सवारी दुर्घटनाको खबर नआएको दिन हुँदैन । साँघुरो र जीर्ण सडक तथा चालकको लापरबहीले दुर्घटना न्यूनीकरण हुनसकेको छैन । दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास हुन्छन् तर दुर्घटनामा नागरिकले अनाहकमा मृत्युवरण गरिरहनुपर्ने अवस्था यथावत् छ । दैनिक हुने साना दुर्घटनामा त कसैको ध्यान जाँदैन तर जब ठूलो दुर्घटना हुन्छ तबमात्र राज्यसंयन्त्रले छानविन समिति बनाउनेदेखि राहतका कुरा उठाउँछ । पीडामा परेकाबाहेक केही दिनमै सबैले यी कुरा बिर्सछन् । पीडक पीडामै हुन्छन्, दुर्घटना गराउने सहजै उम्कन्छन् । यही नियतिले पछिल्लो समय सडक दुर्घटनाका समाचार सुनिँदै आइएको छ ।
सवारी दुर्घटनाबाट वर्षेनी ठूलो संख्यामा नागरिकले जीवन गुमाउनुपर्दा सरकारले गम्भीरतापूर्वक लिनसकेको छैन । अनाहकमा जीवन गुमाएका या अंगभंग भएर बाँच्नुपरेका नागरिकहरूको संख्या सरकारका लागि चिन्ताको विषय नभएर केबल तथ्यांक हो भन्दा फरक पर्दैन । दुर्घटना रोकेर रोकिने होइन् तर सावधानी अपाउन सके धेरैभन्दा धेरै कम गर्न सकिन्छ भन्ने हो ।
शुक्रबार र शनिबार भएका दुई ठूला दुर्घटनामा १७ जनाले ज्यान गुमाए । कयौं घाइते भए । दुर्घटनामा परी मृत्यु हुनेमा विशिष्ट व्यक्तित्वसमेत परेका छन् । जसले विभिन्न माध्यमबाट राज्यलाई योगदान दिइरहेका थिए । मकवानपुरको चन्द्रागिरिमा भएको दुर्घटनाको पाटो फरक होला तर दाङमा भएको बस दुर्घटनाको फरक छ । त्यसमा चालकको लापरबाही प्रष्ट देखिन्छ । दाङ दुर्घटना सिधा पुलमा भएको छ, गाडी पुलबाट खोलामा खसेको छ । बस दुर्घटनामा यान्त्रिक कारण कमै हुन्छ । जमिनमा गुडेर बस सञ्चालन गर्नुपर्ने भएकाले यान्त्रिक गडबडी हुनासाथ बस त्यस ठाउँमै रोकिने अगाडि नबढ्ने अथवा केही गड्बडी हुनासाथ जहाँको त्यहीँ बस रोक्न सकिने हुन्छ तर हवाईजहाज जस्तो आपत्कालीन अवस्था आइपर्दैन । ब्रेक फेल हुने, गेयर नसर्ने जस्ता केही समस्याबाट बस दुर्घटना हुनसक्छन् थोरै संख्यामा ।
बस मौसमी कारणले पनि हवाईजहाज जस्तो एकाएक दुर्घटनामा पर्दैन । बादल लागेर बाटो नदेखेर, आँधीहुरी आएर, चट्याङ परेर जसरी हवाईजहाजलाई असहज अवस्था सिर्जना हुन्छ । सो तुलनामा बसलाई कम अप्ठ्यारो पर्छ । पहिरो वा बाढीमा परेर चाहिँ बस दुर्घटनामा पर्न सक्छ । हवाईजहाजलाई बाढी र पहिरोको मार भने पर्दैन । यसरी हेर्दा यातायातका साधनमा त्यसको प्रकृति वा स्थल, आकाश र जल यात्राका साधनमा भिन्न–भिन्न प्रकारको प्रभाव पर्ने गर्दछ । दाङ दुर्घटना यस्तैमध्ये एक हो तर मानवीय कारण नै बढी जिम्मेवार छ भन्ने अनुमान गरिएको छ । यस दुर्घटनामा चालक सकुशल भएकाले उनीबाट धेरै कुरा थाहा हुनसक्छ । चेकजाँचमा नरोकेको, तीव्र गतिमा दौडाएको, दुर्घटना चालकको यान्त्रिक खराबी हो भनेकाले छानबिन गर्नुपर्ने हुन्छ । बसको ब्रेक नलागेको हुनसक्छ । त्यसमा सत्यता छ कि छैन भन्ने कुरा छानबिन गर्नाले थाहा भइहाल्छ ।
दुर्घटना हुनुको चार कारण छन् । सबैभन्दा प्रमुख कारण त मानवीय नै हो । दोस्रो यान्त्रिक, तेस्रोमा सडक र चौथोमा वातावरणीय छन् । मानवीय कारण भनेको सवारी चलाउँदा लापरबाही, मोवाइल फोनको प्रयोग, भौगोलिक अवस्था, चालकको अदक्षता, मादकपदार्थ सेवनलगायतबाट दुर्घटना हुन्छ । यान्त्रिक कारणबाट पनि सवारी दुर्घटना हुनेगरेको छ । सवारीसाधन पुरानो हुँदा, टायर पञ्चट, बे्रक फेललगायतबाट दुर्घटना हुने गरेको छ । सडकको अवस्थाले पनि दुर्घटना भइरहेका छन् । हाल सडक संरचना भनेको दुई लेनमात्रै हो । दुईवटा गाडी कुनै-कुनै ठाउँमा राम्रोसँग ओहोर–दोहोर गर्न नसक्ने सडकमा पैदलयात्री, पशुचौपायासमेत हिँड्ने गरेका छन् । दुर्घटनाका संभावित पाटा जति केलायो बढ्दै जान्छ । चालक आफैं जिम्मेवार हुनैपर्छ र राज्यसंयन्त्रले त्यसमा निगरानी राख्नैपर्छ ।
सडक दुर्घटनाको यो विकराल अवस्थाले सरकारमा बसेकालाई खासै छोएको देखिँदैन । विमान दुर्घटनाकै तहमा यस्ता दुर्घटना राष्ट्रिय-अन्तर्राष्ट्रिय ‘समाचार मसला’ पक्कै नबन्लान्, यसबारे त्यही स्तरमा बृहत् प्राविधिक जाँचबुझ आवश्यक नपर्ला तर मानवीय क्षति त जुन दुर्घटनाको पनि उही हो । विमानको यात्रु होस् या सडक सवारीको, जीवनको मूल्य त उत्ति हो । जिम्मेवार तहमा बस्नेहरूमा यो संवेदना हुनैपर्छ, सडक दुर्घटनामा भइरहेका कहालीलाग्दा दुःखान्तहरूले सम्बन्धित परिवारलाई मात्र होइन, शासकहरूलाई पनि दुख्नुपर्छ । सडक सुरक्षाको सवाल कुनै ठूलो दुर्घटना भएपछि सामान्य चर्चाको विषय बन्ने र पछि त्यसै सेलाउने हुनु हुँदैन । यसबारे व्यवस्थित कार्ययोजना बनाएर त्यसको यथोचित कार्यान्वयन गर्न सरकारले अब ढिलाइ गर्नु हुन्न । यो विषय सरकारको दैनन्दिनको प्राथमिक कार्यसूचीमै पर्नुपर्छ ।
सवारी अनुगमनका लागि निरीक्षकको व्यवस्था गरिने कानुनी व्यवस्था पनि सरकार स्वयंले लागू गरेको छैन । सीमित ट्राफिक प्रहरीलाई शहरमै सवारी व्यवस्थापन गर्न हम्मे छ । त्यसैले सडक सुरक्षा तथा अनुशासनसित जोडिएका सबै पक्षको सुधार गरेर सरकारले दुर्घटना न्यूनीकरण गर्न सार्थक पाइला चाल्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच