साहित्यमा पदम दाहाल भनेर चिनिनुहुने पदमप्रसाद दाहाल हालका दिनमा काठमाडौंमा रहेर विभिन्न साहित्यिक अभियानहरूमा सक्रिय भइरहनुभएको छ । उहाँको साहित्यिक सक्रियता लोभलाग्दो छ । यसरी रातदिन साहित्यमा सक्रिय रहँदै आउनुभएका दाहालको जन्म विसं २०११ साल कात्तिक १८ गते हालको प्रदेश नं.१ अर्थात् कोशी प्रदेशको सङ्खुवासभा जिल्लामा पर्ने मादी नगरपालिका वडा नं.६ पाटीगाउँमा भएको हो । उहाँका पितामाता विष्णुलाल दाहाल र रमादेवी दाहाल हुनुभए तापनि उहाँको जन्म भएको पाँच दिनमै उहाँकी आमा रमादेवीको निधन भएका कारण उहाँको पालनपोषण उहाँका अन्तरे काकाकाकी हरिनारायण दाहाल तथा रत्नकुमारी दाहालबाट आमाबुबा शरह नै उहाँको शैशवकालदेखिको जीवन उद्धार गर्ने, भरणपोषण र पालनपोषण गर्ने गरेकाले उहाँहरूलाई पालक पितामाता भन्न उहाँ अत्यन्त रुचाउनुहुन्छ ।
त्यसैले उहाँ काकाकाकीलाई नै पालकमातापिता मान्दै आउनुभएको छ । पदम दाहालले उहाँहरूलाई नै आफ्ना मातापिता मान्नुभएको छ । उहाँभन्दा पहिले पदमका भवानीप्रसाद दाहाल र ईश्वरीप्रसाद दाहाल दुईजना दाजुहरू हुनुभएको थियो तर ईश्वरीप्रसाद दाहालसम्म बेपत्ता हुनुहुन्छ । उहाँका मातापिताका ११ जना सन्तानहरूमा बाँकी आठजना उहाँका दिदीहरू हुनुहुन्छ । दाहालको २१ वर्षको उमेरमा २०३२ सालमा धनकुटा तेलियाका भवानीप्रसाद गुरागाईं तथा दिलमाया गुरागाईंका ६ जना सन्तानमध्येकी जेठी छोरी बालकुमारी गुरागाईंका साथ शुभविवाह सुसम्पन्न भएको थियो । बालकुमारीका तीनजना बहिनी र दुईजना भाइ हुनुहुन्छ ।
नेपालका ५० वटा जति जिल्ला र भारतका केही ठाउँहरूको भ्रमण गर्नुभएका दाहालका कुशल दाहाल र प्राञ्जल दाहाल दुई छोरा हुनुहुन्छ भने छोरी अनिता दाहाल हुनुहुन्छ । छोरी अनिता दाहालको विवाह भोजपुरनिवासी रमेशप्रसाद न्यौपाने (जलविद्युत्विद्)का साथ भएको हो भने छोरा कुशलको व्यञ्जना रेग्मीसँग र प्राञ्जलको निरु पन्थीसँग विवाह भएको छ । कुशल र व्यञ्जनाका एक छोरा कुञ्जल तथा प्राञ्जल र निरुकी एकजना छोरी प्रनिका छन् ।
सङ्खुवासभाको मादी दाहालहरूको सबैभन्दा ठूलो बस्ती मानिन्छ । राणा, कुवँर, लम्साल, रूपाखेतीहरू पनि वत्सगोत्रीय नै हुन् । हाल पहाडबाट मधेस बसाइँ सरेर बस्ने क्रममा मधेसका विभिन्न जिल्लामा दाहालहरू बाक्लै रूपमा बसोवास गरिरहेका छन् ।
