पढ्दै उत्पादन गर्दै अनि बेच्दै कमाउँदै

तस्वीर : टनेल भित्रको तरकारी गोडमेल गर्दै विद्यार्थीहरु ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित जनता आधारभूत विद्यालयका विधार्थीहरु विद्यालय मूनिको टनेलामा दैनिक रुपमा फरक–फरक समयमा कृषि कर्म गर्छन् । कक्षा–६, कक्षा–७ र कक्षा–८ का जम्मा ३० जना विधार्थीले अहिले दिनमा ४५ मिनेट बारीमा गएर माटो र कुटोकोदालो समाउँछन्।

विद्यालयले ‘तरकारी फलफुल र अन्नबाली’ नामको स्थानीय पाठयक्रम तयार गरी तत्कालिन जिल्ला शिक्षा कार्यालयमा पेश गरेपछि २०७२ जेठ ११ गते शिक्षा कार्यालयले उक्त स्थानीय पाठयक्रमलाई स्वीकृत गरिदियो । त्यसपछि विद्यालयमा विद्यार्थीलाई कृषि कर्म सिकाउन थालियो ।
विद्यार्थीलाई कृषि खेती सिकाउन विद्यालयको मूनि वार्षिक ५ हजार ५०० तिर्नेगरी विद्यालयले स्थानीय मनकुमार अधिकारीको डेढ रोपनी जग्गा भाडामा लिएको छ । त्यही जग्गामा कक्षा–६ का ११ जना, कक्षा–७ का सातजना र कक्षा–८ का १२ जना विधार्थीले ‘तरकारी फलफुल र अन्नबाली’ नामक स्थानीय पाठयक्रमको १०० पूर्णाङकमा ५० पूर्णाङको प्रयोगात्मक र ५० पूर्णाङको शैद्धान्तिक सिकाई गर्छन् ।

बारीमा बिद्यालयले एउटा र वडा कार्यालयले एउटा टनेला बनाएको छ । टनेलाभित्र विधार्थीले टमाटर, खुर्सानी, लसुन, साग, बन्दा, काउली, भुई स्याउँ, च्याउँ, आलु, प्याज, काक्रा, भटमास, सयपत्री फुल, सिमी, बोडी, लगायत मौसमी र बेमैसमी तरकारी उत्पादन गर्छन् ।
कृषि खेतीलाई मलका लागि विद्यालयको चर्पीबाट बेग्लै पिसाब संकलन गर्ने गरेको छ । १ हजार लिटरको ट्याङकीमा जम्मा गरिएको पिसाबलाई शिक्षक र विधार्थी मिलेर तरकारीका विरुवाहरुमा लगाईने गरेको छ । मल अपुग हुँदा विधार्थीहरुले घरबाट समेत ल्याउने गरेको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो।

विधार्थीले उत्पादन गरेको तरकारी, फलफुल र अन्नहरु गाउँघरमै बिक्री हुने गरेको छ । गाउँघरमा विक्री भईनसकेको तरकारी, फलफुल र अन्न बिक्री गर्न बिधार्थीले स्थानीय बजारहरुमा लाने गरेका छन् । एकपटक विधार्थीले उत्पादन गरेको टमाटर बजारमै लगेर बिक्री गरिएको प्रअले आचार्य बताउँनु हुन्छ ।

विद्यार्थीले उत्पादन गरेको ५०० केजीभन्दा बढी भुई स्याउँमध्ये गाउँघरमा १००÷२०० केजी विक्री भयो । बाँकी दिक्तेल बहुमुखी क्याम्पसको पुराण कार्यक्रममा लगेर दान गरेका थियौँ । प्रअ आचार्यले भन्नुभयो ।

जग्गाको भाडा विधार्थीले उत्पादन गरेको तरकारी बेचेरै कमाई भएको पैसाबाट तिर्ने गरेको कृषि शाखा संयोजक शिक्षक डम्बर प्रसाद बास्तोलाले बताउनुभयो । विद्यार्थीले उत्पादन गरेको कृषि उपजहरु र बिक्री वापत कमाई भएको पैसाको हिसाबकिताब शिक्षक बास्तोलाले नै राख्ने गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?