दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । कास्की माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोस २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै ७०० च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म उहाँले च्याङ्ग्रा पु¥याउनुभयो । तर सबै विक्री हुन सकेनन् । ३५४ मात्रै विक्री भए ।

दसैँ सकिएपछि बाँकी रहेका ३४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किनु भयो । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आउनु भएको छ ।

दसैंका लागि लिएको च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उहाँ साह्रै तनावमा देखिनुहुन्थ्यो । दसैँको भन्दा अहिले च्याङ्ग्राको मूल्य निकै कम भएको हुँदा विक्री भने भइ रहेको थियो । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैँमै सबै विक्री हुने भए पनि यसपाली उहाँले सोचे अनुसार व्यापार भएन ।

वर्षौँदखि भेडा च्याङ्ग्रा खरिद विक्री गर्दै आउनु भएका गुरुङलाई यसपाली आर्थिक मन्दीका कारण ठूलो समस्या बनायो । तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उहाँ हुनुहुन्छ । कम मूल्यमा दिन थालेपछि दसैँका तुलनामा यो बेला बढी विक्री भएका छन् । अझै पनि उहाँसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन् । उहाँलाई तिहारसम्म सकिदैनन् कि भन्ने पिरले सताई रहेको छ ।

करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने गुरुङ १८ वर्षदेखि यही पेसामा लाग्नु भएको हो । दसैँ तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन् । च्याङ्ग्राको यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी महङ्गो बनेको थियो । न्यूनतम ३० हजारदेखि ५८ हजारसम्म यसपाली च्याङ्ग्राको मूल्य पुगेको थियो । ठूला सहरका धनमानीले लेकाली च्याङ्ग्राको मासुमा औषधी पाइने विश्वास गर्दै आएका छन् ।

डेढ करोडमा खरिद गरेको च्याङ्ग्रा विक्री नभएपछि थारै पनि नाफा नउठाई बेच्न बाध्य भएको गुरुङले बताउनुभयो । दसैँका बेला कम विक्री गरे पनि नाफा राम्रो उठाउन पाएको भन्दै तिहारसम्म विक्री गरि सक्नु पर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको उहाँको भनाइ छ । बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउनुहुन्छ ।

‘मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले–पहिले च्याङ्ग्रा झरे भने मान्छेहरुले बाटोमै कुरेर बस्थे, छानी छानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महङ्गो पनि भएर हो की,’ गुरुङले भन्नुभयो – ‘यसपाली त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झण्डै भएक महिना त गाउँमै दाना पानी खुवाएर पाले, एक्लै सकिदैन, मान्छे लगाए, उसलाई पनि पारिश्रमिक दिनै प¥यो, यही हिसाबले त अर्को वर्षदेखि भेडा च्याङ्ग्रा लिएर बेच्न त बढो गाह्रो हुने भयो, पहिले बाटोमा ल्याउँदा दुई÷चार वटा मर्थे अहिले चाहीँ धन्न मरेनन्, केहीमा काप्ने (काम्ने) समस्या देखिएको थियो, अहिले केही छैन ।’

पुथा उत्तरगंगा पूर्वी रुकुमका तिलबहादुर बढा मगरले पनि यसपाली सोचे अनुसार भेडाबाख्रा बेच्न सक्नु भएन । ३४ वर्षदेखि भेडापालन गर्दै आउनु भएको बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाउनुभयो । आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि ३०० भन्दा बढी बेडा विक्री गर्न नसकेको उहाँको भनाइ छ । दसैँसम्म पाँच सय भेडा विक्री गर्ने लक्ष्य राखेको भन्दै अहिले दुई सय बढीलाई पुनः गाउँमै फर्काउनु पर्ने स्थित आएको बताउनुहुन्छ ।

आफ्ना भाई महिन्द्र बुढा मगर र तुलसिंह बुढा मगरसँग मिलेर तीन जनाले भेडालाई बजार ल्याएको उहाँले बताउनुभयो । भेडाको मूल्य खास्सै वृद्धि नभएको बुढा मगरले सुनाउनुभयो । गत वर्षहरुमा वार्षिक १५ लाख आम्दानी गरेको भए पनि यस वर्ष आधामा कमाई भएको उहाँ बताउनुहुन्छ । न्यूनतम २० हजारदेखि अधिकतम ४२ हजारसम्ममा विक्री गरेको बुढा मगरले बताउनुभयो । बाँकी रहेका भेडालाई बथानमै लगेर छोड्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ – ‘घर परिवार पाल्ने भेडा बेचेरै हो, वर्ष भरी भेडा गाठालो गर्छु, अरुको इलम केही छैन, हाम्रो खास सिजन भनेको दसैँ, तिहार हो, यो बेला विक्री नभए अन्य समयमा त्यत्ति बिक्दैनन्, कहिले काहीँ पूजा आजाका लागि किन्न आउने हुन्, हामीहरु बजार झर्दैनौँ, अहिले मेरा गोठमा तीन यस सानाठूला भेडाहरु छन्, यहाँ विक्री नभएका ६०÷७० होलान्, सबैलाई अब एकै ठाउँ राखेर गोठ लैजानु पर्ने भयो, बजार आउन पनि एक्लै सकिदैन, दुई÷तीन जना भएर आउनु पर्छ, गु्रपमा आएपछि आफ्नो मात्रै बेच्न पनि भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?