बालेन अभिव्यक्ति अराजकताको प्रतिध्वनि

हिमालय टाइम्स
Read Time = 9 mins

संघीय राजधानीको महानगरपालिका देशभरको आकर्षण केन्द्र हुने गर्छ । राजधानी शहरले बाँकी शहर सभ्यतालाई रचनात्मक सन्देश प्रवाह सामथ्र्य राख्नुपर्छ । काठमाडौंलाई आदर्श मानेर अरू निर्मित शहरहरू योजना बनाउने सोच बनाउन सक्छन् । यसकारण, राजधानी शहर निश्चय पनि विशेष हुनुपर्दछ । करिब ८० वर्ष पहिलेदेखि आरम्भ राजधानीको संगठित शहर सभ्यतामा अनेक मानिसहरू नेतृत्वमा पुगे अनेक योजना बनाए । तर शहर त बन्यो सभ्यता निर्माण हुनसकेन । पूर्वाधार लथालिंग खडा भए । बाटो, ढल, नदीनाला, बिजुली, पानी, फोन, बगैँचा, कसरी कुन स्थानमा व्यवस्थित गर्नुपर्ने हो सोच पलाएन, पलाए पनि व्यवस्थित गरिएन । अहिले यसैकारण शहर बने पनि राजधानी शहर सभ्यताभन्दा कोसौं टाढा रहेको छ । बरू लिच्छवीकाल, मल्लकालका पुराना मठमन्दिरको जीर्ण भग्नावशेषले राजधानीको सभ्यतालाई धानेजस्तो लाग्छ । कुनै अन्य नवीनता छैन ।

राजनीतिक दलप्रतिको तीव्र असन्तोष, आक्रोश र दलको नेतृत्व जनमुखी हुन नसकेको अर्थमा नयाँ युवाहरू केही पालिकाहरूको नेतृत्वमा निर्वाचित भएको एक वर्षमात्रै भएको छ । अनियमित बस्ती र अनियमित निर्माणमुक्त गराउने पहिलो प्रयासले राजधानीसहित अन्य पालिकाहरूमा पनि जनताले नवनेतृत्वको हार्दिक प्रशंसा र समर्थन गरेका हुन् । कुरूप शहरको रूप फेरिने अपेक्षा शहरवासीमा पलाएको थियो । तर दूध धेरै उम्लियो भने खरानीमा पोखिन्छ र आफूलाई उमाल्ने आगोलाई समेत निभाउँछ भनेजस्तै गरी यतिखेर राजधानीका चर्चित मेयर उत्ताउलिन थालेका छन् । ‘नपाउनेले के पायो बोक्रैसमेत खायो’ भन्ने उखानको अवस्था देख्नु परिरहेको छ ।

राजधानी बाहिर निकै आगो बालेर उभिएका हर्क साम्पाङ धर्म र संस्कृति प्रकरणमा क्रमशः स्खलित भएका छन् भने काठमाडौंका बालेन्द्र साह सिंहदरबार जलाउने धम्कीले पतनको चरम मार्गतर्फ उन्मुख भएका छन् । नयाँ पुस्ताबाट देश र जनताको भाग्य चम्कने भरोसामा रहेका नागरिकहरूको शीर यी दुवैका अभिव्यक्ति तथा अराजकशैलीका कारण निहुरिन पुगेको छ । धरानका साम्पाङ कर्मले चर्चित थिए र काठमाडौंका बालेन नयाँपुस्ता परिचालनको क्षमताले । आश्चर्यजनक रूपमा यी दुवैले आमनागरिकको विश्वास र भरोसालाई आफ्नै अराजकताको आगोमा खरानी बनाउन लागेका छन् ।

केन्द्रीय नेतृत्वमा उदाएका, अनि नयाँ राजनीतिक दलका नेताहरूको चर्याले पनि मानिसहरू निरास भएको अवस्था छ । पुराना दलका नेताहरूको काम यसै पनि आत्मकेन्द्रित, अहंकारग्रस्त, भ्रष्ट र दलालीको पर्या भएको अनुभव सर्वत्र छ । मानिसहरू नयाँ पुस्ताप्रति आकर्षित हुनुको कारण यही र यस्तै विषय थिए । तर, हर्क र बालेनका कारण तिनै कुहिगन्धे चिन्तनलाई मलजल हुने देखिन्छ ।
बालेन भत्काउन सिपालु देखिए । विनायोजना विनाशलीला यतिखेर चलिरहेको छ । खासगरी पुरिएका पुराना ढलहरू, साना कुलाहरू र खोलालाई सफा गर्ने नाममा योजनाविहीन विनाशले केही मानिस प्रसन्न भएका होलान् । एकप्रकारले राजधानीको प्राकृतिक सौन्दर्य संरक्षणका लागि यसो गर्नु आवश्यक थियो होला । तर विनायोजना र लक्ष्यका साथ विनाशको परिणाम अहिले कुला र खोला किनारका बासिन्दाले भोग्नु परिरहेको छ । दुर्गन्ध व्याप्त छ, संक्रामक रोग फैलने भयावह अवस्था एकातिर छ भने अर्कातिर किनारमा बसोवास गर्नेहरूका भत्किएका आधा घरमा पनि पस्ने बाटो र ढोका खोलामा परेको छ । अनेक वृद्धवृद्धाहरू घरभित्रका सरसामान बोकेर छिमेकीको आश्रय वा सडक गल्लीमा बस्न विवश भएका छन् । नब्बे–बयानब्बे वर्षका वृद्धवृद्धालाई कानुनका नाममा विवेक बन्धकमा राखेर आश्रयहीन गराउन उद्यत् मेयर बालेनले आफ्नी पत्नीका लागि भने विवेकको प्रश्न उठाएर आक्रामक भएको घटनाले उनको सोच कति स्वार्थी र आत्मकेन्द्रित रहेको छ स्ष्पट भएको छ ।

सुरक्षाकर्मीले नियम र कानुनको पालना गर्दा त्यसविरुद्ध आगो हुने बालेन उनले कानुनका नाममा गरेको विवेकहीन कामप्रति कुन मुखले गौरव गर्ने हुन् भविष्यले नै बताउँला । सडकमा धुलो-धुवाँ खाएर चौबीसै घण्टा खटिने प्रहरीले गाडीभित्र को छ भनेर सोध्न, बुझ्न नहुने, दुई मिनेटको समयसम्म लाइसेन्स, अनुमति पत्र, केही नभएको चालकसँग सोधखोज गर्दा महानगरका पिता बालेनकी पत्नी अर्थात् नगरमाताको साखमा, देशमा र भावनामा धक्का पुग्ने भष्य गर्दै बालेनले आयन्दा महनगरका कुनै पनि गाडी प्रहरीले रोकेमा सिंहदरबारमा आगो लगाउने धम्की दिएर आफ्नो दरिद्र मानसिकता छताछुल्ल पारेका छन् । सम्भावना भएको र आमनागरिकलाई नयाँपुस्ताको क्षमता देखाउन अग्रसर युवा प्रतिनिधिको यो व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुनसक्दैन । उनले यसअघि अदालतलाई समेत चेतावनी र चुनौती दिएका हुन् । अदालतको फैसला अस्वीकार गर्ने चेतवानीले उनको पहिलो रूप प्रकट भएको थियो । अबको यो रूपले उनलाई नांगेझार पारेको छ । नब्बेदशक पार गरेका वृद्धाआमाका आँसुको मूल्य डोजरको प्रहारमुनि छोप्न खोज्ने बालेनले आफ्नी पत्नीको कारुणिक अवस्थाप्रति सरकारी सुरक्षाकर्मीको दुई मिनेटको सोधखोज भारी भएको, अमानवीय भएको भन्दै आक्रोश पोखेका हुन् । पहिले सुत्केरी व्यथाको हल्ला चलाइयो, त्यसपछि नानी जन्मेको खबर प्रचार गरियो, नानीलाई अस्पताल पुगेर दूध खुवाएर फर्किएको अनेक भ्रम छर्ने काम भयो । एक नानी गुमाएकोमा उहाँ र परिवारप्रति हामी सबैको सहानुभूति छ भने प्राप्त अर्को शिशुका लागि उसको सुस्वास्थ्य र शुभकामना पनि छ । तर, यसो भन्दैमा कानुनमाथि बालेन र उनको परिवार पनि हुनसक्दैन । कानुनमाथि हुन खोज्नु भनेको निरंकुश र अराजक चिन्तन हो भनेर मान्नु पर्दछ ।

यसमा सरकारको मौनता आश्चर्यजनक छ । सिंहदरबार जलाउन आतुर चिन्तनप्रति सरकारको दृष्टिकोण के हो ? बालेनका कामले क्रूद्ध जनमत पनि छ राजधानीमा । बालेनले सिंहदरबारमा आगो लगाउने उद्घोष गर्दा कसैले बाग्दरबारको जसकेलो जलाउने सोच बनाए भने के हुन्छ ? यसको जवाफ कसले दिने ? यही प्रश्नकासाथ बालेनजीलाई समेत हाम्रो निःशुल्क सुझाब छ : उत्तेजना फैलाएर कोही पनि नेता हुनसक्दैन, अराजकताले विनाशमात्र निम्त्याउँछ, त्यसको फरक बाटो छ । बालेनजी अराजकताको कारण नबन्नुस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?