
नेपालमा राजनीति जहिल्यै बक्र रेखामा मात्र हिँडिरहेको छ । यसले गर्दा राजनीति भनेकै सरल रेखाबाट अगाडि बढ्ने विषय होइन भन्ने मान्यता विकास भएको छ । राज्यको सबैभन्दा राम्रो, असल वा सबैभन्दा ठूलो नीति राजनीति हो भन्ने अर्थ गरिन्छ तर प्रकारान्तरले हालका दिनमा अर्थान्तरण हुँदै गएको छ । अबका दिनमा राजनीति भनेको राज्यको प्रमुख नीति हो भन्ने मान्यता फेरिन पुगेको छ । जाल, झेल, कपट, हुलहुज्जत, दादागिरी, फट्याइँ नै राजनीति हो भन्ने मान्यता विकास हुन पुगेको छ । यस्ता विकृत कार्य जसले बढी गर्न सक्छ त्यो नै सफल राजनीतिक व्यक्ति हो भन्ने मान्यता विकसित भइरहेको छ । हालका दिनमा राजनीति भनेको भ्रष्टाचार र अनियमितता पनि हो भन्ने मान्यता पुष्टि हुन पुगेको छ ।
राष्ट्रमा देखापरेका तमाम विकृति र विसंगतिले राजनीति जन्माएको होइन राजनीतिले चाहिँ विसंगति विकास गर्न पुगेको छ । हेर्दाहेर्दै केही वर्षको अन्तरालमै अनेकौं विकृति सिर्जना हुनपुगेका छन् । झिना-मसिना प्रकरणको कुरा गरेरै साध्य छैन, ठूला काण्ड नै दर्जनांै छन् । एकातिर तिनको छानबिन गरेको जस्तो गरिन्छ र केही समयपछि चुलिएको चर्चा अलिक कम हुनपुग्छ तब बिस्तारै निष्तेज पारिन्छ । एउटा काण्डलाई दबाउन अर्को काण्ड अगाडि सारिन्छ । पहिलेको काण्डलाई ओझेलमा पार्छ पुनः बिस्तारै नयाँ काण्डको उजागर गरिन्छ र एवं रितले माटाको एउटा चपरीले अर्कोलाई छोपेजसरी क्रमशः अर्को अर्कोलाई दबाउँदै, छिपाउँदै लगिरहेको हुन्छ । ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण पछिल्लो चरणका चर्चित प्रकरण हुन् र एनसेलले पुनः ओझेलमा पार्न गयो ।
हाल केही नयाँ प्रकरण अगाडि आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेमाथि सहकारी ठगीको अभियोग लागेको छ । आफ्नो अनुकूल लेखेनन् भनेर आफैं पनि पत्रकारिता गर्दै आउनु भएका लामिछानेले विभिन्न मिडियाका विरुद्ध १२ भाइको ट्याग लगाइदिएर तथानाम गाली दिनुभयो । मौकाको ताकमा रहेका मिडियाहरूले गलत कार्यलाई बचाउन काँध थाप्न चाहेनन् र उहाँले सहकारी ठगी गरेको कार्य प्रमाणसहित सार्वजनिक नै गरिदिएपछि उक्त कार्यको बचाउ गर्दै पत्रकार सम्मेलन गर्नुभयो । तर, जनमानसमा उहाँले गरेको बचाउलाई पत्याउन सकिरहेका छैनन् । जुन जोगी आए पनि कानै चिरको भन्ने उखानको चरितार्थ भइरहेको छ । आशा गरिएको मानिस नै जेठाजु नाता परेको भन्ने नेपाली भनाइ दृष्टान्त बनेर आइरहेको छ ।
छिटो समयमा लोकप्रिय नेता सावित गर्दै छिट्टै आफ्नो राजनीतिक वर्चश्व स्थापना गर्न सकेका लामिछाने एकाएक राजनीतिक स्खलनको सिकार बन्न पुग्नुभएको छ । देशव्यापी संगठन विस्तार गरी पार्टीलाई लोकप्रिय बनाउन लग्नुभएका लामिछानेले अन्य पार्टीका केही बौद्धिक व्यक्तिलाई आफ्नो पार्टीमा भित्र्याउन सक्नुभएको थियो तर अहिले उहाँमाथि ठगीको आक्षेप लागेको छ । आफ्नो पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न पुग्नुभएका ती नेताहरूका लागि असहज अवस्था सिर्जना भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रलाई हेरिसकेका नेपाली जनताले रास्वपाप्रति एउटा भरोसाको महल उभ्याएका थिए अब त्यो महल ढलेकोजस्तो अनुभूति जनताले गरिरहेका छन् ।
मिडियाले प्रमाणसहित सार्वजनिक गरिदिएको ठगीप्रकरण उहाँको स्पष्टीकरणले छोपिन नसकेको जनताले देखिरहेका छन् । यसबाट उहाँको पार्टीको लोकप्रियतामा आँच आएको त छ नै जो आए पनि एकै रहेछन् भन्ने देखिएको छ । मधेसवादी दलहरूको त कुरै गर्नुपरेन । नेपाल सद्भावना पार्टी जो वरिष्ठ र लोकप्रिय नेता गजेन्द्रनारायण सिंहले स्थापना गर्नुभएको थियो त्यसबाट अनेकौं टुक्रामा परिणत हुँदै हालसम्म आइपुग्दा तराईमा दलहरू छिन्नभिन्न छन् । क्षेत्रीय हितको मुद्दा हो भने ती एक भएर आउनसक्नुपथ्र्यो । आपसी मारपिट, कलह, वैरभाव, भनाभन र पार्टीलाई टुक्राटुक्रा पार्ने कार्यमा ती संलग्न बन्दै आएका छन् । पछिल्लो दृष्टान्त बन्न पुगेको छ जनता समाजवादी पार्टी र जनमत पार्टीबीच सप्तरीको राजविराजमा भएको भिडन्त ।
एउटै भौगोलिक र एक प्रकारका अवधारणाबाट अगाडि आइरहेका पार्टीहरूबीच त्यस्तो कृत्य हुनुभनेको विनाशकाले विपरीत बुद्धि हो । क्षेत्रीय हितका लागि हातेमालो हुनुपर्नेमा मन्त्री र सांसद समेत घाइते हुनेगरी गरिएको आपसी मारमुंग्रीले सकारात्मक सन्देश जानसक्ला त ? यो विडम्बना हो । देहित र प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने चाहना राख्ने हो भने यस्ता गतिविधि कुनै दलबाट हुनुहुँदैन र आपसी समन्वयबाट देश विकासका लागि प्रण गर्नुपर्छ । जनतालाई साथ लिनसमेत सक्नु दलहरूको सफलता हुनजान्छ । दल, दलका नेताहरू यस्ता विकृति, विसंगति र अनियमितताबाट अलग हुन सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच