकार दृढतापूर्वक उभिनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?