पुरन साह/हिटा
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत लिने तयारी गर्नुभएको छ । मधेश सरकारमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज (आइतबार) तेस्रोपटक विश्वासको मत लिने तयारी गर्नुभएको हो । गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनमतका दुई मन्त्रीले राजीनामा दिएका थिए । जनमतबाट मन्त्री हुनुभएका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारबाट बाहिरिनुभएको थियो । सरकारबाट पार्टीको बहिर्गमनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि एक महिनाभित्र अर्थात् फागुन ८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । सोहीअनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो ।
मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी आइतबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराइसकेको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जानकारी आएको पनि सचिवालयले जनाएको छ ।
२०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुन नेपालको संविधान २०७२ को धारा १८८ को २ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आहृवान गरी विश्वासको मत लिनसक्ने प्रावधान छ ।
मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले) को २३ सिट, नेपाली कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र) को नौ, नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल संघीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एकसिट र तीन स्वतन्त्र रहेका छन् ।
मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन् । वर्तमान समीकरणअनुसार चार दलका ६५ जनाको समर्थन मुख्यमन्त्री यादवलाई देखिएको छ । यसअघि मुख्यमन्त्री हुँदा उहाँलाई सत्ता साझेदार दलहरूका ७२ जना सांसदले सहयोग गरेका थिए । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतको लागि ५४ सांसदको आवश्यक छ ।
सत्ता गठबन्धनमा जसपाले सुरुको एक वर्ष र त्यसपछि क्रमशः जनमतले एक वर्ष, कांग्रेसले दुई वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, जसपाले त्यसको उल्लंघन गर्दै सरकार चलाइरहेको छ । जसपा नेतृत्वको सरकारले गैरकानुनी रूपमा देखाएको यो दम्भपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच