
नेपाल प्रजान्त्रको पुनस्र्थापनापछि बढी नै विदेशीको चासोमा पर्ने गरेको छ । यसका कारण त अनेकौं छन् तिनलाई खोतल्ने हो भने विदेशीको पनि केही स्वार्थ अवश्य छ नेपाल र नेपालीको चासो पनि त्यत्ति नै रहने गरेको छ । हाम्रो पराधीनता यसको मुख्य कारण हो । हामी आत्मनिर्भर छैनौं । हरेक कुरामा विदेशी मित्र राष्ट्रहरूको भर पर्नुपरेको छ । पहिले-पहिले आत्मनिर्भर भएका वस्तु र विषयमा पनि क्रमशः परनिर्भर बन्दै गइरहेका छौं । यसकारण अरूको सहयोग अपेक्षित बन्दै गइरहेको छ र जसले सहयोग गर्छ उसले आफ्नो चाहना हामीमाथि लाद्न खोज्छ नै । यसका साथै नेपाल एशियाको बीचमा पर्छ ।
उत्तर र दक्षिणको बीचमा रहेको हाम्रो देश सन्तुलित भएर रहन चाहन्छ तर नेपाललाई कूटनीतिक रूपमा बिथोलेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहनेहरूका कारण हामी सन्तुलित अवस्थामा अडिग भएर रहन सकेका छैनौं । विदेशीहरूले आफ्नो पक्षमा पार्ने प्रयास गर्ने गरिरहेका छन् । अर्को देशसँग निकट नबनोस् भन्ने चाहना पनि केही मित्रराष्ट्रहरूको होला । त्यसकारण नेपाललाई सहयोग गरेर सधैं आफ्नै भावनाको पिछलग्गु बनाउन चाहनेहरू पनि छन् । नेपालको यो बाध्यता पनि हो । जब राष्ट्र आर्थिक रूपमा सबल बन्न सक्दैन र अरूको सहयोगको अपेक्षा गर्छ त्यस्तो अवस्थामा सहयोग गर्ने देशहरू उसलाई आफ्नो भावनाको अनुयायी बनाउन चाहन्छन् । त्यो स्वाभाविक हो किनभने आर्थिक रूपमा सबल हुनसक्ने हो भने त्यसबेला कसैले पनि सहयोगको प्रलोभन देखाउँदैन र दबाबमा राख्न सक्दैन ।
हाम्रो परनिर्भरता आर्थिक रूपमा त छँदैछ राजनीतिक रूपमासमेत परनिर्भर छौं भन्दा हुन्छ । हरेक सरकार परिवर्तनमा विदेशीहरूको चासो हुनेगरेको छ । त्यस्तो चासोले आर्थिक परनिर्भरताभन्दा पनि खतरनाक अवस्थाको सिर्जना गर्छ । ठूला परिवर्तनमा मित्रराष्ट्रहरूबाट सहयोग हुने गरेको छ । गुनले गुन खान्छ तँलाई म खान्छु भन्ने जातक कथाको बुढो बाघजस्तो बनेर ती मित्रराष्ट्रहरूले सधैंभरि हाम्रोजस्तो सानो देशलाई तर्साइरहनु अस्वाभाविक होइन । अर्काले परिवर्तनका लागि सहयोग गरिदिँदा त्यसको नकारात्मक प्रभाव परिवर्तनपछिका दिनहरूमा पर्ने गर्छ । अहिले भइरहेको त्यही हो । नेपालका नेताहरू सरकार परिवर्तनका लागि र आपूm नेतृत्वमा पुग्नका लागिसमेत छिमेकी देशको दौडाहामा जान्छन् । यो नै सबैभन्दा खतरनाक प्रवृत्ति हो ।
यस्ता कार्यले राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्ने गर्दछ । नेपालको सौन्दर्य सगरमाथा लुम्बिनी नदीनाला, जलभण्डार, जडिबुटी, वन्यजन्तु, प्राकृतिक खानी र त्यहाँ रहेका खनिज पदार्थजस्ता विदेशी नेपालप्रति आकर्षित हुने संशाधन हुन् । हामीलाई सानो सहयोग दिएर ठूलो कुरा हत्याउने दाउमा हुनुभनेको उनीहरूका लागि कूटनीतिक स्वार्थ हो भने हाम्रा लागि भने त्यो हामीलाई गरिबभन्दा गरिब बनाउँदै लाने कूटनीतिक नीति हुनसक्छ । यसका लागि चनाखो त हामी नै बन्नुपर्छ तर स्वार्थप्रेरित राजनीतिले देशको स्वाधीनताको संरक्षण गर्न सकिरहेको छैन । आधुनिककालको प्रारम्भिक चरणमा नेपालले वीरता र बहादुरीमा विश्वव्यापी रूपमा ख्याति कमाएको थियो । कार्गिल, फोकल्याण्ड, बेलायत अधिनस्त मलेशिया, हङ्कङ, सिंगापुरलगायत ठाउँमा लडेर नाम कमाएका नेपालीहरू हालका दिनहरूमा कमजोर बन्नपुग्नु दुभाग्य हो ।
पहिलो र दोस्रो विश्वजयुद्धमा नेपालीहरूले बर्मालगायत ठाउँमा देखाएको बहादुरी इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । फोकल्याण्डमा नेपालीहरू पुग्नु पहिले अर्जेन्टिनीहरू भागेर उक्त ठाउँ बेलायतको अधिनस्त भएको त लामो समय भएकै छैन । नेपाल एकीरणका र त्यसपछिका अनेकौं सन्दर्भ नेपालीको गौरवगान गर्न लायक छन् । तर इतिहासको यस क्षणसम्म आइपुग्दा हामी सबल बन्दै जानुपर्नेमा दिनप्रतिदिन कममजोर बन्दै गइरहेका छौं । हामी विदेशीको हेपाइमा पर्नुपरेको छ र कतिपय हाम्रा आन्तरिक मामलामा उनीहरूको चासो रहने गरेको छ । हाम्रा विकास निर्माण राष्ट्रिय गौरवका योजनामा उनीहरू निर्धक्क हस्तक्षेपकारी भूमिकामा रहने गरेका छन् ।
हाम्रो आन्तरिक बेमेल र विकास निर्माणलगायत राष्ट्रिय स्वार्थका कार्यमा समेत एक हुन नसक्ने प्रवृत्तिबाट विदेशीले हामीमाथि खेल्ने मौका पाएका हुन् । हाम्रा विकास परियोजना गिजोलिनु पनि यही हो । हाम्रा पुर्खाको स्वाभिमान र गौरवमय इतिहास जोगाउनमात्र हामीले सकेका भए निरिह मोडमा हाम्रो इतिहास आइपुग्नुपर्ने थिएन । विदेशीलाई मात्र दोष दिएर हुँदैन हामी आफ्नै कारणले कमजोर बन्नपुगेका हौं । भावी पुस्ताले नधिक्कार्ने र उहाँहरूको नाम गौरवपूर्ण सम्झिने गरी वर्तमानका नेतृत्वदायी भूमिकामा रहनुहुने व्यक्तिहरूले काम गर्ने हो भने हामी हाम्रो स्वत्वमा रहन सक्नेछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच