अनियन्त्रित सामाजिक सञ्जाल

छाडातन्त्र नियमन नहुँदा अराजकता बढ्दै

डिबी शर्मा
Read Time = 18 mins

काठमाडौं । विसं. २००७ सालअघि नेपालमा जहानियाँ राणा शासन थियो । २००७ सालकै फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । भनिन्छ, ‘१०४ वर्षे निरंकुश राणा शासन अन्त्य भएर नेपालमा प्रजातन्त्र आएको खबर दूरदराजका धेरै नेपालीलाई लामो समय थाहै भएन । नेपालमा प्रजातन्त्र आएको खबर कर्णालीमा २००८ मा मात्रै पुगेको थियो । नयाँ कर्मचारी हुम्ला पुगेपछि मात्रै कर्णालीबासीले नेपालमा प्रजातन्त्र आएको थाहा पाएका थिए ।’ त्यो बेला अहिलेको जस्तो सबै ठाउँमा सञ्चारको पहुँच थिएन । नेपालमा प्रजातन्त्र आएको सात दशक पुग्यो । सात दशकमा नेपालले पञ्चायतदेखि राजाको सक्रिय शासन व्यवस्थासम्म व्यहोर्‍यो । २०६२/०६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ ।

पछिल्लो सात दशकमा विश्वसँगै नेपालमा पनि धेरै परिवर्तनहरू भएका छन् । प्रविधिको विकाससँगै संसार सानो बनेको छ । सामाजिक सञ्जालको विकासले संसार मानिसको मुठ्ठीमा छ । विश्वको हरेक कुनाका खबर क्षणभरमै थाहा हुन्छ । हरेक सूचना सकेण्डमै आदान–प्रदान हुन्छ ।

अझै सामाजिक सञ्जालको विकासले त झन् यसलाई थप सहज बनाइदिएको छ । सामाजिक सञ्जालका अनेकन प्लेटफर्महरू छन् । संसार यिनकै वरिपरि घुमिरहेको छ । विज्ञानको यो उपलब्धिले मानिसहरूलाई साह्रै सहज बनाइदिएको छ । सूचना प्रवाह र मनोरञ्जनका लागि फेसबुक, ट्वीटर, टिकटक, इन्स्ट्राग्राम, युट्युब आदि दर्जनौँ प्लेटफर्म छन् । तर, सामाजिक सञ्जालको सही प्रयोग नहुँदा मान्छे असामाजिक बन्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत सूचना फैलाउनेदेखि ठगी र आपराधिक घटनाहरू समेत भइरहेका छन् । यो समस्या विश्वव्यापी रूपमै देखिएको छ । विकसित देशमाभन्दा अविकसित देशहरूमा सामाजिक सञ्जालको दुरुपयोग तुलनात्मक रूपमा बढी छ । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जाल नियन्त्रणबाहिर जान थालेको देखिन्छ । यसले समाज, परिवार र मुलुकमा नै असहिष्णुताको विष फैलाउन थालेको छ । समाज विखण्डनतर्फ उन्मुख हुँदै गएको भान हुन्छ । मिलेर बसेको नेपाली समाजलाई खलल पार्ने खालका गतिविधि सामाजिक सञ्जामार्फत हुन थालेका छन् । सामाजिक सञ्जालमा देखिएको छाडातन्त्र राज्यले नियन्त्रण र नियमन गर्न पहल गर्नुपर्छ । यसका लागि सरकार चनाखो, सुसूचित र सुसज्जित हुनु जरुरी हुन्छ ।

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल
पछिल्लो केही दिनदेखि पश्चिम नेपालको व्यापारिक शहर नेपालगञ्ज अशान्त छ । प्रशासनले कफ्र्य लगाएर स्थिति नियन्त्रणमा लिनुअघि नेपालगञ्जमा तनाव बढेको थियो । नेपालगञ्जमा तनाव उत्पन्न गराउने बिउ यही सामाजिक सञ्जाल थियो । एउटा कुनै सामान्य व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण नेपालगञ्जमा तनाव उत्पन्न भएको थियो । बाँके नरैनापुरका ती युवकले फेसबुकमा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर विवादास्पद स्टाटस लेखेका थिए । ती युवकको स्टाटस मुस्लिम समुदायमा विस्तारै फैलियो । मुस्लिम डेकै दिन स्टाटस लेखिएकाले मुस्लिम समुदायले आपत्ति जनाए । आफ्नो धर्मका प्रतीक पैगम्बर मोहम्मदप्रति गरिएको टिप्पणीलाई लिएर उनीहरू आक्रोशित बने । १४ असोजमा मुस्लिम युवाहरूले यसैको विरोधमा प्रदर्शन गरे ।

उनीहरूले नेपालगञ्जको बिपी चोक क्षेत्रमा टायर बाल्नेदेखि उग्र नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डासमेत गाडे । त्यसपछि विवाद बढ्दै गयो । त्यसको भोलिपल्ट सद्‍भाव र्‍याली निकालियो । सबैले सद्‍भाव र्‍याली निकाल्ने तयारी गरिरहँदा हिन्दूवादी धार्मिक संस्था ओमकार परिवारले प्रदर्शन गर्‍यो । त्यसपछि स्थिति तनावपूर्ण हुने देखिएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । कर्फ्युपछि भने नेपालगञ्ज शान्त बन्दै गएको छ ।

सामाजिक सञ्जालकै कारण दुई समुदायबीच विवाद बढेको यो पहिलो घटना होइन । यसअघि धरानमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । धरानमा गोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा ‘भिडियो भाइरल’ बनाइएपछि तनाव बढेको थियो । धरानमै मन्दिरअगाडि चर्च बनाइएको विषय पनि निकै उचालिएको थियो । तर, सबैको संयमताले कुनै अप्रिय घटना हुन पाएन । यी र यस्तै घटना देशका विभिन्न ठाउँमा भइरहेका छन् । खासमा सामाजिक सञ्जाल असामाजिक बन्दै गएको छ । सदुपयोगभन्दा दुरुपयोग गर्ने क्रम बढेको छ ।

सामाजिक सञ्जालमा सद्‍भाव खलल हुने काम नगर्न बाँके प्रशासनको चेतावनी
जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्‍भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन चेतावनी दिएको हो । ‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्‍भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरू प्रचार-प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा भनिएको छ । प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्‍भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ ।

कर्फ्यु खुकुलो बनाउँदै लगिने, सद्‍भाव भड्किन नदिन आग्रह
सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय नागरिक सरोकारवालाहरूले गरेका हुन् । सामाजिक सञ्जालबाट सद्‍भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने उनीहरूले निर्णय गरेका हुन् ।

यस्तै, नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्कायम गर्न सद्‍भावर्‍याली निकालिने भएको छ । बैठकले सद्‍भावर्‍याली निकाल्ने निर्णय गरेको हो । बैठकले सद्‍भाव भड्किन नदिन सबैमा आग्रहसमेत गरेको छ ।

नाकामा रोकिएकालाई स्कर्टिङ गरेर गन्तव्यमा
बाँकेको नेपालगञ्जमा कफ्र्युका कारण जमुनाहा नाका भएर यात्रा गर्ने यात्रुहरू अलपत्र परेपछि सुरक्षा निकायले स्कर्टिङ गरेर गन्तव्यमा पु¥याएको छ । नाकामा जम्मा भएका यात्रुलाई जम्मा गरेर कफ्र्यु लगाइएको क्षेत्रभन्दा माथि राँझा एयरपोर्टमा पुर्‍याइएको प्रहरीले जनाएको छ । त्यहाँबाट उनीहरूलाई गन्तव्यमा पुर्‍याइएको हो । कफ्र्युका कारण भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू जमुनाहा नाकामै रोकिएका थिए । चाडपर्व नजिकिएकाले जमुनाह नाकामा भिड बढेको छ । यो नाका पश्चिम क्षेत्रका लागि भारत आउजाउ गर्ने मुख्य नाका हो । प्रहरीले बसपार्कबाट पाँचवटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरूलाई राँझाचोकसम्म पुर्‍याएको थियो । स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ ।

साम्प्रदायिक विद्वेष कसैको हितमा हुँदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताउनुभएको छ । मोरङको विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताउनुभएको हो । यस्ता गतिविधि देश, जनता र स्थानीय समुदाय कसैको हितमा नभएको उहाँको भनाइ थियो । ‘केही नभई आफैँ-आफैँ घरबाट निस्किएर त कोही झगडा गर्दैन, कसैले उचाल्या हुन्छ । शान्ति खलबल्याउने कुरो असल मनसायले त हुँदैहुँदैन,’ उहाँले भन्नुभयो, ‘साम्प्रदायिक विद्वेष भड्काउने कुरो कुनै पनि हिसाबले गलत मनसायका साथ नै हुने गर्छ । यो देश, जनता, स्थानीय समुदाय र कसैका लागि पनि हितकर होइन ।’

धार्मिक, सामाजिक सद्‍भाव कायम राखौँ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सद्‍भाव कायम राख्न अपिल गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमार्फत अपिल गर्दै उहाँले विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्‍भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउनुभएको हो । ‘धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्‍भाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभिष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले नेपालगञ्जमा कर्फ्यु जारी गर्नुपरेको छ, जुन गम्भीर चिन्ताको विषय हो,’ उहाँले भन्नुभएको छ । विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएको भन्दै थापाले गौरवमय पहिचान र परम्परालाई कायम राख्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही गर्न निर्देशिका बनाउँदै सरकार
सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्ने स्पष्ट पारेको छ । अहिलेसम्म कानुन नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न नसकिएको भन्दै सरकारले तदारुकताका साथ कानुन निर्माण गर्ने काम भइरहेको जनाएको हो । उक्त निर्देशिका क्याबिनेटबाट पारित गरिने सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो । ‘कुनै कानुनमा टेकेर हामीले कारबाही गर्नसक्ने अवस्था छैन । सरकारले कानुनमै टेकेर काम गर्नुपर्ने भएकाले एकदमै तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा छौँ,’ उहाँले भन्नुभयो, ‘त्यो निर्देशिका अहिले कानुन मन्त्रालयमा छ । आउने क्याबिनेटबाट पारित भएर जान्छ । त्यसले केही व्यवस्थापन गर्नसक्छ ।’ सरकारले सामाजिक सञ्जालको दुरुपयोगको समस्या समाधान गरेरै छाड्ने उहाँले बताउनुभयो । यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक तथा सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान गरी नियन्त्रणमा लिन निर्देशन दिनुभएको छ । मधेश प्रदेशका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । गृहमन्त्री श्रेष्ठले अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनता अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो । कतिपय ठाउँमा धार्मिक सद्‍भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको सुरक्षा निकायका प्रमुखहरूले आँैल्याएका थिए । सामाजिक सञ्जालमा आउने कतिपय सामग्रीले उत्तेजना निर्माण गर्न खोजेको उनीहरूको भनाइ थियो ।

सामाजिक सद्‍भावमा खलल पुर्‍याउने सामग्री पोष्ट गर्नेलाई प्रहरीले कारबाही गर्ने
नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्युरोले सचेत गराएको हो । अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने ब्युरोले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक सद्‍भावमा खलल पुर्‍याउने गतिविधि नगर्न र राष्ट्रिय एकतामा आँच आउने तथ्यहीन सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?