पदम दाहालले सङ्खुवासभाको मादी हाइस्कुलबाट प्राथमिकदेखि माध्यमिक तहसम्मको अध्ययन पूरा गर्नुभयो । १६ वर्षको उमेरमा २०२७ सालमा उक्त हाइस्कुलबाट उहाँले एसएलसी पूरा गर्नुभयो । उहाँले प्रमाणपत्र तह अर्थात् आइए महेन्द्र कलेज धरानबाट २०२९ सालमा र स्नातक तह (बिए) त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राइभेट परीक्षर्थीका रूपमा बाट पूरा गर्नुभयो । पढाइमा तेज दाहालले अध्ययनलाई विश्राम दिने कुरै थिएन । उहाँले आफ्नो योग्यतालाई क्रमशः उचाइतिर लगिरहनुभयो । यसै क्रममा उहाँले शिक्षाशास्त्र अध्ययन संस्थान कीर्तिपुर काठमाडौंबाट २०३५/०३६ सालमा बिएड गर्नुभयो । त्यो नेपालको रजनीतिक इतिहासमा एउटा संवेदनशील समय थियो । विद्यार्थी आन्दोलनको हालसम्मकै संवेदनशील अवस्था हो त्यो । यस समयको विद्यार्थी जीवनमा उहाँ तत्कालीन व्यवस्थाका विरुद्धमा क्रियाशील रहनुभयो ।
त्यही बेला उहाँले शिक्षाशास्त्रबाट स्नातक गर्नुभयो । यसै गरी उहाँले २०४७ सालमा प्राइभेट परीक्षार्थीका रूपमा राजनीतिशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाटै स्नातकोत्तर तह पूरा गर्नुभयो । विसं २०३० सालबाटै उहाँ सेवा प्रवेश गरिसक्नुभएको थियो । यसरी यी विभिन्न औपचारिक योग्यताका सिँढी उक्लने अवधिमा पनि उहाँ सेवामै हुनुहुन्थ्यो । माथि नै भनियो उहाँ पढाइमा तेजिला हुनुहुन्थ्यो । त्यसैले उहाँलाई अध्ययनबाट विश्राम लिन मनै लागेन । उहाँले २०७१ सालमा सेवा निवृत्त भएर पनि जीवनमा ६३ वर्षको उमेरमा सानोठिमी क्याम्पस भक्तपुरबाट नेपालीमा स्नातकोत्तर पूरा गर्नुभयो । कुनै बढुवा, पुरस्कार, मान, सम्मान र अभिनन्दनका लागि आवश्यक परेर होइन, बाध्यात्मक स्थिति नहुँदानहुँदै उहाँले नेपाली भाषा, साहित्यप्रतिको रुचि, सम्मान र आफ्नो योग्यताको दायरा फराकिलो बनाउनकै लागि नेपालीमा स्नातकोत्तर गर्नुभएको हो ।
उहाँका हालका दिन नेपाली भाषा, साहित्यको खोज, अनुसन्धान र अध्ययनमै बित्नेगरेका छन् । राजधानी बाहिरबाट सेवानिवृत्त भएपछि राजधानीमा बसेर उहाँले सक्रियतापूर्वक गरेको नेपाली भाषा र साहित्यको सेवा यहीँ रहेर वर्षौंदेखि यही क्षेत्रमा सक्रिय हुनेहरूको भन्दा कम छैन । नेपाली, हिन्दी, अंग्रेजी भाषामा भाव सम्प्रेषण गर्नसक्ने सामथ्र्य राख्नुहुने दाहालले २०३० सालदेखि २०७१ साल कात्तिक १७ गतेसम्म अध्यापन गर्नुभयो । ४१ वर्षको अवधिमध्ये उहाँ २० वर्ष सङ्खुवासभाको मादी माविमा प्रधानाध्यापक पदमा रही दीर्घसेवीका रूपमा कार्यरत रहनुभयो भने २३ वर्षसम्म मादी बहुमुखी क्याम्पस सङ्खुवासभाका उपप्राध्यापक हुनुभयो । क्याम्पस संस्थापनाका क्रममा संस्थापक शिक्षकमध्ये उहाँ पनि एकजना सशक्त र क्रियाशील व्यक्तित्व हुनु हो ।
उहाँ आफूलाई निम्न वर्गबाट माथि उठेको बताउनुहुन्छ । मुख्य रूपमा साहित्य सिर्जनामै सक्रिय रहँदै आउनुभएको छ । हालसम्मको खोजबाट प्राप्त दाहालहरूका आदि पुर्खामा दाशु भट्टलाई लिने गरिएको छ । भृगु ऋषिका छोरा वत्स ऋषिबाट गोत्र कायम भएर दाहालहरूको दाशुबाट हाल २२औं पुस्तासम्म बंश वृद्धि भइसकेको भए तापनि उहाँ १७औं पुस्ताको हुनुहुन्छ । दाशुको भट्ट थर नभएर उपाधि भएको पुष्टि भएको छ । दैलेख जिल्लाको दहगाउँ दाहालहरूको उद्गमस्थल मानिन्छ । त्यहाँबाट दाङ, नुवाकोट, काठमाडौं हुँँदै पूर्वतर्फ फैलिएका दाहालहरू पश्चिम नेपालमा थोरै संख्यामा रहे पनि पूर्वी पहाडका विभिन्न जिल्लामा धेरै संख्यामा छरिएर रहेका छन् ।
सङ्खुवासभाको मादी दाहालहरूको सबैभन्दा ठूलो बस्ती मानिन्छ । राणा, कुवँर, लम्साल, रूपाखेतीहरू पनि वत्सगोत्रीय नै हुन् । हाल पहाडबाट मधेस बसाइँ सरेर बस्ने क्रममा मधेसका विभिन्न जिल्लामा पनि दाहालहरू बाक्लै रूपमा बसोवास गरिरहेका छन् । नेपालबाहिर दार्जिलिङ, सिक्किम, भुटान र भारतका आसामलगायत ठाउँमा समेत दाहालहरूको बसोवास पाइन्छ । दाहालहरूका आदिपुर्खा उनै दाशु भट्टबारे अध्ययन तथा अनुसन्धानका लागि स्थापना भएको ‘कुलशिरोमणि दाशु स्मृति तथा अध्ययन अनुसन्धान प्रतिष्ठान’को कोषाध्यक्षका रूपमा हाल उहाँ सक्रिय हुनुहुन्छ ।
उहाँको साहित्यमा बढी सक्रियता हाल देखिइरहेको छ, जुन स्वाभाविक हो । हाल उहाँ सेवानिवृत्त अवस्थामा हुनुहुन्छ । त्यसैले उहाँलाई फुर्सद छ भन्दा हुन्छ । भक्तपुर जिल्लाको लोकन्थलीको आफ्नै घरमा परिवारका साथ रहेर उहाँ सिर्जनामा तल्लीन हुनुहुन्छ ।
यस प्रतिष्ठानमा १०० जना आजीवन सदस्य हुनुहुन्छ । संस्थाको पनि उहाँ एकजना संस्थापक आजीवन सदस्य नै हुनुहुन्छ । हालै यस प्रतिष्ठानको प्रयासमा दैलेखको दुल्लुमा कुलशिरोमणि दाशु भट्टको सालिक स्थापना गर्ने काम भइसकेको छ । पदम दाहाल विद्यालय तहदेखि नै साहित्यमा अभिरुचि राख्नुहुन्थ्यो । कक्षा आठमा पढ्दा नै उहाँले विद्यालयले आयोजना गरेको साहित्यिक कार्यक्रमा ‘कलम’ शीर्षकको कविता वाचन गरी पुरस्कार प्राप्त गर्नुभएको थियो । त्यसबाट उहाँलाई प्रोत्साहन प्राप्त भयो । जसले गर्दा उहाँले गोठालो जाँदा, घाँसदाउरा गर्दा, खेतमा पानी लाउन जाँदासमेत कविता लेख्न र साहित्यिक पुस्तकहरू पढ्न थाल्नुभयो ।
उहाँको त्यस कार्यले आजका दिनसम्म निरन्तरता पाइरहेको छ । धरानमा पढ्दा केही साथीहरूसँग मिलेर उहाँले ‘पिलुवा’ शीर्षकको पत्रिका प्रकाशन गर्नुभयो । त्यस पत्रिकाको सम्पादक मण्डलमा डम्बरु दाहालका साथै उहाँको पनि संलग्नता रहेको थियो । त्यसमा उहाँले ‘साँगुरीको मुहार’ शीर्षकको कविता छपाउनुभएको सम्झना उहाँलाई भइरहेकै छ । उहाँका यस्ता साहित्यिक कार्यले निरन्तरता त पाइरहे तर जागिरमा सक्रिय रहँदाको समयमा लेखन तथा प्रकाशन दुबै कार्यमा सुस्तता आएको भने सत्य हो ।
सङ्खुवासभामा रहेका बेला प्रकाशनको अवसर थिएन र उहाँ आफ्नै जिल्लामा चार दशकभन्दा लामो समय रहेर अध्यापन गर्नुभएका कारणले यस्तो अवसर प्राप्त भएन । त्यस समयमा हालको जस्तो इमेल सुविधा नभएकाले कुनै पत्रिकाका लागि लेख–रचना पठाउँदा चिठीको सहायता लिनुपथ्र्यो । यसो हुँदा सम्बन्धित पत्रिकामा पुगे-नपुगेको, प्रकाशित भए÷नभएको थाहा हुँदैनथ्यो । यसो हुँदा उहाँले लेख्न चाहिँ छोड्नुभएन ।
उहाँको साहित्यमा बढी सक्रियता भने हाल देखिइरहेको छ जुन स्वाभाविक हो । हाल उहाँ सेवानिवृत्त अवस्थामा हुनुहुन्छ । त्यसैले उहाँलाई फुर्सद छभन्दा हुन्छ । भक्तपुर जिल्लाको लोकन्थलीको आफ्नै घरमा परिवारका साथ रहेर उहाँ सिर्जनामा तल्लीन हुनुहुन्छ । उहाँ सबै विधामा कलम चलाउनुहुन्छ । आख्यान, निबन्ध, कविताहरूमा सक्रिय रहे पनि उहाँको सबैभन्दा प्रिय विधा भने कविता नै हो । मुक्तक र पद्य तथा गद्य कविताहरू उहाँले बढी सिर्जना गर्नुभएको छ । उहाँले अनगिन्ति पुरस्कार तथा सम्मान पाउनुभएको छ ।
उहाँले लेख्नुभएका पुस्तकहरू हालसम्म सातवटाको संख्यामा प्रकाशित भएका छन् । बादलका तरेलीहरू (कवितासंग्रह-२०७६), जीवनयात्रा (संस्मरण) : डम्बरूप्रसाद ढुंगाना (सम्पादन-२०७६), आँसुको दह (कवितासंग्रह-२०७७), एक-अर्काका दृष्टि : दुई व्यक्तिका कृति (कृति विश्लेषण, सहलेखन-२०७७), श्वेताम्बरी (कवितासंग्रह-२०७८), सङ्खुवासभाका २७ राजनीतिक योद्धाहरू (ऐतिहासिक जीवनी-२०७९), गुरु-चेला गौरव ग्रन्थ (संंस्मरणात्मक सँगालो (२०७९) छन् । यी कृतिहरूका साथै नेपालभूमि, हिमालय टाइम्स, मधुपर्क, गोरखापत्र, अनन्तधारा, संकल्प, खबर अनलाइन आदि पत्रपत्रिकामा उहाँका धेरै फुटकर लेख रचना प्रकाशित भएका छन् । हाल त्यस कार्यले निरन्तरता पाइरहेको छ । निकट भविष्यमै उहाँका ‘प्रेमपराग’ नामक छन्दोबद्ध पद्य कवितासंग्रह र ‘मेरो निर्मोही जन्मघर’ गद्य कवितासंग्रह, ‘कृतिमाथि दृष्टि दृष्टिमाथि पुनर्दृष्टि’ (डा.इन्दुल केसीसँगको सहलेखन, ‘वरद नायक भरत जंगम’ कृति विश्लेषण प्रकाशोन्मुख छन् । यसैगरी हालै उहाँबाट सम्पादित शंकरप्रसाद मानन्धरको ‘अध्यात्म र चिन्तन, (चिन्तनसंग्रह) र लोकमान मास्केको ‘मनको हलचल’ कवितासंग्रह प्रकाशनका क्रममा छन् ।
यसबाट पुष्टि हुन्छ भने पदम दाहालले सेवानिवृत्त जीवनपछि मात्र आफ्ना कृति प्रकाशन गर्नुभएको छ र यस समयलाई सकेसम्म बढी उपयोग गर्दै आउनुभएको छ । किनभने, सबै पुस्तकहरू उहाँ शिक्षक जागिरबाट अवकाश भएर राजधानीमा बसोवास गर्न थालेपछि मात्र प्रकाशित भएका छन् । साथै उहाँले कविताका पुस्तकहरू बढी लेख्नुभएको भए पनि कवितेत्तर विधामा समेत कलम चलाउनुभएको छ । समालोचना, जीवनी, कथा, लघुकथा, निबन्ध, संस्मरणलगायत विधाको लेखनतर्फ उहाँ त्यत्तिकै सक्रिय रहँदै आउनुभएको छ । यसका साथै सिर्जनामा मात्र होइन सम्पादनमा पनि उहाँको उत्तिकै सक्रियता रहेको पाइन्छ ।
उहाँको शिक्षा तथा साहित्य क्षेत्रको यस्तो सक्रियता र सिर्जनशीलताका कारण उहाँले पुरस्कार, मान, सम्मान र पदक प्राप्त गर्नुभएको छ । उहाँले शिक्षा दिवस पुरस्कार २०३२, २०३९, २५औं राष्ट्रिय शिक्षा दिवस पदक पुरस्कार २०५६, वार्षिकोत्सव पुरस्कार मादी मावि २०४६, २०५७ र २०६८, मादी मावि स्रोत केन्द्र पुरस्कार २०७०, गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा तृतीय पुरस्कार २०७६ तथा शब्दयात्रा स्तम्भकार सम्मान २०७७ उहाँले प्राप्त गर्नुभएको छ ।
साहित्य सिर्जना बाध्यता होइन । अरू धेरैले लेख्दै आएका छन् र पदम दाहाल पनि लेख्दै आइरहनुभएको छ । किन लेख्नुहुन्छ त उहाँ ? ‘समय खेर फाल्नुहुँदैन, यो अमूल्य र प्राप्त गर्न मुस्किल हुनेगर्छ । यो त्यसै खेर जाने फुर्सदको समयमा आफ्ना जीवन भोगाइ र पैदा हुने विचारहरू लेख्ने गर्दागर्दै यसमा एक प्रकारले लत नै बसेजस्तो भयो । नलेख्दा केही छुटेजस्तो लाग्छ । आपूmले लेखेका यस्ता सामग्री साहित्य भए कि भएनन् त्यो अरूले मूल्यांकन गर्ने विषय हो । यदि त्यस्ता साहित्यिक कृति जन्माउन सकियो भने तिनले आफ्नो भौतिक जीवनको अवसानपछि पनि अमर बनाउलान्’ उहाँलाई यस्तो लाग्छ ।
‘मान्छे मर्छ, हड्डी पनि मकाउँछन् । त्यसबेला आफूले दिएर गएका विचार र कृति त रहिरहन्छन् नि ¤ लेख्दै आइरहेको छु’, उहाँ भन्नुहुन्छ । सुरुमा सबैले पढ्ने गरेको भानुभक्तीय रामायण पनि पढ्नुभयो । गाउँघरमा निकै लोकप्रिय भएको पं.जगन्नाथ गुरागाईको गुणरत्नमाला पनि पढ्नुभयो । त्यसपछि तिनले उहाँलाई प्रभाव पारे, उहाँ प्रभावित हुनुभयो र लेख्ने प्रोत्साहन मिल्यो । लेख्नुपर्ने रहेछ भन्ने लाग्यो । प्रत्यक्ष रूपमा भानुभक्त आचार्य र जगन्नाथ गुरागाईसँग नभेटे पनि उहाँहरूका कृति नै दाहालका लागि प्रेरणाका स्रोत बने ।
सुरुमा आफूले लेख्न पाएहुन्थ्यो भनेर जानी–नजानी केही कोर्दाकोर्दै उहाँ अहिलेको स्थानमा आइपुग्नुभएको हो । साहित्यमा विभिन्न भाव हुन्छन् । कसैले कुनै कुरालाई अँगाल्छन् भने कसैले अर्कै भावलाई । यौन, प्रकृति चित्रण, मनोविज्ञान, प्रगतिशीलता, प्रेम, विसंगतिप्रति व्यंग्य, राष्ट्र र राष्ट्रियता, सामाजिक परिवेशलगायत कुरा साहित्यमा पाइन्छन् । यीमध्ये विशेषगरी दाहालले प्रकृति, समाज, राजनीतिक विसंगति, शृंगारिकता जस्ता भाव साहित्यमा समेट्ने गर्नुभएको छ ।
उहाँले साहित्यिका माध्यमबाट के प्राप्त गर्नुभयो त ? लेखेर आफूले धेरै कुरा पाएको लागेको छ । उहाँ प्रतिष्ठा, पुरस्कार, मानसम्मान सबै थोक पाएको छु भन्नुहन्छ । सबैभन्दा बढी त पाठकहरूको स्नेह पाएको उहाँ बताउनुहुन्छ । लेख र साहित्य सिर्जनामा लागेर केही गुमाएको जस्तो उहाँलाई लाग्दैन । उहाँ कहिल्यै निष्क्रिय बस्न नचाहने साहित्यकार हुनुहुन्छ । केही न केही लेखिरहनु भएकै छ । यसका साथै उहाँका केही भावी योजना छन् । उहाँ आत्मासंस्मरण लेख्ने र आफ्नो जीवन हुर्काउने, बढाउने पालकमाता रत्नकुमारीका नाउँमा एउटा काव्य लेख्ने उहाँको तीव्र इच्छा रहेको बताउनुहुन्छ, । आफ्ना गीतहरू संग्रह गरी एउटा सँगालो प्रकाशन गर्ने योजना बनाउँदै हुनुहुन्छ ।
यसैगरी गद्य र पद्य कवितासमेत गरी पाँचवटा पुस्तक तयारी अवस्थामा भएका कारण तिनको प्रकाशनको योजनामा हुनुहुन्छ । समग्र लेखनमा भने उहाँ कविता लेखनलाई नै सहज मान्नुहुन्छ र त्यसमा पनि छन्दका कविता लेखन सहज लाग्छ । लेखन कर्मलाई परिवारबाट सहयोग प्राप्त हुने गरेको छ । छोराले प्राविधिक क्षेत्रमा सहयोग गर्ने र श्रीमतीबाट घरायसी वातावरण प्राप्त हुने गरेको छ ।
उहाँको जीवनमा अनेकौं अविस्मरणीय घटना छन् । तीमध्ये उहाँ एउटा घटनाको स्मरण यहाँ गर्न चाहनुहुन्छ । २०३५ सालको कुरा हो, एक पटक हिमालय मावि खाँदबारीमा पढाउँदा उहाँहरू सभाखोलामा वनभोज जानुभएको थियो । एकजना काशी उपाध्याय नामका साथीले पौडी खेल्न सिकाउँछु भनेकाले उहाँ खोलामा पस्नुभयो । पानीको भुँमरीले उहाँलाई ठाडो पारेर तलमाथि गरायो । पानी खाएर झण्डै ज्यान गएको । अर्का एकजना टेकनाथ दाहाल भन्ने शिक्षक साथीले देखेर उहाँलाई बचाए । त्यो फागुपूर्णिमाको बेला थियो । हिउँद् महिना भएका कारण खोलामा पानीको बहाव तीव्र थिएन र उहाँलाई साथीले बँचाउन सफल हुनुभयो नत्र यसै भन्न सकिने अवस्था थिएन ।
‘नेपाली साहित्य हाल राम्ररी माथि उठेको छ तर यसमा विकृतिहरू उत्तिकै छन् । यहाँ निष्पक्षता छैन । आफ्नो मान्छे खोज्ने गरिन्छ । एक प्रकारले भन्ने हो भने नेपाली साहित्यमा केही संस्था र व्यक्तिको भाषिक उपनिवेश कायम छ’, उहाँ भन्नुहुन्छ ।
उहाँ सङ्खुवासभा जिल्लाको नेपाल शिक्षक संघको जिल्ला सभापति बन्नुभयो । आफ्नो राजनीतिक आस्था र वादका सम्बन्धमा सोधिएको प्रश्नको उत्तर हो यो उहाँको । उहाँले आफ्नो जिल्ला र छिमेकी जिल्ला धनकुटामा समेत गरी आधा दर्जन जति विद्यालय तथा क्याम्पसहरूमा रहेर ४१ वर्ष अध्यापन गर्नुभयो । यस अवधिमा विद्यार्थी, सहकर्मी शिक्षक तथा आफूसँग जोडिन आउने व्यवस्थापन समितिलगायत सबैलाई सकारात्मक प्रभाव छोड्न उहाँ सफल रहनुभयो । उहाँ सन्तुष्ट हुनुहुन्छ । विद्यार्थी उहाँसँग प्रभावित भएर निकट हुन्थे र आवश्यक दूरी पनि कायम राख्ने गर्थे ।
उहाँले सुरुमा भारती निमावि हात्तीखर्क धनकुटामा निमावि तहमा रहेर अस्थायी शिक्षकका रूपमा शिक्षण गर्न थाल्नुभयो । त्यसपछि चुलाचुली मावि ताङ्खुवा धनकुटामै जुन उहाँकै पहलमा निमाविबाट मावि तहको भएको विद्यालय बनेको हो । यसमै पढाउँदै गर्दा २०३१ सालमा निमावि तहमा स्थायी हुनुभयो । त्यसपछि उहाँ अमरुवा मावि आँखिभूइँ सङ्खुवासभा आउनुभयो । यो उहाँको आफ्नै जिल्लो थियो । २०३४ सालमा मावि तहमा चुलाचुली माविमा स्थायी हुनुभयो । त्यसपछि २०३६ सालमा सङ्खुवासभाकै हिमालय मावि खाँदबारीमा सरुवा हुनुभयो । २०४० सालदेखि २०६९ सालसम्मको २९ वर्षको अवधिमा भने उहाँले एउटै संस्था मादी मावि मादीमा अध्यापन गर्नुभयो । यही माविमा उहाँ बीस वर्षसम्म प्रधानाध्यापक भई कुनै विववादमा नपरी रहन सफल हुनुभयो । उहाँ २०६९ देखि २०७१ सालसम्म नारायण मावि ओखरबोटेमा पनि कार्यरत रहनुभयो । उहाँ माध्यमिक तह प्रथम श्रेणीको शिक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो ।
उहाँ हाल शब्दयात्राको आजीवन सदस्य, पुष्पपराग साहित्य प्रतिष्ठान लोकन्थलीको आजीवन सदस्य तथा हाल कार्यकारी सदस्य पदमा समेत रहनुभएको छ । यसैगरी उहाँ चाँगुनारायण साहित्य समाजको आजीवन सदस्य, कल्पतरुको आजीवन सदस्य, ‘कुलशिरोमणि दाशु भट्ट स्मृति अध्ययन अनुसन्धान प्रतिष्ठान’को संस्थापक आजीवन सदस्य एवं कोषाध्यक्ष्य, साहित्य सुधाको आजीवन सदस्य हुनुहुन्छ । यसबाट उहाँको साहित्यिक तथा सामाजिक सक्रियता पुष्टि हुन्छ । नेपालको वर्तमान साहित्यिक प्रवृत्तिको विश्लेषण गर्दै उहाँ भन्नुहुन्छ, ‘नेपाली साहित्य हाल राम्ररी माथि उठेको छ तर यसमा विकृति पनि उत्तिकै छन् । यहाँ निष्पक्षता छैन । आफ्नो मान्छे खोज्ने गरिन्छ । पुरस्कार र सम्मान दिने गरिन्छ । एक प्रकारले भन्ने हो भने नेपाली साहित्यमा केही संस्था र व्यक्तिहरूको भाषिक उपनिवेश पनि कायम छ ।’
‘तिनमा सुधार गर्न प्रचारप्रसार गर्नुपर्छ, त्यस्ता कुरालाई सार्वजनिक गरेर सचेतता अपनाउनुपर्छ, सकारात्मक सुझाब दिनुपर्छ, भाषाको संरक्षणका लागि यस्ता काम गर्नुका साथै साहित्यलाई राजनीतिको घेराबन्दीबाट बाहिर निकाल्नुपर्छ’ उहाँ सुझाब दिनुहुन्छ । उहाँलाई लेखनबाट आफू अलिक माथि उठेको जस्तो लाग्छ । ‘नलेखेको भए अहिलेको जति परिचित बन्न सक्दिनथँे भन्ने ठान्नुहुन्छ । लेखेर केहीमाथि उठेको निश्चित हो, मलाई त्यस्तो अनुभूति हुन्छ र यसमा म गौरव पनि गर्छु’, उहाँ भन्नुहुन्छ ।
पदम दाहालले जीवनको लामै यात्रा गरिसक्नु भएको छ । शिक्षा क्षेत्रमा लामो समयसम्म काम गरेर कपाल फुलाउनु भएको छ । एक पटक पछाडि फर्किएर हेर्दा आफू कहाँ आइपुगेको जस्तो ठान्नुहुन्छ त उहाँ ? यस सम्बन्धमा आफ्नो विचार यसरी व्यक्त गर्नुहुन्छ, ‘शैक्षिक जगत्मा आफ्नो जिल्ला र गाउँमा धेरैवटा विकासका काम गरेँ भन्ने लाग्छ । द्वन्द्वका समयमा पनि उनीहरूले मेरा केही कमजोरी पाएनन् । रोक्का गरिएका जग्गाजमिन पछि फिर्ता गर्ने बेलामा पनि उनीहरूले मलाई गाउँमा बसिदिनूस् भने, मैले त्यस कुरालाई स्वीकारेँ । द्वन्द्वकालमा माओवादी र सरकार पक्षको च्यापमा परेर कष्टकर मानसिकतामा बाँच्नुपर्यो । आफू निकै सन्तुलित हुनुपथ्र्यो, मैले त्यो सन्तुलन मिलाउन सकेँ । त्यही कारणले मलाई सरकार र माओवादी दुवै पक्षबाट कुनै पनि अप्ठ्यारो अवस्था सिर्जना गरिएन । त्यही कारण उच्च रक्तचापको रोग भने बोकिरहेको छु, धानिरहेको छु ।’
उहाँ आफ्नो मूल्यांकन यसरी गर्नुहुन्छ, ‘म आफ्नो काममा सफल व्यक्ति हुँ । मैले जे जस्ता र जे जति काममा संलग्नता जनाएँ तीमध्ये कुनै पनि अपूरो छोडेको छैन । जे गरेँ सबै राम्रो गरेको छु । म विद्यार्थी छँदादेखि सधैं सफलता हात पार्दै आएको मानिस हुँ । कहिल्यै असफल भएको अनुभूति छैन । अन्त्यसम्म सफल नै भइरहेको छु ।’ सधैं सफल बन्दै आउनुभएको साहित्यकार तथा शिक्षासेवी पदम दाहाललाई बाँकी जीवनका लागि पनि सफलता प्राप्त भइरहोस्, उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घजीवनका लागि हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच