करारका कर्मचारीले धानेको खोटाङ जिल्ला अस्पताल

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । २०४८ सालमा स्थापना भएको १५ शैयाको जिल्ला अस्पताल खोटाङलाई सरकारले ३२ जना स्थायी कर्मचारीको दरबन्दी तोकेको छ । प्रशासन र मेडिकलतर्फ गरी सरकारले दरबन्दी त तोक्यो तर, हाल जिल्ला अस्पतालमा प्रशासन र मेडिकलसहित पाँचजना मात्रै स्थायी कर्मचारी छन् । अन्य सबै करारका कर्मचारी छन् ।

प्रादेशिक करार, अस्पताल सञ्चालन व्यवस्थापन समिति करार र छात्रबृत्ति करारका डाक्टर र कर्मचारीले अस्पताल जसोतसो धानिरहेको छ । ७ भदौमा जिल्ला अस्पताल खोटाङको सेवालाई लिएर चौतर्फी आलोचना भएपछि हामीले अस्पतालको यथार्थ समाचार श्रृङखलाबद्ध बाहिर ल्याईरहेका छौँ।

सरकारले जिल्ला अस्पताललाई स्थायी मेडिकल सुपरिटेण्डेण्ट नवौ÷दशौं तह एकजना तोकेको छ । बिडम्बना अस्पताल स्थापनायता नवौं÷दशौं तहको स्थायी मेडिकल सुपरिटेण्डेण्ट नै आएको छैन । आउँदा आठांै तहका निमित्त आउने र उनले छ महिना, वर्षदिन काम गरेर फर्कने गरेका छन् । त्यसको ग्यापमा सेवाग्राहीले दुःख पाईरहेको छ ।

अस्पतालमा मेडिकल अधिकृत आठौं तह दुई जनाको दरबन्दी छ । अन्तरंग विभागमा स्टाफ नर्स पाँचौ/छैठौं /सातौं चारजना, अनमि चौथो÷पाँचौं÷छैठौं दुई जना, आकस्मिक विभागमा हेअ/सिअहेव पाँचौं/छैठौं/सातौं एकजना, अहेव चौथो/पाँचौं/छैठौं दुईजना र प्रयोगशाला शाखामा ल्याब टेक्निसियन पाँचौं÷छैठौं÷सातौं एकजना, ल्याब असिस्टेन्ट चौथों/पाँचौं/छैठौं एकजना स्थायी कर्मचारीको दरबन्दी छ ।

मेडिकल रेकर्डिङ शाखामा हेअ/सिअहेव पाँचौं/छैठौं/सातौं एकजना, अहेव चौथो/पाँचौ/छैठौं दुईजना, रेडियोलोजी शाखामा रेडियोग्राफर पाँचौं/छैठौं/सातौं एक जना, डार्क रुम असिस्टेन्ट चौथो/पाँचौं/छैठौं एक जनाको स्थायी दरबन्दी छ । यस्तै, कर्मचारी प्रशासन शाखामा अधिकृतस्तर छैठौं एक जना, सहायकस्तर चौथौ एक जना र एघार जना स्थायी कार्यालय सहयोगीको दरबन्दी छ ।

तर, अहिले अस्पतालमा डार्क रुम असिस्टेन्ट सरोज कुमार पोखरेल, ल्याब टेक्निसियन विमल कुमार देव, अन्तरंग विभगामा स्टाफ नर्स सिता शाह र अनमि शारदा वजिमय तथा लेखापाल अर्जुन खवास मात्र स्थायी कर्मचारी छन् । अधिकृतस्तरको स्थायी कर्मचारी नहुँदा महिनौयता अस्पतालको आर्थिक कारोबार नै ठप्प छ । जसले गर्दा अस्पतालको कामकाजमै अवरोध पुगेको छ । सेवाग्राही प्रत्यक्ष मारमा परिरहेको छ ।

अहिले छात्रबृत्ति करारका एमडीजीपी चतुरानन्द यादव, एमबिबिएस मेडिकल अधिकृत पुस्कल राई, सिदार्थ शाह, गौतम मण्डल, अर्जुन खतिवडा(डेन्टलतर्फ) र निकसाइमनबाट सुनिल कुमार शाह अस्पतालमा कार्यरत छन् । एमडीजीपी डा.यादव आर्थिक अख्तियारी बिना निमित्त हुँदा उनले प्रशासन चलाउने र विरामी पनि जाँच्ने गर्नुपरिरहेको छ । अन्य चारजना मेडिकल अधिकृतले बहिरंग विभाग(ओपिडी),अन्तरंग विभाग(इन्डोर)र आकस्मिक कक्षमा विरामी जाँच गरिरहेका छन् ।

नियमअनुसार १५ शैयाको अस्पतालमा दुई जना मेडिकल अधिकृत र एकजना एमडीजीपी हुनुपर्छ । तर, स्थापना भएको ३२ वर्षमा आईपुग्दा अहिले जिल्ला अस्पतालमा ५० शैयाको अस्पतालमा भन्दा बढी बिरामी आईरहेको छ । कानुन र कागजमा अस्पताल १५ शैयाको छ । व्यवहारिक रुपमा अहिले २७ शैयामा अस्पताल चलाईरहेका छौ । अस्पतालका निमित्त प्रमुख एमडीजीपी डा.चतुरानन्द यादवले भने, ‘बिरामी चाप भने ५० शैयाको अस्पतालमा भन्दा बढी आईरहेको छ । त्यसकारण एकजना एमडीजीपीसहित चारजना मेडिकल अधिकृतले प्रतिव्यक्ति ५५ जनामाथि विरामी दैनिक रुपमा जाँच गरिरहनु परेको छ । स्वास्थ्यको मापदण्ड अनुसार यो अत्याधिक लोड हो ।’

अस्पतालमा दाँतको सेवा दिंदा पनि अन्य बिरामीको अत्याधिक चाप हुने गरेको छ । अस्पताल श्रोतका अनुसार गत आईतबार २३० जना, सोमबार २०३ जना, मंगलबार १८१ जना र बुधबार १४५ जना बिरामीको चेकजाँच गरिएको थियो ।

यति धेरै स्थायी दरबन्दी खाली रहेछ, किन कर्मचारी व्यवस्थापन गर्नुहुन्न ? भनेर अस्पताल सञ्चालन व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईलाई प्रश्न गर्दा ‘व्यवस्थापन समितिले सिधै नियुक्ती गर्न नमिल्ने र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराउने, माग्ने काम गरेको भए पनि लोकेसेवा आयोगले परीक्षा लिंदै पठाईरहेको प्रतिक्रिया दिनुभयो । सधै करारले चल्छ ? करार त आउने जाने हुँदा सेवाग्राहीले बिचमा दुःख त पाए नि ? भन्ने प्रश्नमा अध्यक्ष राई भन्नुहुन्छ, ‘दुःख पाएकै त्यही कारण हो नि, लोकसेवा आयोगले नियमित विज्ञापन गरेर सरासर डाक्टर नियुक्ती गरेको छैन । हामीले भन्नेमा भनिरहेका छौँ ।’

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुधा देवकोटालाई पनि यति धेरै स्थायी दरबन्दी खाली रहेछ, किन कर्मचारी व्यवस्थापन गर्नुहुन्न ? भनेर प्रश्न गर्दा स्वास्थ्यमा स्थायी कर्मचारी ६० प्रतिशत खाली रहेको र लोकसेवाले मागेको हुँदा बिस्तारै पदपूर्ति हुने बताउनुभयो ।
सधै करारले चल्छ ? करार त आउने जाने हुँदा सेवाग्राहीले बिचमा दुःख त पाए नि ? भन्ने प्रश्नमा समर्थन जनाउँदै सचिव देवकोटाले, 'स्थायी कर्मचारी ग्यापलाई पदपूर्ति गर्न लोकसेवालाई मागिरहेको बताउनु भयाे। लोकसेवाले विज्ञापन खोलेमा पदपूर्ति हुनसक्छ हैन भने त व्यवस्थापन समितिबाट करारमा नियुक्ती गरेर भए पनि काम चलाउनुपर्छ ।' हुँदै नभएपछि के गर्ने ।'

'प्रत्येक जिल्ला अस्पताल डाक्टर बिहीन छैन, छात्रबृत्ति करारका डाक्टर पठाउँदा हेरेर, मिलाएरै पठाएका छौ । दरबन्दी अनुसारको स्थायी डाक्टरका लागि लोकसेवा खोलिनुपर्छ । त्यो एकजनाको मात्रै हातमा हुने कुरा भएन ।' सचिव देबकोटाले भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?