काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले जाजरकोट र रुकुम पश्चिमलगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य संकट निम्तिन सक्नेतर्फ सचेत गराएको छ । एनआरएनएतर्फबाट भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको संघको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके स्वास्थ्य संकट चुलिन सक्नेतर्फ ध्यानाकर्षण गराएको हो ।
संघअन्तर्गतको स्वास्थ्य समितिले बुधबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा भूकम्प प्रभावित क्षेत्रमा खटिएका संघका अभियन्ताले करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका थिए । एनआरएनए अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि चिसोको समयमा खुला आकाशमा रात बिताउनुपर्दा वृद्धवृद्धा, बालबालिका र महिलामा स्वास्थ्य जोखिम बढ्ने देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पिउने पानीको समस्या छ । भूकम्पका कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ । घर-घरमा क्रियापुत्री छन् । एउटै घरमा बिरामी छन्, त्यही घरमा मान्छेहरू दुःखमा छन् । त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।’ हाल त्यहाँ पुगेकोे राहतका सामग्री पर्याप्त नरहेको भन्दै उहाँले राहत सामग्री व्यवस्थित ढंगले पुर्याउनुपर्नेमा स्थानीय सरकार तथा दातासमेतले ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष डा. हेमराज शर्माले देशमा दुःख परेका बेला विदेशमा रहेका नेपालीहरू एकजुट हुने बेला आएको भन्दै सहयोगका लागि आग्रह गर्नुभयो ।
महासचिव गौरीराज जोशीले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने भन्दै स्वास्थ्य समितिलाई कार्ययोजना बनाउन आग्रह गर्नुभयो । उपाध्यक्ष राज रेग्मीले राहत वितरणमा स्थानीय निकायसँगको समन्वयसँगै घाइतेको उपचार पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । महिला उपाध्यक्ष रोजिना प्रधानले भूकम्प प्रभावित क्षेत्रका महिला स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटा, भूकम्प प्रभावित क्षेत्रमा खटिनुभएका चिकित्सक भूपेन्द्र मल्ललगायतले बालबालिका, महिला, वृद्धवृद्धाले समयमै औषधि उपचार नपाउने अवस्था रहेको र अहिले गाउँ-गाउँमा झाडाबान्ताको महामारी फैलिने जोखिम रहेको बताएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच