सामाजिक सद्‍भाव कायम राखौँ

हिमालय टाइम्स
Read Time = 9 mins

समाज बनाउनेभन्दा बिगार्नेहरूको जमात ठूलो हुन्छ । यसैगरी समाजमा सद्भाव कायम गर्नुपर्छ र अमनचयनको वातावरण कायम राख्नुपर्छ भन्नेहरूको भन्दा भाँडभैलो मच्चाएर आफ्नो स्वार्थको दुनो सोझ्याउनेहरूको संख्या धेरै हुन्छ । जहाँसुकैको समाज होस् सकारात्मक भन्दा नकारात्मक प्रवृत्तितर्फ मानिसहरू बढी उद्यत् हुने गरेका छन् । नेपालका सन्दर्भमा चाहे धरानको गोरु काण्ड होस् चाहे मलंगवा र नेपालगञ्जको हालको तातो घटना होस् यी सबैमा यस्तै निहित स्वार्थ लुकेको छैन भन्न सकिँदैन । नेपाली समाजलाई विभिन्न निहुँमा भड्काउने प्रयासमा देशी-विदेशी शक्तिहरू लागिरहेका आशंका व्याप्त छ । शान्त तलाउमा ढुंगो हानेर त्यहाँ तरंग ल्याउन खोजे जस्तो शान्त नेपाली समाज भाँड्नेहरूको यस्तै प्रयास दिनप्रतिदिन एकपछि अर्को गरेर आइरहेका छन् । नेपालगञ्जको घटना यस्तै एउटा उदाहरण हो ।

नेपाली समाज तुलनात्मक रूपमा शान्त समाज हो । सांस्कृतिक र समुदायगत विधिताले भरिपूर्ण भए पनि नेपाल सानो राष्ट्र भएका कारण पहिले विश्वका अन्य मुलुकहरूको आँखा पर्ने गरेको थिएन तर पछिल्लो समयमा नेपालको शान्त वातावरण खल्बल्याउन खोज्ने शाक्तिहरू सल्बलाइरहेका छन् । यसका लागि नेपालकै केही अराजक मानसिकताका मानिसहरूलाई उक्साएर वातावरण अझै अराजक बनाउन चाहनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालका दिनहरूमा देखिन थालेका यस्ता घटना यसैका उदाहरण हुन् । नेपाली समाज मिलेर बसेको देख्न नचाहनेहरूबाट यस प्रकारका घटना भइरहेका छन् । यस्ता तत्वहरूको पहिचान गरी तिनलाई निरुत्साहित गर्नुपर्नेमा अधिकारप्रप्त निकायहरू मौन बसिदिनाले यिनमा अझै बढोत्तरी हुन पुगेको छ ।

मुख्यगरी सरकारले यस्ता तत्वहरूलाई खोजीखोजी कारबाही गर्नुपर्नेमा सरकार नै मौन भइदिँदा एकपछि अर्को घटनाहरू लगातार भइरहेका छन् । जनैपूर्णिमामा शेर्पा-लामाहरू रक्षाबन्धन लगाइदिन बसेको देखिन आयो । यो धार्मिक सहिष्णुताको एउटा बलियो उदाहरण हो । तर त्यही समुदायका केही व्यक्तिहरू पृथ्वीनारायण शाहको सालिक तोड्ने, फोटामा थुक्ने र कुल्चिने जस्ता घृणित कार्य गरिरहेका छन् । त्यस्ता तत्वहरूलाई त्यही समुदायबाट पनि बहिष्कार गर्ने हो भने ती स्वतः थान्को लाग्नपुग्नेछन् । त्यस्ता अराजकहरूलाई सरकारले कानुनी कारबाही गर्ने हो भने तिनले त्यसो गर्ने आँट गर्ने थिएन र तिनको अनुकरण अरूले गर्ने थिएनन् । सरकार नै तिनलाई कारबाही गर्न चाहँदैन यो नै एउटा कमजोरीका रूपमा देखापर्ने गरेको छ ।

कतै सरकार त्यस्तै गलत तत्वको प्रभाव भित्र छ कि भन्ने शंकालाई बल मिलिरहेको छ । अराजक तत्वहरूका क्रियाकलाप हेर्दा तिनीहरू पनि गलत र अराजकता निम्त्याउने शक्तिका अनुचरहरू त होइनन् भन्ने प्रश्न टड्कारो रूपमा उठ्न सक्छ । सरकार राष्ट्रमा अमनचैन कायम गरी कानुनी व्यस्था स्थापित गर्नका लागि हो । तर, सरकारले आफ्नै निरन्तरताको चिन्ता गरेरमात्र बस्ने कानुन कार्यान्वयन नगर्ने हो भने उद्दण्डहरूको मनोबल बढ्नेछ र तिनीहरू पृथ्वीनाराणयको फोटामा थुक्दाथुक्दै त्यसभन्दा पनि ठूला अपराधमा उद्यत् हुन पुग्छन् । तिनले भोलि यो राष्ट्रलाई समेत नथुक्लान् भन्ने प्रत्याभूति के छ ? धरानमा खुलेआम गोरु काट्नेहरूलाई सरकारले कारबाही गर्न सकेन । त्यसले गर्दा कानुनविरोधी यस्ता अपराध गर्नेहरूको मनोबल अझै बढेर गएको छ ।

भोलि तिनलाई कारबाही गर्न जनता नै उठ्नुपर्ने दिन आयो भने त्यसको तरंगमा सरकार पनि लपेटिँदैन होला र ? सरकारको यस्तै कमजोरी पाएपछि अन्त–अन्ततिर पनि यस्ता घटना हुन थाल्छन् । मलंगवा र नेपालगञ्जका यस्ता घटनाहरू धार्मिक साम्प्रदायिक भड्काउ हुन् तर अल्पसंख्यक वर्गले नै यस्ता घटनामा बढी संयमता जति अपनाउनुपर्ने हुन्छ त्यो भन्दा बढी बहुसंख्यकहरू जिम्मेदार हुनुपर्ने हुन्छ । केही दशक पहिले पद्मरत्न तुलाधरले कलैयामा भाषण गर्दा आफ्ना अगाडि मुस्लिम समुदायको बढी उपस्थिति देख्नासाथ उत्तेजित भएर मुसलमानहरूले गाई काटेर खान पाउनुपर्छ भन्नुभएको थियो । उहाँको त्यस भनाइविरुद्ध काठमाडौंका सडकहरूमा समेत नाराजुलुस भए ।

इस्लाम धर्म मान्ने केही उत्तेजकहरू पनि गाई काटेर खान उद्यत् भएपछि त्यही बेला पोखराका चर्चित लोकसाहित्यकार तथा प्रतिष्ठित मुस्लिम व्यक्तित्व अलि मियाँले एक वक्तव्य जारी गरेर नेपालमा रहेका मुसलमानहरू गाई काटेर खाँदैनौं बरू कानुनविरुद्धको यस्तो अभिव्यक्ति दिने र भड्काउ अभिव्यक्ति दिने नेतालाई कारबाही गरियोस् भन्नुभएको थियो । त्यसपछि उक्त भड्काउ मन्तव्य र संभावित समस्या साम्य भएको घटनालाई उदाहरणका रूपमा लिन सिकन्छ । भड्काउने मनसाय प्रेरित विचारबाट उत्पन्न परिस्थितिलाई साम्य पार्नका लागि पनि कोही न कोही व्यक्ति अगाडि सर्नुपर्नेहुन्छ । त्यस्तो व्यक्ति जसलाई जनताले विश्वास गरेका हुन्छन् र तिनमा जनताको भरोसा पनि रहेको हुन्छ । तर हालका दिनमा यस्ता व्यक्तिहरूको कमी छ ।

सबै स्वार्थमा निर्लिप्छ छन् । शान्त पोखरीमा ढुंगा हानेर छाल पैदा गर्ने र पानी धमिल्याउनेहरूको संख्या धेरै छ । जनता त तल्लो तहमा रहेर नेताहरूको अरनखटन मान्ने वर्ग नै भइहाले । तर, अहिलेको सचेत समयमा जनता पनि यसरी भाँडिनु हुँदैन र भाँड्न खोज्नेको पहिचान गरी तिनलाई निरुत्साहित गर्नुपर्छ । यसैगरी सरकारले समाजमा सद्भाव कायम राख्न कानुन कार्यान्वयनमा जोड दिनुपर्छ, कफ्र्यु तत्क्षणको समाधानमात्र हो सधैं यो अस्त्र उपयोगी नहुन सक्छ । यसतर्फ सबैले सोच्नैपर्छ । नेपालगञ्जका आगो निभाउन सबैको चासो र चिन्ता आवश्यक छ । समाजलाई वेथिति गर्न उक्साउने र भड्काउन खोज्नेहरूको पराजय निश्चित हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?