
अहिले वास्तवमा राजनीतिक नेतृत्वको कार्यशैली र जीवनशैलीप्रति नेपाली नागरिकको असन्तुष्टि इतिहासमै चुलिएको छ । यसलाई नेपालका पार्टीका वरिष्ठ ठेकेदारहरूले लोकप्रिय बन्न भाषणमा स्वीकार गर्छन् । तर, व्यवहारमा स्वीकार नगर्दा असन्तुष्टि दिनप्रतिदिन बढ्दो छ । त्यस असन्तुष्टिको कारण हामी हौं र समाधान पनि हामी गर्छौं भन्ने खाका सार्वजनिक गर्ने हिम्मत जिम्मेवारीमा हुने नेताहरूले किन गर्दैनन् ? त्यो इमानदारी प्रदर्शन गर्न सबै दलका सबै नेता-कार्यकर्ता सत्तामा हुँदा चुकेका छन् । दुर्भाग्य उनीहरू आफैंमात्रै ठीक हुँ भनेर एकोहोरो भुकेका छन् ।
जनताको बुझाइको निष्कर्ष के छ भने हालसम्म सत्तारुढमात्रै होइन प्रतिपक्षी नेतृत्वमा हुनेहरूसमेत भ्रष्ट छन् । कसैसँग प्रजातान्त्रिक चरित्र छैन । भ्रष्ट र सत्ता आलोपालो गर्नेहरूबाट राजनीतिक निकास निस्कँदैन भन्ने जनताको निष्कर्ष छ । जनता भित्रभित्रै आन्दोलित छन् । यो आन्दोलन परालको आगोजस्तै एक्कै पटक दन्कने निश्चित छ । यो जान्दाजान्दै आफ्ना कमजोरीलाई सुधार गर्न किन अग्रसरहुँदैनन् ? सुधारको सुरुवात नगर्दा असन्तुष्टि एकपछि अर्को हुँदै चुलिन्छ । प्रकृतिको नियम हो चुलिएपछि घोप्टिन्छ । यस्तो अवस्थामा घोप्ट्याउन ठूलो शक्ति चाहिँदैन । कतै त्यो चुलिएको असन्तुष्टिलाई घोप्ट्याउने काम यसअघि राजनीतिले नचिनेको व्यक्तिले गर्ने त होइन ?
असन्तुष्टि उत्पादन आफूले गर्ने र असन्तुष्टिको दुरुपयोग प्रसाईले गरे भनेर पानीमुनिको ओभानु हुन खोज्नु राजनीतिक अपराध हो । हलको जनअसन्तुष्टि उत्पादन गर्ने माओवादी, एमाले र कांग्रेसका नेता नै हुन् । हिजो यी पार्टीका नेताहरू जनताको असन्तुष्टिको नेतृत्व गर्थे । अहिले यिनीहरू नै असन्तुष्टि उत्पादनका कारखाना बने । जनताको असन्तुष्टिको नेतृत्व जसले गर्छ त्यो नै सक्कली नेता हो । राजनीतिमा असन्तुष्टिको प्रतिनिधित्व गर्नु जनताको भावनालाई आत्मसात गर्नु हो । हालको असन्तुष्टिको वास्तविक नेतृत्व गर्ने राजनीतिक नेता र पार्टीको अभाव नै नेपाली राजनीतिको दुर्भाग्य हो ।
राजनीतिले गन्तव्य नलिनुको मुख्य कारण प्रणाली होइन राजनीतिक व्यक्ति र तिनीहरूको अनैतिक, स्वार्थी र भ्रष्टाचारी चरित्र हो । लोकतन्त्रको विकल्प लोकतन्त्र हो भन्नेहरू भ्रष्टाचारीको विकल्प पनि भ्रष्टाचारी हो भन्ने जबर्जस्त सन्देश दिन्छन् ।
नेपाली राजनीतिज्ञहरूले आफू व्यक्तिगत हितबाहेक जनहितमा माखो मार्न सकेनन् । सक्नेहरूलाई बाटो छेक्नेहरूको सशक्त सञ्जालले राजनीतिलाई निकास शून्य बनायो । आफूले अवसर पाउँदा जनहितमा सिन्को नभाँच्ने अर्कोलाई बाटो छेक्ने काम यिनै तीन पार्टीका शीर्ष नेताहरू गर्छन् । दशकौंदेखि विकृति उत्पादन गर्दै सत्ता र शक्तिको चरम दुरुपयोग गरेका कारण राजनीतिका वर्तमान मुखियाहरूले जनविश्वास गुमाएका छन् । नेपालको राजनीति दुई-चारजना नैतिकता, इमानदारी र विश्वास शून्यहरूको कब्जामा छ । ठूला पार्टीका ठूला नेताहरूबाट नेपाल र नेपाली ठगिएका छन् । यो नेपाली जनताको निष्कर्ष हो । गठबन्धनको संस्कृति त्यसको उदाहरण हो ।
राजनीतिले गन्तव्य नलिनुको मुख्य कारण प्रणाली होइन राजनीतिक व्यक्ति र तिनीहरूको अनैतिक, स्वार्थी र भ्रष्टाचारी चरित्र हो । लोकतन्त्रको विकल्प लोकतन्त्र हो भन्नेहरू भ्रष्टाचारीको विकल्प पनि भ्रष्टाचारी हो भन्ने जबर्जस्त सन्देश दिन्छन् । यो नेपाली राजनीतिको चुरो समस्या हो । व्यवस्था र संविधानका कमजोरीलाई सुधार गर्न सजिलो छ । तर नेतृत्व गर्ने भ्रष्ट र चरित्रहीनहरूको उपचार कठिन हँुदो रहेछ भन्ने अनुभव हामीसँग छन् । प्रजातान्त्रिक पद्धतिमा प्रतिपक्षी दलले असन्तुष्ट पक्षलाई आन्दोलनमा स्वतः सरिक गराउने र सरकार साथै व्यवस्था परिवर्तन गर्ने राजनीतिको प्राकृतिक सिद्धान्त हो । राजनीतिमा सत्तापक्षको गलत काम उधिन्ने, सार्वजनिक गर्ने र जनसमर्थन एकीकृत गर्ने र सुधार हेतु सरकार ढाल्ने दाउ कुरेर बस्ने जिम्मेवारी प्रतिपक्षको हो ।
प्रतिपक्षमा हुँदा कसैले पनि त्यो काम किन गरेनन् ? त्यसको मुख्य कारण हो भ्रष्ट आचरण । अहिले सत्ता र विपक्षमा हुने दुवै पक्षलाई वास्तवमा जनताको समर्थन छैन् । परिवर्तनको ठेकेदार हुँ भन्ने दम्भ र घमण्डले यिनीहरू वास्तविक परिस्थितिको आँकलन गर्ने क्षमता राख्दैनन् । आफ्ना कमजोरी आफैं केलाउने क्षमताको विकास नहुँदासम्म वर्तमान राजनीतिले किमार्थ निकास लिँदैन । सत्ताधारीहरूलाई बलात घोक्रेठ्याक लगाउने र त्यसपछि व्यवस्थित गर्ने क्षमता र योग्यता प्रतिपक्षमा भए निकास निस्कन्छ । असन्तुष्टहरूको नेतृत्व गर्ने नैतिक, इमानदार नेताको खडेरी नै निकासको मार्गमा प्रमुख बाधक बन्यो । सत्तापक्षले कमजोरीलाई नसुधार्ने हो भने नपत्याउँदो शक्तिले सत्ता हत्याउँछ ।
त्यसको उदाहरण भनेको व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तन नगर्ने आफू र आफ्नाको मात्रै अवस्था परिवर्तन गर्ने वर्तमान शासक नै हुन् । अझ प्रष्ट भन्नुपर्दा वर्तमान सत्ता र प्रतिपक्षका नेताहरू नै हुन् । राजनीतिमा जनतालाई आन्दोलित गर्न सानुभन्दा सानु विषयवस्तु पर्याप्त हुन्छ । भ्रष्टाचार र कुशासनका यति धेरै एजेण्डा पाउँदा प्रतिपक्ष किन सधैं मौन ? आफू भ्रष्ट नभएको भए प्रतिपक्षले क्षणभरमा उछित्तो काढ्थ्यो । प्रतिपक्षको शक्ति पनि भ्रष्टाचारको जगमा उभिएकाले सत्तापक्षको उछित्तो काढ्ने आत्मबल नभएको हो । राजनीतिमा विपक्षलाई हेप्नेहरू र उनीहरूको शक्तिलाई अन्यथा अर्थ लगाउँदा, अपव्याख्या गर्दा र न्यून आँकलन गर्दा संसारमा सत्ताका शक्तिशाली ठेकेदारहरू सत्ताच्युत भएका उदाहरण थुप्रै छन् ।
तसर्थ जनताका असंतुष्टिका छिद्रहरूलाई सत्तपक्षले समयमै टाल्नुपर्छ । नेपाली राजनीतिमा २००७, २०१७, २०४६ र २०६२-६३ का राजनीतिक परिवर्तनपछि जनताका आकांक्षा, चाहना र भावनाप्रति नेताहरूले चरम बेवास्ता गरे । परिणामस्वरूप यसअघि सत्ताको अवसर पाएका सबै पार्टी र तिनका नेताहरूको कार्यशैली र जीवनशैलीप्रति जनतामा अहिले तीव्र असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई एकीकरण गर्ने नेतृत्व यदि पायो भने असन्तुष्टिको विष्फोटन अवश्यम्भावी छ । जनताको असन्तुष्टि चुलिएको छ । जनअसन्तुष्टिको प्रतिनिधित्व गर्ने इमानदार नेतृत्वको अभावमा असन्तुष्टि एकीकृत र संगठित हुन नसकेको हो ।
असन्तुष्टिले लामो समयसम्म नेतृत्व नपाएको अवस्थामा बगेको बेलामा त्यन्द्रोले पनि बचाउँछ कि भन्ने आशले त्यान्द्रो पनि समाउँन पुग्छ । त्यस्तै अहिले गरिब, निमुखा र दबिएकाहरूको पीडाको प्रतिनिधित्व गर्न दुर्गा प्रसाई पुगेका त होइनन् ? विगतका घटनाक्रमले उनी अस्थिर हुन् भन्ने पुष्टि हुन्छ । उनमा राजनीतिक सुझबुझको कमी छ । अध्ययन पनि छैन भन्ने कुरा आफैं भन्छन् । उनी प्रष्ट छन् । प्रष्ट हुँदा उनले शक्ति सञ्चय गरेका छन् । उनी व्यवसायी हुन् । त्यसैले सानुतिनु रकमका लागि कसैसँग मुन्टो निहुँर्याउनु पर्दैन । गैरराजनीतिक व्यक्तिले राजनीतिको नेतृत्व गर्ने अवस्था भनेको दलहरू असफल भएको प्रमाण होइन ?
पुष्पकमल र खड्गप्रसादका कमजोरीहरू उनलाई सबै कण्ठ छन् । शीर्षस्थ नेताहरूको चरित्रको नालिबेली खोल्दिन्छु भनेर निर्धक्क भन्ने हिम्मत राख्छन् । ती नेताहरूको चरित्रको उछित्तो काढ्ने शब्दावलीको पनि उनमा कमी नहुँदा ओली देउवा र दाहाल जस्ता तथाकथित शक्तिशालीलाई थर्काएका छन् । व्यक्तिगत सम्पत्तिले समाजसेवा साथै निमुखाको आवजलाई मुखरित गर्ने उनको शैली र स्वभावले जनतालाई आकर्षित गरेको सत्यलाई सबैले स्वीकार गर्नैपर्छ । एमालेको संगठित शक्तिलाग्दा, सत्ताले छेक्दा जनता तीनकुनेमा भन्दा बल्खुमा किन धेरै भए ? यति हुँदाहुँदै उनको अभियानमा राजनीतिको दीर्घकालीन गन्तव्यको सोच र योजना छैन । एजेण्डा धेरै छन् । कतिपय विवादास्पद छन् ।
तथापि यिनले वर्तमान शासनमा रहेका नेताहरू र प्रतिपक्षी नेताहरूका शासकीय र व्यक्तिगत कमजोरीलाई जनतासमक्ष पु¥याउने र जनतालाई यिनीहरूको विरोधमा एकीकृत गर्न सक्छु भन्ने आँट भएको कुरा आफ्ना अन्तर्वार्तामा निर्धक्क भन्छन् । नेपालका राजनीतिक परिवर्तनले जनतालाई बेवास्ता गरेको सत्य हो । नेताहरूले देशको ढुकुटी र शासकीय अधिकारलाई चरम दुरुपयोग गरेर आफ्नो र आफ्नाको बन्दोबस्त गरेकाले अहिले नेतृत्वसँग जनताको चर्को असन्तुष्टि छ । फलामलाई तातेको बेलामा हिर्काउँदामात्रै आफूले भनेको साइजमा लैजान सकिन्छ भन्ने व्यावहारिक सिद्धान्तलाई राजनीतिक अनुभव नहुँदा नहुँदै प्रसाईले पच्छ्याएको अवस्था छ । मुढाको मुख पोल्ने कला विकास गर्दा झिझाले मुढाहरू सजिलै जल्छन् । त्यसैले जनताका असन्तुष्टिलाई अमुक शक्तिले एकीकृत गर्यो, दुरुपयोग गर्यो भनेर सत्तारुढ र प्रतिपक्षले कोकोहोलो हाल्ने कि असन्तुष्टिको समाधानका सूत्रहरू एक-दुई तीन गरेर सार्वजनिक गर्ने र समस्याको अविलम्ब सम्बोधन गर्न लाग्ने ? नेताहरूले राजनीतिलाई जनहितभन्दा सत्ता प्राप्तिको हतियार बनाए । सत्ता केवल भ्रष्टाचार र अवैध आम्दानीको स्रोत बन्यो । परिणामस्वरूप असन्तुष्टि चुलिएको हो ।
हालको जस्तो अवस्थामा प्रजातान्त्रिक पद्धतिमा नेतृत्व स्वतः प्रतिपक्षी दलले लिनुपर्ने हो तर नेतृत्व उभयपक्षले लिएका कारण प्रतिपक्षी दलले होस् गुमाएको अवस्था छ । राजनीतिमा सत्तारुढ दलले होस् गुमाउँदा विवेक पुर्याउने काम प्रतिपक्षले गर्नुपर्छ ।
यसलाई सत्तामा हुनेहरूले सधैं बुझ पचाए । वास्तवमा यो असन्तुष्टिको नेतृत्वको हक प्रतिपक्षी दलको हो तर प्रतिपक्षी दल जनताको अवस्था परिवर्तनतिरभन्दा आफूले सत्ता प्राप्त गर्ने र जनतालाई अल्मलाउँदै आफू र आफ्नाकै व्यवस्था गर्न पर्खेर बस्ने अवस्थाका कारण जनअसन्तुष्टिलाई प्रतिनिधित्व गर्ने अवसर प्रसाईले हात पारे । वास्तवमा प्रसाईको नेतृत्व प्रजातान्त्रिक चरित्रभन्दा भिन्नै भयो । प्रजातान्त्रिक व्यवस्थामा त जनताका असन्तुष्टिको नेतृत्व संसद्को प्रमुख प्रतिपक्षले गर्छ । त्यो नेतृत्व गर्न एमाले किन चुक्यो ? संसद् बाहिरबाट प्रसाई किन र कसरी आए ? यो भ्रष्टाचारले सिर्जना गरेको आश्चर्यको हो ।
सरकारका कमजोरीहरूका विषयमा आवाज उठाउने र जनताको भावनाहरूको प्रत्यक्ष प्रतिनिधित्व गर्ने हक र अवसरलाई अहिले एमालेले गुमाएका कारण तिनका नेता र कार्यकर्ताहरू छट्पटिएका छन् । अहिले वास्तवमा प्रतिपक्षी दल राजनीतिक भूमिका शून्य देखियो । सरकारमा हुनेहरूसँग विवेक, इमानदारी छैन । भ्रष्टाचारमा सबै चुर्लुम्म डुबेका छन् । यो सुनौलो अवसरलाई एकीकृत गर्न नसक्नु एमालेलेको ठूलो कमजोरी हो । जब सरकारमा रहनेहरूसँग नैतिक, चारित्रिक बल हुँदैन त्यस्तो अवस्थामा कमजोर आन्दोलनकारीको आन्दोलनसँग पनि त्रसित हुनु स्वाभाविकै हुन्छ ।
यस्तो अवस्थामा प्रजातान्त्रिक पद्धतिमा नेतृत्व स्वतः प्रतिपक्षी दलले लिनुपर्ने हो तर नेतृत्व उभयपक्षले लिएका कारण प्रतिपक्षी दलले होस् गुमाएको अवस्था छ । राजनीतिमा सत्तारुढ दलले होस् गुमाउँदा विवेक पुर्याउने काम प्रतिपक्षले गर्छ । तर, यहाँ प्रतिपक्षले समेत होस् गुमाउँदा आन्दोलनको नेतृत्व नै संसद् बाहिरबाट गैरराजनीतिक व्यक्तिले लिने अनौठो परिस्थिति सिर्जना किन भयो । यो परिस्थितिमा दलहरूले निर्मम आत्मसमीक्षा र आत्ममूल्यंकन गर्नैपर्छ ।
राजनीति सरल रेखामा हिँड्दैन भन्थे वास्तवमा यो सत्य रहेछ । राजनीतिक नेतृत्वमा नैतिकताको खडेरीका कारण एक्लो व्यक्तिको अभियानले नेपाली राजनीतिका हस्त हुँ भन्नेहरूलाई हल्लायो । दलहरूले भन्दा एक्लै प्रसाईले धेरै जनतालाई अभियानमा उभ्याउँछु भनेर खुला चुनौती दिने आँट र अवस्था किन सिर्जना भयो ? यसबारे ठूलाठूला दलका नेताहरूले आफ्नो व्यवहार, कार्यशैली र जीवनशैलीको आत्म समीक्षा र आत्म मूल्यांकन गर्नुपर्छ । दुर्गा प्रसाईले नेताहरूलाई चुनौती दिने मुख्य कारण राजनीतिज्ञहरूको अनैतिक क्रियाकलाप, कुशासन र भ्रष्टाचार हुन् । भ्रष्ट शासक कमजोरसँग पनि त्रसित हुन्छ र पराजित हुन्छ भन्थे कतै वर्तमान अवस्थाको गन्तव्य त्यतै त होइन ?
`वास्तवमा भविष्यको योजना नभएको सरकार र त्यस्तै स्पष्ट खाका नभएको आन्दोलनले द्वन्द्व र अस्थिरता सिर्जना गर्ने र देशको भविष्यलाई अझै अन्यौल बनाउने निश्चित छ । नेपाली राजनीतिले सधैं अन्यौल, अस्थिरताको बाटो अख्तियार गर्ने अवस्था भनेको देश र जनताको दुर्भाग्य हो । सत्तामा को बस्छ ? र को जन्छ को अर्थ छैन । जनतालाई अर्थ राख्ने विषय राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुन् । तर, ती वस्तुहरू एकपछिको अर्को आन्दोलनले अनिश्चित र असम्भव देखाउने विषय देश र देशवासीको दुर्भाग्य हो ।
बुद्धि पु¥याउनुपर्नेले समयमा बुद्धि पुर्याएन भने समयक्रममा उसले पछुताउनेसम्म अवसर पाउँदैन । उदाहरण पूर्वराजा ज्ञानेन्द्र शाह नै छन् । कतै वर्तमान परिस्थितिले वर्तमान राजनीतिको सत्तापक्ष र प्रतिपक्षलाई इतिहासको कालखण्डको त्यही परिस्थितिमा त पुर्याउँदैन ? भ्रष्टाचार, कुशासनबाट सिर्जित नागरिक असन्तुष्टिलाई उपचार गर्ने सूत्रसँग जनता आस्वस्त भएनन् भने अन्ततः राजनीतिक परिवर्तनलाई रोक्न र छेक्न सरकारले होइन ईश्वरले पनि सक्दैनन् ।
सत्तापक्ष र प्रतिपक्षले एकपटक हेर्नैपर्ने समसामयिक आलेख ।