एसियाली खेलकुद : प्रदीपको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । चीनको हाङझावमा जारी १९औँ एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गर्नुभएको छ । हाङझाव ओलम्पिक स्पोट्र्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६-० र ६-० को सोझो सेटमा पराजित गर्नुभएको हो ।

जितसँगै प्रदीप अन्तिम ३२ मा प्रवेश गर्नुभएको छ । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्नुहुनेछ । आइतबारै नेपाली खेलाडीले दुई महिला सिंगल्स तथा एक पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नुभएको थियो । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरेका छन् ।

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा बाइ पाउनुभएको थियो । दोस्रो चरणमा अभिलाषा थाइल्याण्डकी खेलाडीसँग सोझो सेटमा ६-० र ६-० ले पछि पर्नुभयो । माहिका दक्षिण कोरियाली खेलाडीसँग ०-६ र १-६ ले चुक्नुभयो । पुरुष डबल्समा प्रदीप र अभिषेक बास्तोलाको जोडी भारतीय जोडीसँग ६-२ र ६-३ ले चुक्नुभयो ।

सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्नुहुनेछ । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नुहुनेछ ।

बक्सिङ : संगीता र दीपक पराजित
बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दीपक श्रेष्ठले पराजय भोग्नुभएको छ । संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकका आधारमा पराजित हुनुभएको हो । आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउण्ड अफ ३२ को भिडन्तमा सुनारलाई भियतनामकी हाथिलिन्हले ५-० अंकले पराजित गर्नुभएको हो ।

त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५-० अंककै आधारमा पराजित हुनुभयो । राउण्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजनका आधारमा पराजित गर्नुभएको हो ।

श्लिषाको राष्ट्रिय कीर्तिमान
सुटर श्लिषा भण्डारीले १९औँ एसियाली खेलकुदअन्तर्गत १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान तोड्नुभएको छ । १९ वर्षीय श्लिषाले आइतबार फुयाङ यिन्हु स्पोट्र्स सेन्टरमा भएको छनोट चरणमा कुल ६१६.९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो ।

यसअघि यो कीर्तिमान ओलम्पियन कल्पना परियारको नाममा रहेको थियो । कल्पनाले टोकियो ओलम्पिक २०२० मा ६१६.८ अंक जोड्दै कीर्तिमान कायम गर्नुभएको थियो । श्लिषाले सुरुवाती तीन चरणमा १०१.१, १००.३ र १०२.५ को कमजोर प्रदर्शन गर्नुभएको थियो । त्यसपछिका तीन चरणमा भने उहाँले १०५.०, १०४.८ र १०३.२ को स्कोर दर्ता गर्नुभयो ।

तेक्वान्दोका लिम्बू पराजित
तेक्वान्दोका प्रेमबहादुर लिम्बू १९औँ एसियाली खेलकुदमा क्वाटरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित हुनुभएको छ । प्रेमले त्यसअघि अन्तिम १६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउनुभएको थियो । उहाँले औसतमा ७.३६० ल्याउँदै कादिरलाई पराजित गर्नुभएको हो ।

तर, क्वाटरफाइनलमा पेरेजले औसत ७.५६० अंक जोड्दै प्रेमलाई पराजित गर्नुभयो । त्यस्तै, महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलमै सकिएको थियो । अन्तिम १६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित हुनुभयो । स्वस्तिकाले औसत ७.२५ अंक ल्याउँदा दियानाले दुवै राउण्डमा ७.६ अंक जोड्नुभएको थियो ।

तेक्वान्दोमा अब सोमबार नेपालकी अञ्जली तामाङले महिला ४९ केजी तौल समूहमा कम्बोडियाकी लाइदेन क्रीसँग खेल्नुहुनेछ । पुरुष ५८ केजीमा राहुल कुमालले साउदी अरबका रियाद हाम्दीसँग प्रतिस्पर्धा गर्नुहुनेछ । दुवै स्पर्धा राउण्ड अफ ३२ चरणका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?