काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेको आरोपमा आठजना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डोमा पारेर गैँडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका उनीहरूलाई बिहीबार निकुञ्ज कार्यालयले सार्वजनिक गरेको हो । गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुलीमा खाल्डोमा परेर मरेका खागविहीन दुईटा गैँडा फेला परेका थिए । सोही गैँडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती, थिङ बाजे भन्ने मकवानपुुर मनहरी-६ नयाँ बस्तीका ५६ वर्षीय सीताराम थिङ र मकवानपुर राक्सिराङ-९ मूल घर भई हेटौँडा-४ बस्ने ४४ वर्षीय समशेर थिङ रहेका छन् ।
यस्तै, राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भई मकवानपुर हेटौँडा-५ बस्ने २८ वर्षका अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर-११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरुङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भई चितवन बाँदुरझुला बस्ने वर्ष ५६ का इन्द्रबहादुर तमाङ छन् ।
खाती मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती-९ बाट समातिएका हुन् । गैँडाको खाग पनि राप्ती-६ मा फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो ।
एकैपटक दुई गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तस्कर पक्राउ गर्न खटिएको थियो । घटनाको अध्ययन गरी सुझाव पेस गर्न वन तथा वातावरण मन्त्रालयबाट मंसिर १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि, कानुन अधिकृत सहितको पाँच सदस्यीय छानविन टोली गठन भई स्थलगत अध्ययन अनुसन्धानपश्चात् तयार भएको छानविन प्रतिवेदन विभागमा बुझाई सकिएको छ ।
पक्राउ परेकाहरूलाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखिएको छ । उनीहरूलाई अनुसन्धान गरी मुद्दा चलाउन ४५ दिनसम्मको समय पाइन्छ । गैँडा मुद्दामा अपराध पुष्टि भए १० लाख रुपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
यसरी पारियो जालमा
तस्करहरूले निकुञ्जभित्र खाल्डो खनेर त्यसलाई प्राकृतिक बनाई गैँडालाई पासोमा पारेको अनुसन्धानबाट खुलेको छ । खाल्डो खनेर माथिबाट गैँडालाई मन पर्ने घाँसहरूले छोपी, प्राकृतिकजस्तो देखाएर पासोमा पारिएको अनुसन्धानले देखाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी गराउनुभयो । त्यसकै आधारमा गैँडा हिँड्दै आउँदा खाल्डोमा परेको हुनसक्ने उहाँले बताउनुभयो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार ‘केमो फ्लेज’ भनिने पासो थापेपछि सिकारीहरू करिब एक किलोमिटर पर लुकेर बसेका थिए । एक किलोमिटर पर सानो मचान, चाउचाउका खोल, पानीका बोतल, प्लास्टिक भेटिएका छन् ।
सिकारीहरूले त्यहाँ बसेर गैँडा पासोमा परे/नपरेको हेर्ने गरेको अनुसन्धानबाट देखिएको छ । जब गैँडा खाल्डोमा फस्यो उनीहरूले त्यसलाई मारेर खुर काटेको देखिएको उहाँले बताउनुभयो ।
बन्दोबस्तीसहित जंगलमा बसेको थियो टोली
गैँडा तस्कर समूह २० दिनसम्म जंगलमै बास बसेको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको प्राविधिक टोलीले उनीहरूको साथबाट बरामद गरिएको सामग्रीले पनि लामो समय जंगलमै बसेको प्रमाण रहेको पुष्टि हुने जनाएको छ । अनुसन्धान टोलीले उनीहरूको साथबाट ४८० ग्राम र ६० ग्राम तौलको दुई थान खाग बरामद गरेको छ । उनीहरूको साथबाट कालो झोला, भरुवा बन्दुक, बिँड भएको बञ्चरो, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा, गुलेली, टर्च लाइट, कालो झोला, घरमा बनाएको झोला, डेक्ची, पटाका बारुद, ब्ल्यांकेट र दुई थान पल्सर मोटरसाइकल बरामद गरिएको जनाएको छ । उनीहरूले एक किलोमिटरको दूरीमा सातवटा खाल्डा बनाएका थिए । सातवटा खाडल खनेर चोरी सिकारी प्रक्रिया पूरा गर्न तस्करहरूले करिब महिना दिन बिताउँदासमेत निकुञ्ज प्रशासनले थाहा पाउन सकेको थिएन ।
पछिल्लो समय दुर्लभ एकसिंगे गैँडा मार्न तस्कर सक्रिय बन्दै गएका छन् । पछिल्ला तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा तस्कर सक्रिय बनेका हुन् । तीन वर्षमा तस्करले आठवटा गैँडा मारेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । बीचमा केही वर्ष तस्करी शून्य भए पनि पछिल्लो समय भने तस्कर सक्रिय भएको पाइएको हो ।
निकुञ्जको पूर्वी क्षेत्रमा नै गत १४ भदौमा गैँडाको हाडखोर फेला परेको थियो । गत वर्ष माघमा निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ नारायणी किनारमा तस्करले करेण्ट लगाएर दुईवटा गैँडा मारेका थिए । चालु आर्थिक ०८०/८१ को चार महिनामा निकुञ्ज र आसपासको क्षेत्रमा आठवटा गैँडा मारिएका छन् ।
आव ०७२/७३ देखि हालसम्म नौ वर्षको अवधिमा २३४ गैँडा मारिएको निकुञ्जको तथ्यांक छ । चितवन राष्ट्रिय निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ । सन् २०२१को गणनामा देशभर ७५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा गैँडा भेटिएका थिए ।
क्याप्सन ः चितवन राष्ट्रिय निकुञ्जमा खाल्डो खनेर मारिएको गैँडा र बिहीबार सार्वजनिक तस्करहरू ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच