लुम्बिनी एक्स्पो–२०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने, व्यापार चलायमान हुने अपेक्षा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

रुपन्देही । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ देखि १८ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो–२०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलाबाट आर्थिक मन्दी र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा लिएको छ ।

संघले देशको अर्थतन्त्र, व्यापार व्यवसाय विना चलायमान हुन नसकेको अवस्थामा थला परेको अर्थतन्त्रलाई चलायमान गराउने एउटा प्रयास भएको बताउदै समग्रमा प्रदर्शनी, मेलाका स्वरुप र लक्ष्य एकै प्रकारका हुने गरेको भएपनि एक्स्पोलाई फरक शैली र सहभागिताका आधारमा भिन्न बनाउने प्रयासमा रहेको जनाएको छ ।

एक्स्पो तयारीका बारेमा जानकारी दिनका लागि बुटबलम प्रर्दशनी स्थल बुटवल मण्डपमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं एक्सपो मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले सो जनाकारी गराउनुभयो । सम्मेलनमा अध्यक्ष घिमिरेले संघले आयोजना गर्ने एक्स्पोलाई संस्थागत हितमा मात्र सीमित नराख्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

पत्रकार सम्मेलनमा बुटवलमा आयोजना हुने मेला, महोत्सव तथा एक्स्पोमा देशभरका उपभोक्ता, दर्शक, आम व्यवसायीहरुको चासो हुने उल्लेख गर्दै आयोजनाको स्तर घट्न दिनु हुदैन भन्ने कुरामा सचेत रहेको उहाँले बताउनुभयो ।

संघले यस पटक आयोजना गर्ने एक्स्पो स्थायी प्रदर्शनी स्थलमा बन्दै गरेको आधुनिक प्रर्दशनी केन्द्रमा फरक शैलीमा गर्न गइरहेको प्रेस विज्ञप्तिमा भनिएको छ । संघले आफ्नो क्षमताले भ्याएसम्म राम्रो र नयाँ बनाउने प्रयास गरेको जनाउदै यस पटकको एक्स्पोमा ५०० बढि स्टल सहभागिता गराउने, १० लाख बढि दर्शकले अवलोकन तथा करिब ५० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा राखेको छ ।एक्स्पोमा अन्तर्राष्ट्रिय स्टलहरुमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिताका लागि आमन्त्रण गरिएको जनाइएको छ ।

संघका अध्यक्ष घिमिरेले व्यावसायिक विविधताको समागम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक, शैक्षिक तथा यातायातको शहर बुटवलमा आयोजना गर्न लागिएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा समेत महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । एक्स्पोका क्रममा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गरिने उहाँको भनाई छ ।

अध्यक्ष घिमिरेले एक्स्पो सम्पन्न गर्नका सञ्चार जगतको सहयोग एवं सल्लाह सुझाव विना अधुरो अपुरो हुने बताउँदै सञ्चार जगतबाट निरन्तर सुझावसहितको सहयोगको आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्दै एक्स्पोको सफलतामा सञ्चारजगतको भूमिकालाई नजरअन्दाज नगर्न आग्रह गर्नुभयो ।

उहाँले मिडियाको सहयोग बिना आयोजना सफल हुन नसक्ने हँुदा सञ्चारकर्मीहरुलाई सम्मान र पुरस्कृतको प्रवन्ध गर्न सुझाव पनि दिनुभयो । लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटवलमा व्यापारलाई आधुनिकीकरण, विशिष्टिकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरुको हकहितको संरक्षणका लागि सक्षम, सुदृढ, प्रतिस्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ वि.सं.२०५७ सालमा स्थापित संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नारामा यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो ।

एक्स्पोको समुद्घाटन अगाडी बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने तथा व्यवसायिक संघसंस्थाहरुका सहभागितामा झाँकीसहित जनचेतनामूलक र्‍याली निकाल्नुका साथै मेला अवधिमा मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम अन्तरगत लोक दोहोरी, डान्स आइडियल, लोक नृत्य, विद्यालय स्तरिय नृत्य लगायत प्रतियोगिता एवं चर्चित कलाकारहरुको प्रस्तुती समावेश गरिने जनाइएको छ ।

एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, हस्तकलाका उत्पादन, फर्निचर तथा फर्निसिङ्गका सामाग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेण्ट लगायतका स्टल रहने छन् । एक्स्पोको तयारीका लागि कात्र्तिकको तेश्रो सातादेखि संघको सचिवालय मेला स्थल बुटवल मण्डपमा स्थापना गरि एक्स्पोका आवश्यकीय कार्यहरु जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरु गर्दै आएका छ ।

रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको एक्स्पोमा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, र बुटवल उपमहानगरपालिका, बुटवल रहेका छन् ।

एक्स्पोलाई सफल बनाउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति निमार्ण गरिएको छ भने विभिन्न विषयक ४५ वटा उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलन मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सचालन तथा संघका सचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक फर्सुराम पन्तको स्वागतमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?