✍️ विमल भौकाजी
नेपालको इतिहास पल्टाउँदा स्पष्ट भेटिने नाम हो-शुक्रराज शास्त्री । जहानियाँ राणाशासनविरुद्ध विद्रोह गरेर शहादत प्राप्त गर्ने कूल चारजना व्यक्तिहरूमध्ये शुक्रराज शास्त्री एक प्रमुख व्यक्ति हुन् । उनको व्यक्तित्वको एउटा विशेषता के थियो भने उनी बौद्धिक र विद्वान् थिए । भारतमा चलेको आर्यसमाजी आन्दोलनबाट प्रभावित भएर शुक्रराज शास्त्रीलगायतका युवाहरूको एउटा समूहले जनतामा चेतनाको बिउ छर्न पुराण र गीताको प्रवचन गर्ने अभियान सुरु गरेका थिए । एउटा प्रवचनमा शुक्रराजले भनेका थिए- ‘सबैले एक दिन मर्नै पर्छ । शरीर नश्वर छ । मर्नुअगाडि कुनै त्यस्तो काम गर्नुपर्छ जसलाई दुनियाँले पछिसम्म याद राखून् ।’ यही उनको भनाइले पनि उनी निकै ठूला विद्वान् थिए भन्ने पुष्टि हुन्छ । उनी धर्मशास्त्रका मर्मज्ञ थिए, ज्ञाता थिए । यतिमात्रै होइन, उनी लेखक पनि थिए ।
करिब एक शताब्दीअघि शास्त्रीले रचना गरेको एउटा पुस्तक नै प्रकाशित भएको थियो, जसको नाम थियो- ‘स्वर्गको दरबार’ । त्यो समय जब राणासत्ताको जगजगी थियो त्यतिखेर कुनै पनि कुरो स्पष्ट बोल्न पाइन्नथ्यो, बोलेका कुराहरूलाई पनि बाङ्गो अर्थ लगाइन्थ्यो । यसर्थ बोल्दाखेरि अत्यन्तै सजग भएर बोल्नुपर्दथ्यो । अझ लेख्नै पर्यो भने त एक-एक शब्द तौली-तौलीकन लेख्नुपर्दथ्यो । अर्को शब्दमा भन्ने हो भने राणाशासकको स्वीकृति नलिई केही बोल्न-लेख्न नपाइने व्यवस्था नै थियो भने पनि हुन्छ ।
त्यस्ता अवस्थामा पनि शुक्रराजले यो पुस्तक प्रकाशित गरेका थिए तर पुस्तकको प्रस्तावना पढ्दा आश्चर्य लाग्छ, कालान्तरमा शहीद भएका व्यक्तिले तत्कालीन श्री ३ महाराजाको चाकडी बजाएर लेखेका छन्- ‘यो मेरो प्रयत्न आफ्ना विद्वता प्रकट गर्नाका लागि होइन, किन्तु हाम्रा श्री ३ महाराजा भीमशससेर जङ्गबादुर राणाका राज्यभिषेकोत्सवको शुभ समारोहमा स्वयं भाग लिई हर्ष प्रकट गरी श्री ३ महाराजका सेवामा अर्पण गर्नाका निमित्त र जननी जन्मभूमि नेपालका तुच्छ सेवाको निमित्तमात्रै हो ।’
मूलतः स्वर्गको परिभाषा के हो ? यसलाई परिभाषित गर्न लेखकले विभिन्न धर्मग्रन्थहरूका श्लोकहरू सापटी लिएका छन् । महाभारतबाट उद्धरण गरेर एकठाउँ भनेका छन्-जसरी माटो, ढुङ्गा, इँटा आदिले बनाएका घरलाई घर-दरबार भनिँदैन, जुन घरमा सुन्दर गृहिणी हुन्छन् त्यो चाहिँ वास्तविक घर-दरबार हो ।
तथापि, यो पुस्तक नैतिक शिक्षा दिने हिसाबले लेखिएको छ । त्यसो त यो पूरै पुस्तक धर्मिक सोचले भरिएको छ । अस्तित्वमा नदेखिएको स्वर्ग नामको विषयमा पुस्तकको थालनी भएर त्यसैमा समापन भएको छ । पुस्तकको विषय-प्रवेशमै यसलाई तीन अध्यायमा विभाजन गरेर लेखिएको जनाइएको छ-
पहिलो अध्याय : यसमा स्वर्ग कसलाई भन्दछन् ? भन्ने वर्णन गरिएको छ ।
दोस्रो अध्याय : यसमा स्वर्गद्वारको बाधक/कारणहरू देखाइएका छन् ।
तेस्रो अध्याय : यसमा यथार्थ स्वर्गरूपको वर्णन गरिएको छ ।
मूलतः स्वर्गको परिभाषा के हो ? यसलाई परिभाषित गर्न लेखकले विभिन्न धर्मग्रन्थहरूका श्लोकहरू सापटी लिएका छन् । महाभारतबाट उद्धरण गरेर एकठाउँ भनेका छन्- जसरी माटो, ढुङ्गा, इँटा आदिले बनाएका घरलाई घर-दरबार भनिँदैन, जुन घरमा सुन्दर गृहिणी हुन्छन् त्यो चाहिँ वास्तविक घर-दरबार हो । त्यसै प्रकार विदुषी सुन्दरी रमणी जो जङ्गलमा भेटिए पनि त्यो जङ्गललाई तिनको उपस्थितिले नै मङ्गल गरिदिन्छन्, यसैलाई स्वर्गको दरबार भनेर तोकेरै भनेका छन् । वास्तवमा सम्पूर्ण किताबभरि स्वर्गको दरबार भनेर नारीस्वरूपलाई नै चिनाइनमा बढी जोड दिइएको छ । उनी भन्छन्-नारी जो चरित्रहीन छैनन्, शारीरिक रूपले नभईकन पतिव्रताका रूपले घर सँभालेका छन् भने त्यो घर नै स्वर्ग हो, अन्यथा त्यो स्वर्ग होइन नर्क हो ।
आज मानिने गरेको जस्तै उनको पनि मान्यतामा नारीको शरीर-रूपभन्दा महत्वपूर्ण कुरा तिनको चरित्र नै हुन्छ भन्ने छ । व्यवहारमा जो असामाजिक छ अर्थात् समाजसँग अनमेल तादत्म्य राख्छ उसले स्वर्गको अनुभूत गर्नै सक्दैन । लेखक यसका उदाहरण दिन्छन्- बालविवाह गर्नु, वृद्धविवाह गर्नु, बहुविवाह गर्नु स्वयम्बर नगरी विवाह गर्नु वा कुटुम्बेरी विवाह गर्नु असामाजिक हुनु हो । यस खालका विवाह गरेर गरिएको घरबासमा सन्तुलन नहुने ठोकुवा गर्छन् उनी । जर्मन दार्शनिक नित्सेको भनाइ उद्धरण गर्दै लेखक भन्छन्- विवाहको अर्थ केवल एक–अर्कामा विवाह हुनुमात्रै होइन, केवल सन्तान उत्पादनका लागि मात्रै गरिएको विवाहको कुनै अर्थ छैन ।
विवाह गर्ने जोडीबीच आपसमा दुवैप्रति समर्पित भाव हुनुपर्छ, एक-अर्काले आपसमा श्रद्धाभाव राखेको हुनुपर्छ, दुवैमा समान प्रेम रहेको हुनुपर्छ । यसको अर्थ यही हो कि यस खालको दाम्पत्यले मात्रै जीवनमा वास्तविक स्वर्गको दर्शन गराउँछ । त्यति मात्रै होइन, कदाचित् त्यस खालको दाम्पत्यलाई अस्वीकार गरेर बसाएको घरगृहस्थी छ भने, अर्थात् त्यस्तो अनमेल विवाहबाट जन्मिएको सन्तान छ भने त्यो कदापि स्वस्थ हुँदैन, तेल नभएर चाँडै निभ्ने बत्तीजस्तै गरेर त्यो सन्तान अन्ततः रोगाएर मर्छन् । जीवन स्वर्गिक नबन्नाका अर्को कारण घर-कलहलाई पनि प्रमुख मानेका छन् लेखकले । पति-पत्नीबीच, दाजुभाइबीच, सासू-बुहारीबीच, देउरानी-जेठानीबीचको असमझदारीले निम्त्याउने कलहले घरमा अशान्ति फैलिन्छ । यो वास्तविकतालाई कसैले नकार्न सक्तैन ।
समग्रमा, किताबको सार यही हो-जीवनको सुख-शान्ति नै वास्तविक स्वर्ग हो । पुस्तकले पाप-पुण्यको बाटो देखाएर स्वर्गको परिभाषित गरे पनि वास्तविक स्वर्ग यही संसार नै हो । अहिले स्वार्थको दान-धर्म गरेर स्वार्थी जीवन बाँच्नुभन्दा कसैलाई कुभलो नगरी अहिले निःस्वार्थ जीवन बाँच्न सके मरेपछि स्वर्गको ढोका खुल्ने आश नै गर्नु परेन, स्वर्ग यही जीवनमा अनुभूत गर्न सकिन्छ । जनमत वाङ्मय प्रतिष्ठाद्वारा प्रकाशित एवम् भुँडीपुराण प्रकाशन प्रमुख वितरक रहेको यो पुस्तक ‘स्वर्गको दरबार’ निकै उपयोगी छ भन्नुमा कञ्जुस्याइँ गर्नुहुँदैन । bimalbhaukajee@hotmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच