
धरान । नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगितामा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गर्नुभएको छ । अन्तिम दिन १–अण्डर ६९ सहित समग्रमा ३-अण्डर २०७ को स्कोरमा धरानका अर्का प्रो निरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रोपटक उपाधि जित्नुभएको हो ।
शुक्रको यो करियरको दशौँ प्रमुख उपाधि हो । उहाँले उपाधिसँगै नगद एक लाख ४० हजार प्राप्त गर्नुभएको छ । दशौँ उपाधि जित्दै शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पूर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि संख्या बराबरी गर्नुभएको छ ।
अन्तिम १८ होलको सुरूवात गर्दा मात्र एक स्ट्रोकले पछि रहनुभएका निरजले शुक्रलाई चुनौती दिन सक्नुभएन । ३-ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २–ओभर २१२ को नतिजामा दोस्रो स्थानमा खेल सक्नुभयो । उहाँले ९६ हजार नगद हात पार्नुभयो । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३–ओभर २१३ सहित तेस्रो हुनुभयो । उहाँले शनिबार १–ओभर ७१ मा खेल सक्नुभयो । उहाँले ७२ हजार प्राप्त गर्नुभयो ।
समग्रमा ७–ओभर २१७ को स्कोरमा राजेन राई, भुवनकुमार रोक्का र रामे मगरले संयुक्तरूपमा चौथो स्थान बाँड्नुभयो । राजेन र भुवनले ३–ओभर ७३ मा खेल सक्दा रामेले १–ओभर ७१ खेल्नुभयो । उहाँहरूले जनही ५० हजार पाँच सय नगद पुरस्कार आफ्नो नाममा लेखाउनुभयो ।
समग्रमा ९–ओभर २१९ को स्कोरमा रवि खड्का सातौँ हुँदै ३९ हजार नगद हात पार्नुभयो । उहाँले ५–ओभर ७५ मा खेल सक्नुभयो । समग्रमा १० ओभर २२० को नतिजा निकाल्नुभएका सञ्जय लामा र सूर्यप्रसाद शर्माले संयुक्तरूपमा आठौँ स्थानमा प्रतियोगिता सक्नुभयो । उहाँहरूले जनही ३४ हजार २५० नगद प्राप्त गर्नुभयो । धरानका देउराज पाख्रिनले समग्रमा ११–ओभर २२१ को स्कोरमा दशौँ हँुदै ३१ हजार हात पार्नुभयो । उहाँले ३–ओभर ७३ मा खेल पूरा गर्नुभयो ।
एमेच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८–ओभर २१८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल हुनुभयो । गजेन्द्रले ३–ओभर ७३ र युवराजले ६–ओभर ७६ को स्कोर गर्नुभयो । समग्रमा ११–ओभर २२१ सहित सुमन परियार र सुन्दर राईले संयुक्तरूपमा तेस्रो स्थान बाँड्नुभयो । सुमनले इभन–पार ७० मा खेल सक्दा सुन्दरले ५–ओभर ७५ मा खेल पूरा गर्नुभयो ।
अन्तिम १८ होलको खेल सुरू हुँदा शुक्र निरजभन्दा मात्र एक स्ट्रोकले पछि रहेकाले उपाधि दौड प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर, निरजले शुक्रलाई चुनौती दिन सक्नुभएन । शुक्रले सानदार सुरूवात गर्नुभयो । तेस्रोदेखि छैटौँ होलसम्म लगातार चार बर्डीको सफलता प्राप्त गर्नुभयो । आठौँ होलमा एक सट गुमाएपछि फ्रन्ट नाइन ३–अण्डर ३३ मा पूरा गर्नुभयो । सुरूवात राम्रो गरेपछि शुक्रले ब्याक नाइन बिनादबाब खेल्नुभयो । ११औँ होलमा एक सट बचाउँदा १३औँ, १४औँ र १६औँ होलमा बोगी खेप्नुभयो । ब्याक नाइन २–ओभर ३६ मा पूरा गरे पनि ५ स्ट्रोकको सानदार नतिजामा च्याम्पियन बन्नुभयो ।
निरजले फ्रन्ट नाइन १–अण्डर ३५ मा सक्नुभयो । तेस्रो, छैटौँ र नवौँ होलमा एक–एक सट बचाउनुभयो । तर, पाँचौँ र आठौँ होलमा बोगी प्रहार गर्नुभयो । फ्रन्ट नाइन सकिँदा निरज शुक्रभन्दा ३ स्ट्रोकले पछि हुनुहुन्थ्यो भने उहाँले ब्याक नाइनमा बिर्सनलायक ४–ओभर ३८ को प्रदर्शन गर्नुभयो । १०औँ, १४औँ र १७औँ होलमा बोगी र ४–पारको १५औँ होलमा डबल बोगीको सामना गर्नुभयो । अन्तिम होलको बर्डीले दोस्रो स्थान प्राप्त गर्नुभयो ।
भुवनले ५–पारको छैटौँ होलमा डबल बोगी प्रहार गर्नुभयो । तेस्रो, छैटौँ र नवौँ होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १–अण्डर ३५ मा पूरा गर्नुभयो । ब्याक नाइनमा तीन बोगी प्रहार गर्नुभयो । १३आँै, १४औँ र १७औँ होलमा एक-एक सट खेर फाल्नुभयो । १८औँ होलमा बर्डीसहित ब्याक नाइन २–ओभर ३६ मा सक्नुभयो ।
कुल आठ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले पुरस्कार वितरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच