✍️ केशव चौलागाईं
श्रीपञ्चमीका दिन सरस्वतीको धुमधामका साथ विशेष पूजाआराधना गरिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा पहिला भगवान् श्रीकृष्णले सरस्वतीको पूजा गरेको कुरा पढ्न पाइन्छ । सरस्वती पूजाको दिन बिहान ब्रम्हामुहूर्तमा उठेर स्नान गरी शुद्ध वस्त्र पहिरिएर घरको पूजा कोठा, घर वा आँगनको पूवपट्टि सरस्वतीको पूजा गर्ने स्थान बनाउनु पर्दछ । सो स्थानमा सम्भव नभएमा सम्भव भएसम्म गाईको गोबरले लिप्नुपर्छ । लिपेको स्थानमा पहेँले वा सेतो कपडा ओछ्याएर सरस्वतीको फोटो वा मूर्ति स्थापना गर्नुपर्छ । पूजाका लागि गच्येअनुसारका सामग्री जुटाइ दियो, कलश र गणेश स्थापना गर्नुपर्छ । त्यसपछि अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गनुपर्छ ।
नैवेद्यको रूपमा क्षमता अनुसार दूध, दही, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मुला, बयर, बेल, अदुवा अर्पण गर्नुपर्छ । पूजापछि सरस्वतीको ध्यान र ऊँ ऐं सरस्वत्यै नमः मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गर्ने चलन छ । यस मन्त्रलाई विद्या, बुद्धि र सौभाग्यप्रदायक मानिन्छ । यसरी पूजाआरधाना गर्नाले मूर्ख पनि महान् विद्वान बन्ने जनविश्वास रहँदै आएको छ । सरस्वती पूजाको दिन खीर, हलुवाई, मालपुवा, पुरी, अचार, तरकारी बनाएर प्रसादको रूपमा खाने चलन पनि रहँदै आएको छ ।
देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक, सामाजिक ज्ञान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । अक्षरका वर्णहरू पनि ह्रस्व, दीर्घ, हलन्त, अजन्त, अनुस्वर, विन्दु, विसर्ग, नाद, सरगम, सप्तस्वर संगीत, स्वर, व्यञ्जन, ध्वनि, वर्ण सबै भगवान् शंकरको डमरुको नादबाट निस्केका हुन् भन्ने वैदिकमान्यता रहँदै आएको पाइन्छ ।
सृष्टि निर्माणको क्रममा सर्वप्रथम आदि शक्तिको प्रादूर्भाव भयो । देवी महालक्ष्मीको आहृवानमा त्रिदेव अर्थात् शिव, विष्णु र ब्रहृमा उपस्थित भए । त्यसपछि देवीले तीन देवतालाई आआफ्नो गुण अनुसार सबैभन्दा पहिला शिवजीले तमोगुण महाकाली प्रकट गरे । त्यसपछि विष्णुले रजोगुणबाट मातालक्ष्मी र ब्रहृमाजीले सत्वगुण भएकी सरस्वतीको आहृवान गरे । सनातन धर्ममा विद्याकी आराध्यदेवीको रूपमा सरस्वतीलाई लिइन्छ । ब्रहृमाको मुखबाट जन्मिएकी सरस्वतीको सौम्य स्वरूपको चर्चा पुराणहरूमा पाइन्छ । त्यही शास्त्र अनुरूप प्रतिमा विज्ञानका पुस्तकले नीतिनिर्देशन गरेर सरस्वतीको चित्र वा मूर्ति बनेका छन् । चार बाहुमा पुस्तक, जपमाला, वीणा र कमण्डलु धारण गरेकी सेतो वस्त्र लगाएको मूर्ति बनाउने विधान विष्णुधर्मोत्तरमा पाइन्छ ।
अग्निपुराणमा यक्षमाला, त्रिशूल, पुस्तक र कमण्डलु लिएको सौम्य स्वरूपमा रहेकी सरस्वती माताको मूर्तिको वर्णन पाइन्छ । राजहंसले जस्तै दूध र पानी छुट्याउने क्षमता सबैमा हुनुपर्दछ भन्ने सन्देश सरस्वतीको राजहंसमा पाइन्छ । वसन्त पञ्चमीका दिन सामूहिक रूपमा वसन्त श्रवण गर्ने र वसन्त ऋतुका स्वामी, प्रेमका प्रतीक कामदेवलाई पूजा गर्ने चलन पनि रहेको छ । यस तिथिमा विद्याकी देवी सरस्वती र प्रेमका देवता कामदेव दुवैलाई आहृवान गरेर जीवनमा सन्तुलन ल्याउने प्रवाह पनि गरिन्छ । विद्या, कला, साहित्य र संगीतकी देवी सरस्वतीका प्राचीन मूर्तिहरूका साथै आजकाल नयाँ मूर्तिहरू बनाउने चलन छ । माटोबाट बनाइएका सरस्वतीका मूर्तिहरू पूजापश्चात् नदीमा विसर्जन गर्ने परम्परा रहेको छ ।
माघ महिनाको शुक्लपक्षको पञ्चमी तिथिका दिनलाई वसन्तपञ्चमी (श्रीपञ्चमी) भनिन्छ । यस दिन विद्याकी देवी सरस्वतीको धुमधामका साथ पूजाआजा हुने गर्दछ । जाडो मौसममा पर्ने श्रीपञ्चमीका दिन नानीबाबुहरूको नाक, कान छेड्ने, यस दिन विवाह गर्दा साइत हेराउनु नपर्ने जस्ता चलन पनि रहेको पाइन्छ । विशेषगरी दुर्गा सप्तसतीमा वर्णन गरिएका महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा दशैंमा हुँदै आए पनि सरस्वतीको विशेष पूजा श्रीपञ्चमीकै दिने गर्ने गरिन्छ । सरस्वतीको कृपा प्राप्त भए सबै प्रकारका ज्ञान प्राप्त गर्न सकिने विश्वास वैदिक सनातन धर्ममा रहँदै आएको छ ।
प्राचीन भारत वर्षमा प्रसिद्ध वेदांग ज्योतिषीका अनुसार एक युगमा पाँच संवत्सर, एक संवत्सरमा दुई अयन, एक अयनमा तीन ऋतु, एक ऋतुमा दुई महिना एक महिनामा दुई पक्ष, एक पक्षमा पन्ध्र दिन, एक दिनमा ३० मूहुर्त हुने कुरा बताइएको छ । शुक्लयजुर्वेद शत्पथ– २।।१।।३।।४ मा ‘ब्राहृमणो वसन्तु अग्नीआदधीत’ भनेर वसन्तमा ब्रहृमवेत्ता ऋषिहरूले अग्न्याध्यान गरे भनिएको छ । वसन्त ऋतु सृष्टिकारक तथा उल्लासमय ऋतु हो । वसन्त ऋतुकोुुुुु आगमन हुनुभन्दा ४५ दिनअगाडि अर्थात् माघ शुक्ल पञ्चमीका दिन सबै देवीदेवता भेट भएकाले यसै दिनलाई
पवित्र दिन मानी वसन्त पञ्चमी भनिएको रहेछ । कला र गलाका साधकहरूका लागि श्रीपञ्चमी (सरस्वती–पूजा) एक साधकका रूपमा मानिन्छ ।
आजकै दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीहरू आआफ्ना कला साधनका वस्तु कापी, कलम, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआजा गर्दछन् । यस दिन शिक्षालयहरूमा सरस्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधामसँग बाजागाजासहित पूजाआजा गर्ने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा विणा र पुस्तक लिएकी विद्याकी अधिष्ठात्री सरस्वतीलाई भक्तजनहरू भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी बुद्धिदात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा तथा भुवनेश्वरीका नामले पुकार्ने गर्दछन् । बिहान उठ्ने बित्तिकै विद्याभ्यासी सात्विक व्यक्तिहरू हात हेरेर कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते कर दर्शनम् ।। अर्थात् हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूलभागमा ब्रहृमाको निवास हुन्छ ।
अतः कर्मयोगी हातलाई ब्रहृमको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नता र सरस्वतीको गतिशीलतालाई जोडेर संसारलाई परिवर्तन गर्न सकिने मान्यता रहँदै आएको छ । मकरसंक्रान्तिबाट सूर्य उत्तरी गोलार्धमा सर्दछ । सूर्यको गति उत्तरी गोलार्धमा सरेपछि देवताहरूका दिन सुरु हुन्छन् । देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक, सामाजिक ज्ञान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । अक्षरका वर्णहरू पनि ह्रस्व, दीर्घ, हलन्त, अजन्त, अनुस्वर, विन्दु, विसर्ग, नाद, सरगम, सप्तस्वर संगीत, स्वर, व्यञ्जन, ध्वनि, वर्ण सबै भगवान् शंकरको डमरुको नादबाट निस्केका हुन् भन्ने वैदिकमान्यता रहँदै आएको पाइन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धांगिनीको पूजा उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने कुरा उल्लेख गरिएको छ । त्यसैले आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच