कुनै समय असत्य कुरा पनि पत्रिकामा छापिएपछि पाठकलाई सत्य लाग्थे, कुनै-कुनै त अदालतमा समेत दलिल पेश हुने गर्थे । तर, आज पत्रिकामा छापिएका सत्य समाचार पनि बहुसंख्यक पाठकलाई किन असत्यझैं लागिरहेका छन् ? त्यसको कारण के होला ? खोतलेर हेरौं त ? आखिर सत्य झुट अनि असत्य चाहिँ सत्य किन भइरहेको छ ? पाठकहरूमा किन यति विघ्न अपत्यारिलो हुँदै गएका छन् देशका मूलधारका भनिने सञ्चारगृह ?
एक दिन घट्टेकुलोको एउटा चिया पसलमा मानिसहरू गफिँदै भन्दै थिए, ‘यो देश बिगार्नेमा पहिलो नेता, दोस्रो कर्मचारी, तेस्रो पुलिस र चौथोमा पत्रकार हुन् ।’ पेशाले आफू पनि पत्रकार भएकाले अलि पछिल्तिरको कुर्सीमा बसेर अन्यत्र ध्यान दिएजसरी उनीहरूका गफमा चासो दिन थालेँ । उनीहरू त्यतिमा रोकिएनन् तीमध्येको एउटाले भन्यो, नेता त नेता भइहाले अझ पत्रकारहरू पहिलेका पुलिसभन्दा हरामी भएर निस्किए । नेतासँग पनि धुतेकै छन्, कर्मचारी, व्यापारी अझ पुलिससँग पनि धुत्न पछि पर्दैनन् । पुलिसलाई समेत थर्काई-थर्काई असुल्दा रहेछन् ।’ त्यतिकैमा अर्काले थप्यो, ‘झन् यी युट्युबे पैसाकै लागि हरेक फन्दाको भिडियो खिच्छन् ।’
स्वतन्त्र पत्रकारिताका लागि व्यावसायिक पत्रकारितालाई पनि सँगै लैजानु आवश्यक छ । कुनै पनि सञ्चारगृह व्यावसायिक÷नाफामूलक भएन भने त्यहाँ स्वतन्त्र पत्रकारिता सम्भव छैन । आर्थिक अभाव, व्यावसायिक दक्षताको कमीले पनि स्वतन्त्र पत्रकारिता हुन नसकेको हुन सक्दछ ।
उनीहरूले यसो भनिरहँदा आफूलाई भित्रभित्र धक लागिरहेको थियो । तीनजना गफाडीमध्ये एउटाले चियाको कप टेबलमा राख्दै भन्यो, ‘होइन सबै पत्रकार त्यस्ता होइनन् होला नि !’ अर्काले थप्यो, ‘अधिकांश त्यस्ता छन् ।’ उसले थपेको ‘अधिकांश’ले आफैंले आफैंलाई त्यस अधिकांश बाहिरको ठानेँ । त्यस दिनपछि म आफैं उनीहरूको विषयमा थोरबहुत अध्ययनमा लागेँ ।
झट्ट सुन्दा सामान्य लागे पनि उनीहरूले व्यक्त गरेको विचारले दुई-चार दिनसम्म मलाई सोचमग्न बनायो । के साँच्चै उनीहरूले भनेझैँ देश बिगार्नेमा नेतादेखि पत्रकारसम्म हुन् त ? आफैंले आफूलाई गम्दै गएँ, आखिर प्रजातन्त्र, लोकतन्त्र हुँदै आज गणतन्त्र स्थापना भएको पनि दुई दशक बितिसक्दा किन देशमा जनअपेक्षाकृत विकास हुन सकेन ? बहुसंख्यक नागरिकमा सामान्यभन्दा सामान्य जीविकोपार्जन हुन पनि धौधौ छ । आज हजारौं जनता रोजीरोटीका लागि विदेशिन बाध्य छन् । हजारौंको संख्यामा युवाहरू कामको खोजीमा दैनिक विदेश जान बाध्य छन् ? किन युवा स्वदेशमा भविष्य देख्दैनन् ? प्रत्येक दिन विमानस्थल विदेश जाने नवयुवाको जमातले भरिन्छ ।
ओठ निचर्दा दूध झर्लाजस्ता लाउँलाउँ खाउँखाउँ गर्नुपर्ने उमेर नवतन्नेरी पैसा कमाउनकै लागि विदेशिनुपर्ने बाध्यतामा छन् । आज दुई छाक भातका लागि माओवादीका पूर्वलडाकु रुसी युद्धमा होमिनुपरेको छ त्यो पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा । प्रधानमन्त्रीकै नातिनातिनाले राजसी ठाँटमा बिहे गर्न सक्दा उनलाई त्यहाँ पुर्याउने सर्वहारा गरिब दुःखी नेपाली जनताको स्तर जहाँको त्यहीँ हुनुमा कसको कमजोरी होला ? राज्यसत्ताको कि उनै निमुखा जनताको जसले पटक-पटक भोट दिएर उनीहरूलाई सत्तामा पुर्याए । यहाँ एउटा अहिलेको प्रधानमन्त्रीको मात्र दोष होइन । अधिकांश दल र तिनका अधिकांश नेता उदाहरण बन्न सक्छन् ।
चिया गफमा गफिएकाहरूले भनेझैँ देशकै चौथो अंग मानिएको पत्रकारजगत पनि के साँच्चै चोखो छ त ? पक्कै छैन । यहाँ पनि केही सीमित मालिक मोटाउने र श्रमजीवी पत्रकारको अवस्था दयनीय नै छ । पुराना कति पत्रकार त रोजिरोटीको जोहोका लागि विदेश पलायन भएका कयौं घटना छन् । साँच्चै मिडियाकर्मीमा पहिलेको भन्दा फरक प्रकारको चालचलन, व्यवहार र केही पत्रकारमा देखिएको हाइँफाइँले सबैभन्दा बिग्रिएको जगत नै पत्रकार जगत छ भन्दा फरक नपर्ला ।
आज एल्ड्रोइड मोवाइल बोक्ने अधिकांश आफूलाई पत्रकार ठान्छन् । जहाँ जे देख्यो, आफूले जे सुन्यो त्यही सामाजिक सञ्जालबाट पोस्ट्याइदिने । अनि सामाजिक सञ्जाल हेरेर शहरदेखि दूरदरारका गाउँगाउँमा मानिस त्यसैलाई समाचार भनेर पत्याइदिने, धारणा बनाउनाले पनि नेपाली समाज विकृति विसंगतितिर जाँदै गरेको नकार्न सकिँदैन । यहाँ शीर्षक हेरेर धारणा बनाउने पाठक र कन्टेन्टभन्दा शीर्षक खोज्ने पत्रकार दुबै समस्याका जड हुन् ।
स्वतन्त्र पत्रकारिताको अभ्यास हुन नसक्नुमा राज्यदेखि पत्रकारिता गर्ने पत्रकार पनि त्यत्तिकै जिम्मेवार छन् । पत्रकारिताका नाममा व्यावसाय गर्ने र पार्टीकारिता गर्नेहरूका कारण समग्र पत्रकारिता अविश्वसनीय बन्दै गएको छ । पत्रकारिताको खोल ओढेर पार्टीकारितादेखि पीत पत्रकारिता गर्ने कार्यलाई राज्यले निरुत्साहित गर्न सक्नुपर्दछ ।
हिजोका हरेक परिवर्तनका बाहककै रूपमा पहिचान बनाएका मिडिया जगत् आज दिनानुदिन अपत्यारिला, अविश्वासनीय हुँदै जानुमा मिडिया मालिक, सम्पादक वा पत्रकार कसको बढी हात होला ?-२००७ साल, २०१७ साल, २०४६ हुँदै २०६२-०६३ का परिवर्तनको संवाहककै परिचय बनाएको पत्रकारिता अनि केही पत्रकार आज दलको झोले, मुखपत्र, माफिया र गलत व्यापारीका खल्ती पत्रकार जस्ता कुराले बद्नाम हुन पुग्दैछन् । अनलाइन र टिभीभन्दा आज छापा तथा मेन इस्ट्रिमका मिडिया भनाउँदाले हिजोको त्यस स्वतन्त्र पत्रकारिताको जग खल्बल्याइदिएको आरोप लाग्ने गरेको छ ।
नेपालको संविधानले धारा १७ (२) (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानको धारा १९ ले आमसञ्चारकोे हकको प्रत्याभूति दिएको छ । साथै धारा १९ मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायत जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध नलगाइने कुरा उल्लेख छ । तर, व्यक्तिगत फाइदाका लागि केही सञ्चारगृहका मालिक र सम्पादकहरूले समाचार संकलकको भावना र घटनाको यथार्थताविपरीत समाचार मेटिएका कैयौं घटना बाहिरिएका छन् ।
कारण, अहिलेका मेन इस्ट्रिम भनिएका अधिकांश सञ्चारगृह कुनै न कुनै दल, नेता, ठूला विज्ञापनदाता र ठूला घरानाको प्रभावमा छन् । जसले पत्रकारिताकै बद्नाम गरेका र अविश्वसनीयता बढाएका छन् । स्वतन्त्र पत्रकारिताका लागि व्यावसायिक पत्रकारितालाई पनि सँगै लैजानु आवश्यक छ । कुनै पनि सञ्चारगृह व्यावसायिक/नाफामूलक भएन भने त्यहाँ स्वतन्त्र पत्रकारिता सम्भव छैन । आर्थिक अभाव, व्यावसायिक दक्षताको कमीले पनि स्वतन्त्र पत्रकारिता हुन नसकेको हुन सक्दछ । सूचनाको हकअन्तर्गत सञ्चारका जुनसुकै माध्यमबाट कुनै पनि प्रकारका समाचार, सम्पादकीय, लेख, रचना प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नुपूर्व प्रतिबन्ध नलगाउने प्रष्ट व्यवस्था छ । तर, अहिलेको परिप्रेक्षमा स्वतन्त्रपूर्वक कुनै पनि सञ्चार र पत्रकारले त्यस व्यवस्थाको उपयोग गर्ने वातावरण बन्न सकेको छैन ।
पत्रकारिता पेशा हो, त्यही पेशाभित्र रहेर पत्रकारले कुनै सञ्चारमाध्यममा आबद्ध भएर समाचार संकलन गरेर सम्प्रेषण गर्नु दायित्व हो । तर, पछिल्लो समय कुनै दल, नेता अनि माफियाको खल्तीको पत्रकार झैँ गरेर केही व्यक्तिले समाचार सम्प्रेषण गरेको देख्दा उदेक लाग्छ । भनिन्छ, पत्रकार भनेको त्यो व्यक्ति हो जसले पत्रकारिताका शाश्वत मूल्य मान्यतालाई औपचारिक वा अनौपचारिक रूपमा पढेको वा बुझेको छ । पत्रकारिताका विभिन्न नीतिनियम अवलम्बन गरेको हुन्छ । आज त्यो मान्यता केवल मान्यतामा सीमित हुँदै गएको छ । आजकाल यहाँ मोटो रकमका लागि समाचार लुकाउनेदेखि कृत्रिम समाचार बनाउनेहरू हावी हुँदै गएका छन् ।
प्रेस स्वतन्त्रता भनेकोे कुनै समाचार वा विषयवस्तु स्वतन्त्रतापूर्वक लेख्न, प्रकाशित गर्न÷गराउन पाउनु हो । स्वतन्त्र भएर कुनै विधामा कसैको रोकटोकविना पत्रकारले आफ्नो कलम चलाउन पाउनु नै प्रेस स्वतन्त्रता हो । तर, यहाँ आज मिडिया मालिक तथा सम्पादकको चाहनाबमोजिम पत्रकारको कलमको निभ भाँचिन्छ वा उनीहरूको चाहनामुताबिक कन्टेन्ट लेख्न बाध्य पारिन्छ ।
स्वतन्त्र पत्रकारिताको अभ्यास हुन नसक्नुमा राज्यदेखि पत्रकारिता गर्ने पत्रकार पनि त्यत्तिकै जिम्मेवार छन् । पत्रकारिताका नाममा व्यावसाय गर्ने र पार्टीकारिता गर्नेहरूका कारण समग्र पत्रकारिता अविश्वसनीय बन्दै गएको छ । पत्रकारिताको खोल ओढेर पार्टीकारितादेखि पीत पत्रकारिता गर्ने कार्यलाई राज्यले निरुत्साहित गर्न सक्नुपर्दछ । जबसम्म एउटा पत्रकारको स्वतन्त्रपूर्वक कलम चल्दैन तबसम्म देशमा सुशासनको परिकल्पना नगरे हुन्छ । साथै एउटा पत्रकार समाचार लेखेरै आफ्नो र परिवारको जीवनयापन गर्नसक्ने वातावरण नबनेसम्म स्वतन्त्र पत्रकारिकताको सपना केवल सपनामा सीमित हुन्छ । देशमा सुशासन अमनचयन र भ्रष्टाचारविहीन समाजका लागि स्वतन्त्र पत्रकारितालाई व्यावसायिक बनाउनु उत्तिकै महत्वपूर्ण हुन्छ । (लेखक ढुंगेल हिटा अनलाइन संस्करणका डेक्स सम्पादक हुनुहुन्छ ।)
यथार्थ चित्रण