सौन्दर्यकलाको क्षेत्रमा प्रतिस्पर्धा छ : अनिमेश गुरुङ, मेकअप आर्टिष्ट

गीता अधिकारी
Read Time = 9 mins

सौन्दर्य कलाकोे क्षेत्रमा आफ्नै पहिचान स्थापित गराउन सफल मेकअप आर्टिष्ट हुनुहुन्छ अनिमेश गुरुङ । गोरखा, आपुन अजिरकोट गाउँपालिका ५-का घरभई काठमाडौंलाई कर्मथलो बनाएर उहाँ यो क्षेत्रमा सक्रिय हुनुहुन्छ । दुई हजारभन्दा बढी म्युजिक भिडियोमा आफ्नो शृंगारकला प्रस्तुत गरिसक्नु भएका गुरुङले आफ्नी श्रीमती सरिता थापामगरलाई पनि यही पेशामा संलग्न गराउनुभएको छ । डेढ दशक बढी समयदेखि शृंगारको क्षेत्रमा रहनुभएका गुरुङले ‘गलबन्धी च्यातियो, फूटेका चुरा, दमाई माहाराज, आहा माया’ जस्ता पछिल्लो समय चर्चामा रहेका गीतका भिडियोमा आफ्नो कौशल प्रस्तुत गर्नु भएको छ । चलचित्र ‘बीच बाटो, निशाफ, जय शम्भो, आधा पेज’ लगायतमा पनि मेकअप आर्टिष्टको रूपमा उहाँले काम गर्नुभएको छ । विराट म्युजिक एण्ड फिल्म अवार्ड-२०७८ मा ‘उत्कृष्ट मेकअप आर्टिष्ट अवार्ड’, स्पर्श म्युजिक भिडियो अवार्ड-२०२३ लगायत सम्मानबाट सम्मानित उहाँ यसै पेशामा निरन्तर लागिरहने बताउँनुहुन्छ । सौन्दर्यकलाको क्षेत्रमा पनि प्रतिस्पर्धा रहेको बताउनुहुने मेकअप आर्टिष्ट अनिमेश गुरुङसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-

० सौन्दर्यको क्षेत्र नै किन रोज्नुभो ?
यो एउटा सम्मानित सीपमूलक व्यवसाय भएको र मेरो चाहना पनि यसैमा रहेकाले सौन्दर्य कलाको क्षेत्रप्रति आकर्षित भएको हुँ । र, अहिले पनि छु ।

० यस क्षेत्रमा लाग्नु भएको कति भयो र सफल भएजस्तो लाग्छ ?
डेढ दशक बढीको अथक प्रयास र अनवरत मिहिनेतले आज म यो स्थानमा पुग्न सफल भएको छु । सौन्दर्य कलाको क्षेत्रमा विशिष्ठता हासिल गर्नुले पनि आफ्नो पेशाप्रतिको इमानदारी र मेरो मिहिनेतको प्रतिफल हुनुपर्छ । आफ्नो विधामा केही नयाँ गरौं भन्ने चाहना सधैं रहन्छ । आफ्नो कामबाट सन्तुष्टि मिल्नु नै सफता हो जस्तो लाग्छ ।

सामाजिक क्रियाकलापले सौन्दर्य कला व्यवसायमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । सामाजिक संस्कारमा आधारित विवाह, व्रतबन्ध र जन्मदिन जस्ता खुशियालीका लागि आयोजना हुने कार्यक्रमले हाम्रो व्यवसायलाई विशेष रूपले टेवा पुर्‍याको हुन्छ । यस्ता सामाजिक कार्यहरूमा सहभागी हुन मानिसहरू विशेष शृंगारपटार गर्न रुचाउँछन् । शृंगारले व्यक्तित्वमा र सौन्दर्यता पनि झल्काउँछ ।

० अहिले सौन्दर्य व्यवसायको अवस्था कस्तो छ ?
सामान्य अवस्थाको कुरा गर्ने हो भने यो व्यवसायमा प्रतिस्पर्धाको अवस्था छ । विगतको दाजोमा अहिले मेकअप आर्टिष्टहरूको संख्यामा पनि वृद्धि भएको छ । आ–आफ्नो कार्य क्षमता, कौशलता देखाएर निर्माता, निर्देशकहरूको रोजाइमा पर्न सक्नु नै ठूलो कुरा मान्नुपर्छ । मेरो सवालमा यो कुरा लागू हुने भएकाले मैले गरिरहेको व्यवसाय राम्रो लाग्छ ।

० चलचित्र क्षेत्रको पछिल्लो गतिबिधि के छ ?
कोरोनाका कारण लामो समय चलचित्र निर्माणमा कमी आएको थियो । अहिले बिस्तारै वातावरण सहज हुने क्रममा रहेकाले अब केही हुन्छ कि भन्ने आशमा छौं । चलचित्र निर्माणमा अहिले पनि लगानीकर्ता डराइरहेको अवस्था छ । एकाध चलचित्रले व्यावसायिक सफलता पाए पनि अधिकांश दर्शक रुचिका नहुनुले र दर्शक हलमा नआएपछि चलचित्र बनाएरमात्र के फाइदा त्यसैले अझै केही समय लाग्ला पहिलेको लय समाउन ।

० चलचित्रको शृंगार र भिडियोेमा के फरक हुन्छ ?
मानवमात्रलाई सुन्दर बनाउने पेशा सम्वेदनशील पेशा भएको र यो स्वास्थ्यसँग सम्बन्धित रहेकाले यसमा लागेकाहरूले धेरै कुराको ज्ञान हुनु आवश्यक छ । चलचित्रमा पात्र अनुसारको भेषभूषा, मेकअप गरेजस्तै भिडियोमा पनि उस्तै हो, खासै फरक लाग्दैन मलाई ।

० यो पेशामा शिक्षाको कत्तिको आवश्यक पर्छ ?
अन्य पेशामा जस्तै यो पेशामा पनि शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यो क्षेत्र पनि व्यावसायिक भएकाले शिक्षाको अनिवार्य आवश्यकता पर्दछ । चलचित्रको क्षेत्रमा पढेरभन्दा पनि परेर वा अनुभवले काम गर्नेहरूको संख्या धेरै छन् ।

० सौन्दर्य सामग्रीहरूको कत्तिको जानकारी राख्नुहुन्छ ?
कतिपय सामान त जान्नेबुझ्नेलाई पनि झुक्याउने खालको हुन्छ । त्यसैले बजारमा उपलब्ध शृंगारका सामग्रीको जानकारी हुनु अति जरुरी हुन्छ । म्याद नाघेका वा उत्पादन मिति नै नभएका सामग्री पनि बजारमा पाउँछन् यस्तो विषयमा चाहिँ ग्राहक स्वयंले बुझेरमात्र कारोबार गर्नु राम्रो । यो स्वास्थ्यसँग जोडिएको कुरा भएकाले बिल्कुलै खेलबाड गर्नु हुँदैन ।

० यो व्यवसायमा सामाजिक क्रियाकलापले कत्तिको प्रभाव पारेको हुन्छ ?
सामाजिक क्रियाकलापले सौन्दर्य कला व्यवसायमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । सामाजिक संस्कारमा आधारित विवाह, व्रतबन्ध र जन्मदिन जस्ता खुशियालीका लागि आयोजना हुने कार्यक्रमले हाम्रो व्यवसायलाई विशेष रूपले टेवा पुर्‍याको हुन्छ । यस्ता सामाजिक कार्यहरूमा सहभागी हुन मानिसहरू विशेष शृंगारपटार गर्न रुचाउँछन् । शृंगारले व्यक्तित्वमा र सौन्दर्यता पनि झल्काउँछ ।

० नारी पर्व तीजको माहौल छ । नेपाली दिदीबहिनीहरू व्यक्तिगत सौन्दर्यप्रति कत्तिको सचेत रहेको पाउनु हुन्छ ?
तीजको अवसरमा मात्र होइन अरू बेला पनि हाम्रा दिदीबहिनी आफ्नो सौन्दर्यको बारेमा सचेत हुनुहुन्छ । सौन्दर्यता र नारी एकअर्कामा परिपूरक हुन् । त्यसैले हरेक महिलाहरू आफ्नो सौन्दर्यताप्रति निश्चित रूपमा सचेत रहन्छन् । पछिल्ला दिनहरूमा हाम्रा दिदीबहिनी आफ्नो व्यक्तिगत सौन्दर्यताप्रति विगतभन्दा बढी नै सचेत हुनुभएको पाएको छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?