
देवेन्द्रकुमार झा
देशमा सरसफाइ अभियान सुरु हुनुअघि गाउँमा चर्पी भएको घर पाउन मुस्किल पथ्र्यो । सन् १९९० अर्थात् आजभन्दा ३३ वर्षअघि नेपालको ३ प्रतिशत मानिसको घरमा मात्र शौचालय सुविधा थियो । तर, अहिले शौचालयको अवस्था ठिक उल्टो भएको छ । अहिले छिटपुट घरहरूमा मात्र शौचालय निर्माण गर्न बाँकी छ । जब सन् २०११ मा सरसफाइ गुरुयोजना बनाएर कार्यान्वयनमा आयो, त्यसपछि शौचालय निर्माणले तीव्रता पाउन थालेको हो । फलस्वरूप एक घर एक शौचालय निर्माण भई २०७६ साल असोज १३ गते नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा गरिएको थियो ।
त्यसबेला शौचालय निर्माणको लागि दिलोज्यान दिएर लागेका योद्धा मध्येका एकजना म पनि थिएँ । मेरै नेतृत्वमा खोटाङ, महोत्तरीलगायत जिल्लाहरूमा सरसफाइको आँधीबेहरी नै ल्याएको थिएँ भन्दा पनि फरक पर्दैन । त्यसपछि खानेपानी तथा ढल व्यवस्थापन विभागको वातावरणीय सरसफाइ शाखाको प्रमुख भएर खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाहरूमा रणनीतिक रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेँ । फलस्वरूप देशका सबै जिल्लाहरूलाई खुला दिसामुक्त घोषणा गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै खुला दिसामुक्त घोषणा गर्नुभयो । सरसफाइको क्षेत्रमा खानेपानी मन्त्रालय, खानेपानी ढल व्यवस्थापन विभागको नेतृत्व, विकाश साझेदारीहरूको सहकार्य र स्थानीय तहको नेतृत्व रहेको छ ।
सरसफाइको क्षेत्रमा नेपालले गरेको यो उपलब्धि विश्वका अन्य मुलुकका लागिसमेत आश्चर्यको विषय बन्यो । नेपाल नै त्यस्तो मुलुक हो, जसले दक्षिण एसियामा खुला दिसामुक्त घोषणा गर्न सफल पहिलो राष्ट्रको छवि मात्र बनाएन, सन् २०१५ देखि २०२२ को बीचमा आधारभूत सरसफाइमा उल्लेख्य प्रगति हासिल गर्र्ने विश्वका देशहरूमा दोस्रो र दक्षिण एसियामा पहिलो राष्ट्र बन्न सफल बन्यो । विश्वका २५ वटा देशहरूमा सरसफाइको प्रगति बढ्नुको साटो घटिरहेका बेला नेपालले भने सात वर्षको अवधिमा २२ प्रतिशत बढाएर विश्वको दोस्रो देश बन्न सफल भएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (जे.एम.पी) ले प्रकाशित गरेको घरेलु खानेपानी, सरसफाइ र स्वच्छता प्रतिवेदन अनुसार भारत नेपालभन्दा एक अंक तल छ । भारतले यो अवधिमा सरसफाइतर्फ २१ प्रतिशत कभरेज बढाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (जे.एम.पी) ले दिगो विकास लक्ष्य (एस.डि.जी) र खानेपानी, सरसफाइ र स्वच्छता (वास)सम्बन्धी सूचकहरूको विश्वव्यापी प्रगतिको अनुगमन गर्दछ । जे.एम.पी.ले घरपरिवार, विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा भएको प्रगतिको राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी आँकडाहरू प्रस्तुत गर्दछ ।
एकपटक अनुमान गरौँ, सरकारको नेतृत्वमा विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकाय, नागरिक समाज र स्थानीय स्तरबाट संयुक्त प्रयास नभएको भए यो प्रतिफल हामीले कहिले प्राप्त गर्न सक्थ्यौँ होला ?
सरसफाइमा हामीले हासिल गरेको उपलब्धि केवल विश्वमा सरसफाइको दौडमा अग्रता हासिल गर्नेसँग मात्र सम्बन्धित छैन, यसले गुणात्मक नतिजा प्रदान गरेको छ । हामीले सञ्चालन गरेको सरसफाइ अभियानबाट अनगिन्ति उपलब्धि हासिल गरे पनि खासगरी देखिने गरी निम्न उपलब्धि हासिल गरेको महसुस गरेको छु ।
बाल मृत्युदर घट्यो
नेपालमा खुला दिसामुक्त अभियान आन्दोलनझैँ गरी अगाडि नबढेको भए सायद अझै पनि खुला दिसापिसाब गर्ने मानिसहरूको जमात ठूलै हुन्थ्यो होला । अभियानकै कारण अहिले आफ्नो घरनजिकै आफ्नो आर्थिक अवस्था अनुसारको शौचालय बनाएको भेटिन्छ । अपवादबाहेक मानिसहरू शौचालयमै दिसापिसाब गर्छन् । बाहिरी वातावरण पहिले पहिले जस्तो दुर्गन्धित छैन ।
यसको परिणाम बाल मृत्युदरमा देखिएको छ । सबैभन्दा महत्वपूर्ण पक्ष यही हो कि, हामीले शौचालय निर्माण भएपछि बालबालिकाको ज्यान बचाएका छौँ । सन् १९९० को दशकमा ३ प्रतिशत नेपालीको घरमा मात्र शौचालय हुँदा बालमृत्युदर धेरै थियो । सरसफाइको नाजुक अवस्था र प्रदूषित पानीका कारण ज्यान गुमाउने पाँच वर्ष मुनिका बालबालिकाको संख्या वार्षिक १० हजारभन्दा माथि थियो । तर, जब नेपालमा एक घर एक शौचालय बनाउने अभियान चल्यो, बाल मृत्युदर पनि घट्दै आयो । शौचालय निर्माणको ग्राफ बढ्दै जाँदा बाल मृत्युदर भने घट्दै आएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले समेत नेपालमा पहिले वार्षिक १० हजार आठ सय बालबालिकाको मृत्यु हुने गरेकोमा अहिले त्यो संख्या घटेर १२०० झरेको देखाएको छ । एक दिनको कुरा गर्ने हो भने पहिले प्रत्येक दिन २० देखि २५ जना बालबालिकाको मृत्यु हुन्थ्यो भने अहिले दैनिक पाँच जनामा झरिसकेको छ । हामीले शौचालय निर्माण गरेर प्रत्येक दिन २० जना बच्चालाई मर्नबाट जोगायौँ ।
नेपाल स्वर्गमाथि पनि स्वर्ग
पहिले पहिले गाउँ आयो, गुहु गनायो जस्ता उपमा पाएको गाउँ आज प्रदूषणमुक्त भएको छ । तराईमा जाँदा गाडीको चक्कामा खुला दिसा लतपतिएको घटनाहरू अब इतिहास बनेको छ । यो खुला दिसामुक्त अभियानको अर्को ठूलो उपलब्धि हो ।
हिमाल, पहाड र तराई मिलेर बनेको नेपाल देश त्यसै पनि स्वर्गसरह छ । त्यसमा पनि सबैको घरमा शौचालय बनेपछि नेपाल स्वर्गसरह भएको छ । विविधताले भरिएको देश नेपाल खुला दिसामुक्त अभियानले सबैको घरमा शौचालय बनेपछि झन स्वर्गमाथि स्वर्ग भयोभन्दा फरक पर्दैन ।
वार्षिक बजेट बराबर नागरिकको लगानी
नेपालमा खुला दिसामुक्त अभियान वा एक घर एक शौचालय अभियान जस्तै छिमेकी राष्ट्र भारतमा पनि स्वच्छ भारत अभियान सञ्चालन भयो । तर, त्यहाँ शौचालय बनाउनका लागि प्रति परिवारका लागि १८ देखि २० हजार नेपाली रुपैयाँ अनुदान दिँदा पनि शौचालय बन्न सकेन । अभियान अवधिमा नेपालमा भने अनुदानबिनै ६२ लाखभन्दा बढी शौचालय निर्माण गर्न सफल भयौँ ।
नेपाली जनताले शौचालयमा लगानी गरेको साँच्चिकै हिसाब किताब गर्ने हो भने नेपालको वार्षिक बजेट बराबरको थियो । यो अन्य देशका लागिसमेत उदाहरणीय र अनुकरणीय बन्यो । यसले के पाठ सिकायो भने शौचालय पैसाले बन्दैन । शौचालय बनाउनका लागि शौचालयको महत्व बुझ्नुपर्छ । जुन कुरा हामीले अभियान अवधिमा बुझाउन सक्यौँ र हरेक घरका मानिस आफैँले शौचालय बनाए ।
अबको बाटो
२०७६ असोज १३ मै खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेको नेपालमा अझै ४.५ प्रतिशत नागरिकले खुला ठाउँमै दिसापिसाब गरिरहेको तथ्यांक छ । खुला दिसामुक्त घोषणापछि सरसफाइलाई कसरी गति दिने भन्ने कुरा खुला दिसामुक्त अभियानकै दौरानमा उठे पनि कोभिड महामारीलगायत कारणले गति दिन नसक्दा आजको स्थिति पैदा भएको हो ।
अब ती जनसंख्यालाई शौचालयको पहुँचमा ल्याउने, शौचालयको सेप्टिक ट्याङ्कीभित्र भण्डारण भएर बसेको दिसाजन्य लेदोलाई सुरक्षित तरिकाले ढुवानी गरी प्रशोधन केन्द्रसम्म पुर्याएर प्रशोधन गर्ने र सुरक्षित रुपमा पुनः प्रयोग गर्ने भन्नेतिर अबका कार्यक्रमहरू लक्षित हुनुपर्छ ।
सुरक्षित रूपमा व्यवस्थित सरसफाइको लागि लगानी आवश्यक पर्छ । फिकल स्लज ट्रिटमेन्ट प्लान्ट निर्माण, कम्पोष्टिङ, रियुजलगायत काम गर्न अझ गाह्रो छ । यसका लागि सुरक्षित रूपमा व्यवस्थित सरसफाइको योजना बनाउनुपर्छ । जसलाई सुरक्षित रूपमा व्यवस्थित सरसफाइ भन्ने थाहा छैन, ती समुदायसम्म पनि सुरक्षित सरसफाइको पहुँच पुर्याउनु पर्दछ ।
जसरी कुनै समय एक घर एक शौचालयको नारा जोड तोडले उठेको थियो । त्यसरी गरी शौचालयको सेफ्टी ट्याङ्कीभित्रको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनको कुराहरू समुदायसम्म पुर्याउनु पर्दछ । घना बस्ती भएका तर ढल प्रणाली नपुगेका क्षेत्रहरूमा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरू निर्माण गरी सञ्चालनमा ल्याउनु पर्दछ । यसका लागि पनि विगतमा जस्तै व्यवस्थित योजनाको खाका निर्माण गरी सरकारको नेतृत्वमा विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकाय, नागरिक समाज र स्थानीयस्तरबाट संयुक्त लगानी गर्न आवश्यक छ । यसो गर्न सक्यौँ भने मात्र अब बाँकी रहेको समयमा दिगो विकास लक्ष्य ६ हासिल गर्न सकिन्छ ।
लेखक, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर सुर्खेतका आयोजना प्रमुख हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच