वर्तमान नेपाली राजनीति एउटा अनौठो रज्जुमार्गबाट गुज्रिरहेको छ । यो कहीँ कतै अवरुद्ध हुने हो वा रज्जु (डोरी) नै पो चुँडिने हो कि भन्ने आन्तरिक भय सबै पार्टीमा छ तर बाहिर चाहिँ सबै नेताहरू आ-आफूलाई भयरहित अवस्थामा उभिइरहेको जस्तो देखाइरहेका छन् । हालको कोशीको परिवर्तित राजनीतिले यस्तै देखाइरहेको छ । २०४६ सालको प्रजातन्त्रपछि जहिल्यै पनि शिशु प्रजातन्त्रको आलाप जगाइयो तर प्रजातन्त्रले राम्ररी हुर्किनै नपाई माओवादी सशस्त्र विद्रोहको सुरुवात भइहाल्यो । त्यस कारण प्रजातन्त्र सधैं शिशु नै रहिरहृयो हुर्किन र फष्टाउन पाएन । वर्तमान लोकतन्त्र पनि सधैं यही अवस्थामा रहहिरहने हो कि भन्ने शंसय रहिरहेकै छ ।
प्रधानमन्त्री नै भ्रष्टाचारीहरूबाट राजनीतिमा चलखेल भएको बताइरहनुभएको छ । उहाँले भ्रष्टाचारमा पल्केकाहरूले अहिलेको सरकार ढाल्न खोजेका छन् भन्नुभएको छ । वास्तवमा भन्ने हो भने भ्रष्टाचारीहरू र भ्रष्टाचारलाई सरकारले राम्ररी चिनेको हुन्छ, सरकार भनेकै त्यस्ता तत्वलाई चिन्न, तिनलाई नियन्त्रण गरी कारबाही गर्नका लागि हो । भ्रष्टाचारी चिन्न सकेन भने त्यो सरकारको कमजोरी तथा असफलता हो । भ्रष्टाचारी समाउनुपर्ने सरकारका प्रधानमन्त्री नै भ्रष्टाचारीसँग पराजित भएको निरिह भाषा बोलिरहनु भएको छ । यसबाट इतिहासका केही प्रसंगको संस्मरण गनुपर्ने हुन्छ । नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्य कृषिमन्त्री हुनुभएका बेला कृषि मन्त्रालयमा भ्रष्टाचारको जालो फैलिएको छ म त्यसलाई चिर्न खोज्दैछु भन्नेका कारण पदबाट राजीनामा गर्न लगाइयो ।
तर, वर्तमान प्रधानमन्त्री भने बोलीलाई नियन्त्रणमा राख्न चाहनुहुन्न वा सक्नुहुन्न भन्ने देखिएको छ । उहाँले बेलाबेलामा दिनुभएका अभिव्यक्तिहरू विवादमा परेका छन् । कोलम्बियामा तस्करहरूको हालिमुहाली भएर राजनीति गर्नेहरूको निरिह अवस्था हुने गरेजस्तै नेपालमा भ्रष्टाचारीहरूको हालिमुहाली चलिरहेको अवस्था सरकारले समेत स्वीकार गरेको जस्तो उहाँको अभिव्यक्तिले जनाएको छ । मलाई प्रधानमन्त्री बनाउन फलानाले दिल्लीको दौडाहा ग¥यो भनेजस्ता उहाँका अभिव्यक्तिपछि उहाँले संसद्मा माफी मागेरमात्र अवतरण भएको थियो । सरकार ढाल्ने प्रयासमा मात्र एउटा पक्ष सधैं लागिरहने अनि सरकार जोगाउन अर्को पक्ष दिलोज्यानले रातदिन लागिरहने क्रम हाम्रोमा निरन्तर चलिरहन्छ भन्ने इतिहासदेखि आजका दिनसम्म देखिँदै आएको छ ।
यसका लागि करोडौंको चलखेल, अनेकौं जालझेल र षड्यन्त्र हुने गरेका छन् । सबै दलको चिन्ता र चिन्तन सरकारमा जाने, सरकार जोगाइरहने रूपमा मात्रै आइरहनाले विकास निर्माणका काम ओझेलमा पर्ने गरेका छन् । विकासका लागि छुट्याइएको बजेट सरकार फेरबदलतर्फ खर्च हुनजान्छ । यस्ता कार्यले देश विकास हुन सक्दैन । हाम्रो लोकतन्त्र बद्नाम हुन पुगेको कारण पनि यही हो । राजनीतिक पार्टीहरूको अर्जुनदृष्टि सत्तामा मात्र पर्न गएकाले विकास निर्मण अवरुद्ध हुनेमात्र होइन अपराध र अपराधीले उन्मुक्तिसमेत पाइरहेका हुन्छन् । केही महिनादेखि चर्को चर्चामा रहेको रेशम चौधरी तथा हालैको रिगलको आममाफी यसका ज्वलन्त उदाहरण हुन् । सरकारको समर्थनका लागि आवश्यक संख्याको लेखाजोखाकै कारण उनीहरू उन्मुक्तिमा पर्न गए ।
कोशीको विद्रोहबाट फरक खालको सिनारियो देखापरेपछि हाल राजनीतिक पार्टीहरू आ-आफ्ना तर्क तानिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यो सन्दर्भले केही अप्ठ्यारो परेको थियो तर उहाँहरूले मुख्यमन्त्री बन्नुभएका केदार कार्कीलाई गठबन्धनको समर्थन थियो भनेर लाज ढाक्ने प्रयास गर्नुभएको छ । नत्र यो डा.शेखर कोइरालाको शालीन विद्रोह नै हो । यसबाट पार्टीहरूले र सरकारले समेत पाठ सिक्नुपर्ने हुन्छ । नेकपा एमाले त प्रतिपक्षी पार्टी भयो । त्यसमाथि पनि अघिल्लो कार्यकालमा नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र अलग भएका थिए । त्यसबेला ती नेकपा नामका एकै पार्टीबाट ठूलो कलह पैदा भएपछि छिन्नभिन्न भएका थिए ।
त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा ती दलहरूसहितको गठबन्धन तयार भयो । एमाले र गठबन्धनबीच तीव्र ध्रुवीकरण हुनपुग्यो । त्यसबेलाको राजनीतिक तुष एमालेमा छँदै छ । एमालेले अनेक बाहनामा पटकपटक संसद् अवरोध गर्दै आएको हो । हालैको कोशी प्रदेशको राजनीतिक परिदृश्यमा पनि एमाले नै अग्रणी बन्नपुग्यो । ‘कोशीमा सहमतिपछि ढुक्क भयो भनेको एमालेले मन्त्री छिराएछ’ भन्ने भनाइ पनि आफैंमा अनौठो छ । यसले गर्दा राजनीतिक खुराफातमा अन्य दलहरूभन्दा एमाले नै अग्रणी भएको प्रमाणित हुन्छ । यसरी डामोक्लेसको तरबार जस्तै सन्त्रासमा नेपालका सबै दल रहेका छन् । यी सबै राजनीतिक अपरिपक्वताको दृष्टान्त हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच