हामी साधन-स्रोतमा यसै पछि छौं, पछि पर्नु यहीमात्र होइन, यसका एक होइन अनेकौं कारण छन् । जसमा भ्रष्टाचार र ढिलासुस्ती मूलकारण बनेर आएका छन् । सम्पूर्ण क्षेत्रको पहिलो लक्ष भनेको आफूले नियमसंगत ढंगले पाउने मासिक सेवासुविधाभन्दा अतिरिक्त आयआर्जन कसरी हुन्छ त्यसतर्फ रहेको हुन्छ । कर्मचारीहरूको लक्ष कर, भन्सार, यातायात, मालपोतलगायत ठाउँ बनिरहेका हुन्छन् । भ्रष्टाचार रोक्न सिसी क्यामेरा जडान गरिएका हुन्छन् तर भ्रष्टाचार गर्नेले त्यसलाई छल्न जानेका हुन्छन् । कि लेनदेन बाहिरफेर गर्ने गरिन्छ कि क्यामराले नभेट्ने ठाउँमा हुने गर्छ ।
यति गर्न नमिल्ने हो भने बत्ती बन्द गरेर क्यामरालाई निष्क्रिय पारिन्छ वा सदर गर्नुपर्ने फाइलभित्रै नगद रकम राखेर स्वीकृत गर्न दिइन्छ । कर्मचारीले सतर्कतापूर्वक टेबिलमुनिबाट त्यसलाई आफ्नो घर्रामा राख्ने गर्छन् । परापूर्वकालदेखिको कृत्य हालसम्म आइपुग्दा घटेको छैन, बरू अनेकौं स्वरूप विकसित हुँदै अझै बढेर गएका छन् । कर्मचारी प्रशासनमात्र होइन अन्य पक्ष पनि भ्रष्ट छन् । कर्मचारी प्रशासनलाई यस्ता भ्रष्टाचारजन्य कार्य प्रोत्साहन गर्ने राजनीति क्षेत्र हो । यिनको अन्तरसम्बन्धविना भ्रष्टाचार हुनसक्दैन । राजनीतिले कर्मचारीलाई निरुत्साहित गर्ने हो भने कर्मचारी प्रशासन क्षेत्र भ्रष्टाचारमा स्वतःनिस्तेज बन्दै जान्छ ।
सानातिना काम मिलाइदिएर सानोतिनो घुस खानेजस्ता काम कर्मचारीबाट हुन्छन् तर राजनीतिज्ञहरूबाट हुने भ्रष्टाचार र अनियमितता ठूलो परिमाणका हुने गर्छन् । ठूलठूला योजना-परियोजना, ठेक्कापट्टाबाट राजनीतिज्ञले अनियमितता गर्ने गर्छन् । यही कारण दिनहुँजसो भ्रष्टाचार तथा अनियमितताका समाचार आइरहेका छन् । अनियमिता हुँदा एकातिर कुनै योजनाका लागि आएको वा छुट्याइएको रकम योजनामा खर्च हुन पाउँदैन । प्राविधिकले तयार पारेको लागत स्टमेटबाट रकम चुँडेर भागबण्डा गर्नुपर्ने भएकाले वास्तविक रूपमा त्यस योजनामा लाग्ने लागत बढ्न जान्छ र पुनः रकमान्तर गरेर अर्कातिरको रकम त्यसमा हाल्नुपर्ने बाध्यता आइपर्छ । यसबाट पर्ने दुष्प्रभाव भनेको आवश्यकताभन्दा कम रकमले त्यो योजना पूरा गराउनुपर्ने हुन्छ ।
कामको गुणस्तर घटाउनुपर्ने बाध्यता आइपर्छ । लाग्ने जति रकम खर्च गर्न नपाउँदा योजनालाई पूरा गर्न कमसल निर्माण साम्रगी प्रयोग गर्नुपर्छ र लामो समयसम्म टिक्ने निर्माण योजना छोटो समयमै बिग्रन्छ र पुनः त्यसको निर्माण वा मर्मत गर्नुपर्ने हुन्छ । जसले गर्दा सो योजनाका लागि बीचैमा रकम थप गर्नुपर्ने हुन्छ । सो रूपमा भइरहने भ्रष्टाचारले देश कंगाल बन्दै गइरहेको छ तर सत्तासीन व्यक्तिको जीवनस्तर भने दिनप्रतिदिन उच्च बन्दै गइरहेको छ । यो हाम्रो नियति बन्दै आएको छ । प्रजातन्त्रपछिका भ्रष्टाचारका ठूला खालका प्रकरणमात्र उल्लेख गर्ने हो भनेमात्र पनि तिनको निकै लामो फेहरिस्त तयार हुनसक्छ ।
राजनीति गर्नेहरूले आपूmले गर्ने कामलाई समाजसेवीका रूपमा मानेर त्यही प्रकारको आचरण विकास गर्ने हो भने यस्तो अवस्था हुने थिएन । यस्ता आचरण निरुत्साहित हुने हो भने सुधार हुने आशा र अपेक्षा गर्न नसकिने होइन । तर, दिनप्रतिदिन पत्रपत्रिकाका पृष्ठ भ्रष्टाचार र अनियमिताजन्य समाचारले ढाकिएका हुन्छन् । ढिलासुस्ती त कतै काम गरेको जस्तोमात्रै देखाइएको सन्दर्भ । खोलो नभएको ठाउँमा पुल बनाइएको, बाटो नबनाई पुल बनाइएको, सानो बाख्राको खोरजत्रा दुई-तीन कोठा बनाएर ठूला कार्यालय भवन बनाएको भनेर भ्रष्टाचार गरेको जस्ता अनेकौं समाचार आइरहन्छन् । साहित्य संस्कृति कलाको विकासका लागि प्रत्येक पालिकामा मात्र होइन वडा वडामा समेत बजेट छुट्याइएको हुन्छ तर त्यस्ता कुनै काम नगरी कागजी काम मिलाएर बजेट सक्ने काम गरिन्छ ।
टेरामक्स खरिद प्रक्रियामा भएको भ्रष्टाचार यसैको अन्तिम शृंखला हो । यस्ता प्रकरण आइरहेका हुन्छन् र पानीको फोकाजसरी हराउँदै गइरहेका हुन्छन् । पानीमा फोका उठ्छ र तुरुन्तै फुटिहाल्छ । नेपालको भ्रष्टाचार पनि त्यससँगै तुलना गर्न सकिने खालका छन् भइरहने र हराइरहने । यस्ता कुनै प्रकरणका दोषीलाई कडा सजाय दिन सक्ने हो भने ती विस्तारै निरुत्साहित बन्दै जानेथिए र फेरि दोहोरिने थिएनन् । यस्ता अधिकांश प्रकरणमा मिलिभगत हुने गरेकाले प्रोत्साहित बनिरहेका हुन्छन् । यो नै हाम्रो अग्रगमनको ठूला बाधक हो । यो निरुत्साहित हुनै पदर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच