चिकित्सक कुटपिट प्रकरण

देशका अधिकांश अस्पतालको स्वास्थ्य सेवा प्रभावित, हेटौँडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । चिकित्सक कुटपिट भएको विरोधमा मकवानपुरको हेटौँडामा स्वास्थ्य सेवा प्रभावित भएको छ । चिकित्सक कुटिएको विरोधमा हेटौँडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले शुक्रबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारेका हुन् । उनीहरूले घटनामा संलग्नलाई पक्राउ गरी कानुन कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।

हेटौँडा-१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा बुधबार दुई चिकित्सकमाथि सांघातिक रूपमा आक्रमण भएको थियो । डेंगु संक्रमण भएर चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा गत साउन २५ मा मृत्यु भएका हेटौँडा-१२ का राजेश प्रधानका आफन्तले डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै डा. प्रशान्त बिँडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए । उहाँलाई त्यसअघि सञ्चो अस्पतालबाट रिफर गरिएको थियो । आकस्मिक बाहेकका सेवा ठप्प पारेसँगै बिरामीहरू मर्कामा परेका छन् । नियमित जाँच गराउन आउने बिरामी बढी प्रभावित भएका हुन् ।

हेटौँडासँगै चिकित्सक कुटपिटको विरोधमा देशका अन्य अस्पतालमा पनि आन्दोलन सुरु भएको छ । देशका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले ऐक्यबद्धता जनाउँदै आन्दोलन सुरु गरेका हुन् । डाक्टर कुटपिटमा संलग्नलाई कारबाही नहुने आशंका गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा निवेदन दिएका छन् ।

यसैबीच, हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका हुन् । चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएको हेटौँडा अस्पतालका डाक्टर हरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार राजीनामा दिनेमा हेटौँडा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित केही अन्य अस्पतालका पनि छन् । ‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्‍यौँ । तर, पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो पेसा सुरक्षित छैन । ड्युटीमा खटिएकै अवस्थामा पिटाइ खानुपर्ने अवस्था अन्त्यका लागि राज्यले सोच्नुपर्छ ।’

दोषीमाथि कारबाही नभएसम्म थप आन्दोलन गर्ने उहाँले बताउनुभयो । हाई डिपेन्डेन्सी युनिट (एचडियु)मै छिेरर चिकित्सकमाथि आक्रमण हुनुले ज्यानको जोखिम बढाएको उनीहरूको गुनासो छ । प्रहरीले कुटपिटमा संलग्न चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दिवंगत राजेश प्रधानकी श्रीमती, छोरी र अन्य दुईजना रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार नै पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-१२ की रमा प्रधान, अमित प्रधान, रमिता प्रधान र अनुप प्रधान छन् । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भएको के थियो ?
बुधबार बिहान हेटौँडा-१ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि आठ-दशजनाको समूहले अस्पतालभित्र प्रवेश गरेर कुटपिट गरेका थिए । उनीहरूले सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. बिँडारी र डा. थापामाथि कुटपिट गरेका थिए । प्रहरीका अनुसार गत २५ साउन डेंगुबाट मृत्यु भएका हेटौँडा-१२ का राजेश प्रधानकी श्रीमती रमा, छोरा अमित, छोरी रमिता, भतिज अनुप लगायतले कुटपिट गरेका हुन् ।

कुटपिटबाट चिकित्सकद्वयको अनुहार र आँखामा चोट लागेको छ । बुधबारको घटनालगत्तै प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो । तर, प्रहरीले आक्रमण गर्नेलाई पक्राउ गर्नुको सट्टा उल्टै घाइते चिकित्सकलाई कुराकानीका लागि जिल्ला प्रहरी कार्यालयमा लगेको चिकित्सकको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा एसपीसहितको रोहबरमा भएको कुराकानीको क्रममा आक्रमणकारीले त्यहाँ पनि आफूहरूलाई धम्क्याएको उनीहरूले बताएका छन् ।

एक महिनाअघि डेंगुका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप छ । उपचारमा लापरबाही गरेको भन्दै एक महिनापछि आफन्तले चिकित्सकमाथि हातपात गरेका हुन् । हेटौँडा-१२ पदमपोखरीका ४१ वर्षीय प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो । त्यसअघि प्रधानलाई उपचारका लागि सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । सञ्चो अस्पतालमा उपचार हुन नसक्ने चिकित्सकको सुझावपछि प्रधानलाई चितवन पुर्‍याइएको थियो । भरतपुर पु¥याइएकोे भोलिपल्ट उहाँको मृत्यु भएको थियो ।

मोरङमा पनि चिकित्सकमाथि हातपात
मोरङको सुन्दरहरैँचामा पनि ड्युटीमा रहेका चिकित्सकमाथि हातपात भएको छ । सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि दुव्र्यवहार र कुटपिट भएको हो । डा. पोखरेलमाथि बूढीगंगा गाउँपालिका-७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात र दुव्र्यवहार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विपिन यादवले जानकारी दिनुभयो । माझीले बुबालाई उपचार नगरिदिएको भन्दै डाक्टरमाथि बिहीबार हातपात गर्नुभएको हो । ज्वरो आएपछि उहाँका बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । चिकित्सकमाथि दुव्र्यवहार र हातपात गर्ने शुक्रराजलाई घटनालगत्तै इलाका प्रहरी कार्यालय हरैँचाले पक्राउ गरेको छ ।

केसीको सत्याग्रह तीन महिनाका लागि स्थगित
सामाजिक अभियन्ता डा. गोविन्द केसीले शुक्रबारबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गर्नुभएको छ । चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धता गरेपछि उहाँले सत्याग्रह स्थगित गर्नुभएको हो । यसअघि विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धतापछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो । ‘यो अवस्थामा भदौ २९ गते घोषित सत्याग्रह तीन महिनाका लागि स्थगित गरेका छौँ । अब सत्याग्रह सुरु गर्नुपरेको खण्डमा देशमा रहेको सबै खाले दण्डहीनताका जरोमा रहेको द्वन्द्वकालीन अन्यायको विषयलाई मुख्यरूपमा उठान गर्ने तथा त्यसका लागि जिम्मेवार दुवै पक्षका व्यक्तिहरूलाई जवाफदेही बनाउने पनि जानकारी गराउन चाहन्छौँ,’ डा. केसीले जारी गरेको वित्रपित्मा भनिएको छ ।

हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरू लगायतका कर्मचारीहरूसितको भेटघाटमा उनीहरूले तीन महिनाको समय माग गरेको उहाँले बताउनुभयो । पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउनेलगायत कामका लागि उनीहरूले तीन महिनाको समय मागेको डा. केसीले बताउनुभयो । डा. केसी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?