
काठमाडौं । बाराको निजगढ नगरपालिका-५ का भोलाप्रसाद ढुंगानाको पेसा कृषि हो । खेतबारी र गाई, भैँसीको स्याहार सुसारमै उहाँको दिन बित्छ । मुख्य पेसा नै कृषि भएकाले आम्दानीको स्रोत पनि अरू हुने कुरै भएन । उहाँले गाँस, बास र कपासको व्यवस्था गर्ने यही कृषि पेसाबाटै हो । कृषि फर्मसमेत सञ्चालन गर्नुभएका उहाँले गाईभैँसी पाल्नुभएको छ । गाई, भैँसीको दूध बेचेर नै उहाँको खाने/लाउने व्यवस्था हुन्छ । यसैबाट घरखर्च चलाउने र बच्चाबच्ची पढाउने गर्नुहुन्छ । कहिलेकाहीँ बिरामी हुँदा उपचारको जोहो पनि यसैबाट हुन्छ । तर, पछिल्लो तीन/चार महिनादेखि उहाँको आम्दानी ठप्पै छ । काम छुटेको छैन तर, पैसा आउने बाटो बन्द छ । ‘साढे तीन महिनादेखि दूध बेचेको पैसा पाएको छैन,’ मुख्य आम्दानीकै स्रोत बन्द भएपछि आर्थिक समस्याले सताउन थालेको छ,’ हिमालय टाइम्सलाई आफ्ना दुःख सुनाउँदै ढुंगानाले भन्नुभयो, ‘आउने ठाउँबाट पैसा नआएपछि समस्याले सताउन थालेको छ । आफू भोकै बस्न सकिँदैन । गाई–भैँसीलाई घाँस र दानापानी नभई भएन । दूध बेचेको पैसा नपाएपछि कहाँबाट जोहो गर्ने ?’
उहाँले स्थानीय बागदेव दुग्ध उत्पादक सहकारी संस्थालाई दूध बेच्दै आउनुभएको छ । तर, संस्थाले तीन महिना बढी समयदेखि पैसा दिएको छैन । माग्न जाँदा संस्थाले पनि दुग्धजन्य पदार्थ बिक्री नभएकाले दिन नसक्ने जवाफ दिन्छ । केही बिक्री भएको दुग्धजन्य पदार्थको पैसा संस्थाले पनि नपाएकाले दिन नसक्ने बताउने गरेको उहाँले सुनाउनुभयो ।
यो उहाँ एक्लैको पीडा भने होइन । कृषि पेसामै लाग्नुभएका कैलालीका भवानी गिरीको अवस्था पनि उस्तै छ । बर्दगोरिया गाउँपालिका-३ का गिरीले दिनको १० लिटर दूध बेच्नुहुन्छ । उहाँले पनि तीन महिनादेखि दूध बेचेको पैसा पाउनुभएको छैन । दूधको पैसा माग्न जाँदा उहाँले पाउने जवाफ पनि ढुंगानाको भन्दा भिन्न छैन । ‘दुग्धजन्य उत्पादन बिकेन, बिकेको सामानको पैसा आएन, अनि तपाईंलाई कसरी दिनू ?’ उहाँले दूध बेच्ने दैनिक डेरीले दिने जवाफ हो यो । बाराका किसान ढुंगाना र कैलालीका गिरी त प्रतिनिधि किसान हुन् । यतिबेला देशभरका लाखौँ किसानले दूध बेचेको पैसा पाएका छैनन् ।
दुग्ध उत्पादक किसानले विगत ६ महिनादेखि दूध बिक्री गरेको पैसा पाएका छैनन् । डेरी उद्योगीहरूले दूध किने पनि पैसा नदिएपछि किसान समस्यामा छन् । अहिलेसम्म सरकारी स्वामित्वको डिडिसी र निजी डेरीहरूले करिब ६ अर्ब रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका महासचिव रामप्रसाद आचार्यले बताउनुभयो । दूध बेचेको पैसा नपाएपछि किसानलाई दानापानीको जोहो गर्नै मुश्किल पर्न थालेको उहाँको भनाइ छ ।
देशभर करिब ६ लाख दुग्ध किसान छन् । त्यसमध्ये करिब पाँच लाख साना किसान छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्था (डिडिसी) र निजी क्षेत्रका डेरीले कुल ६ अर्ब बढी रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमा सबैभन्दा धेरै करिब दुई अर्ब रुपैयाँ डिडिसीले नै दिएको छैन । अन्य ८० भन्दा बढी डेरी उद्योगहरूले भुक्तानी दिएका छैनन् । दूधको पकेट क्षेत्र मानिने चितवन, काभ्रे, मकवानपुर तथा पूर्वी नवलपरासीका किसानको बक्यौता धेरै छ ।
देशभरका ३० ठाउँमा दुई घण्टा चक्काजाम
दुग्ध किसानका विभिन्न संघ संगठनले देशभरका ३० ठाउँमा चक्काजामसहित प्रदर्शन गरेका छन् । दुग्ध बक्यौताको रकम माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका किसानले बिहीबार देशभरका ३० ठाउँमा दुई घण्टा चक्काजामसहित प्रदर्शन गरेका हुन् । आन्दोलनरत किसानले दूधको रकम पाउनुपर्ने, दूध बिक्रीको ग्यारेण्टी हुनुपर्ने, मिल्क होलिडे सदाका लागि बन्द हुनुपर्ने, उत्पादनका आधारमा अनुदान दिनुपर्ने, प्रतिलिटर अनुदान कायम गर्नुपर्ने, किसानलाई सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने, सहकारीमार्फत पशुधन संरक्षण कार्यक्रम लागू हुनुपर्ने, पशु बिमा कार्यक्रम लागू गर्नुपर्नेलगायत माग राखेका छन् ।
कृषि मन्त्रालय घेराउ
विगत पाँच/६ महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसानहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार बागमती प्रदेशको राजधानी हेटौँडामा मकवानपुरका दुग्ध उत्पादक किसानहरूले प्रदेशस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर नारा जुलुस गरेका हुन् । त्यसक्रममा उनीहरूले हेटौँडा-काठमाडौं आउजाउ गर्ने सडकसमेत बन्द गराएका थिए । चार/पाँच महिना भइसक्दा पनि दूधको रकम नपाएपछि गाईभैँसीलाई दाना खुवाउन, बैंकको ब्याज-किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै आफूहरू आन्दोलित हुनु परेको उनीहरूले बताएका छन् । बक्यौता नपाएपछि बिहीबारदेखि चरणबद्ध आन्दोलन सुरु गरिएको दुग्ध उत्पादक संघका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले बताउनुभयो ।
सडकमा दूध फालेर विरोध
समयमै दूधको मूल्य नपाएको भन्दै सुदूरपश्चिमका दुग्ध उत्पादक किसान आन्दोलित बनेका छन्् । दुग्ध वितरण आयोजना धनगढी वितरण केन्द्र अत्तरियाले किसानको दूधको मूल्य दिन आनाकानी गरेको भन्दै किसानहरूले सडकमा दूध फालेर विरोधसमेत गरेका हन् । सरकारले नेपाली दूधको मूल्य नदिएर नेपाली उत्पादनलाई निरुत्साहित गर्दै भारतीय दूध आयातमा सहजीकरण गरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । अखिल नेपाल किसान महासंघको नेतृत्वमा कैलालीको अत्तरियामा किसानहरूले सरकारविरुद्ध आन्दोलन गरेका थिए ।
उद्योगमा थन्कियो ७५ करोडको दूध र घ्यू
भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरूको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा उहाँका अनुसार ७५ करोड रुपैयाँभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०/५० टनका तीनवटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । ‘उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ । तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ,’ प्रबन्धक दुर्गा पराजुलीले भन्नुभयो, ‘घ्यू कोल्डस्टोरमा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने हुन्छ । विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाउनुपरेको छ ।’
उद्योग बन्द भए पनि झण्डै १६ लाखको बिजुली र १० लाख हाराहारीको डिजेल खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । योसँगै उद्योग सञ्चालन हुँदा ४० लाख हाराहारीको भुस प्रयोग हुने गरेको उहाँको भनाइ छ । प्रशोधन गरिएको घ्यू सात सय हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ । ठाउँअनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्दछन् । यस हिसाबले पनि ४० करोडभन्दा बढीको घ्यू भण्डारणमा रहेको पराजुलीले बताउनुभयो । उहाँका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ । ‘एक बोरामा २५ किलो हुन्छ । दूध प्रतिकिलो बजारमा सात सय हाराहारीमा बिक्री हुने गरेको छ । खुद्रा बिक्री हुँदा दररेट संस्थाले केही बढी तय गर्ने गरेका छन् । यसरी हेर्दा ३५ करोडभन्दा बढीको पाउडर दूध भण्डारणमा छ,’ उद्योगका प्रबन्धक पराजुलीले भन्नुभयो । उहाँका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएका पराजुलीको भनाइ छ । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उहाँले बताउनुभयो ।
बिचौलियाका अगाडि राज्य निरीह बन्यो : भोलाप्रसाद ढुंगाना
बाराको निजगढ नगरपालिका-५ का किसान भोलाप्रसाद ढुंगानाले समयमै दूधको भुक्तानी नपाउँदा दैनिकी चलाउनै गाह्रो भइरहेको बताउनुभयो । समयमै दूध बेचेको पैसा नपाउँदा आफ्नो लाखौँ लगानी जोखिममा परेको उहाँले बताउनुभयो । राज्यले नारा र नीतिमा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने बताए पनि व्यवहारमा लागू हुन नसकेको उहाँको भनाइ छ । बिचौलियाका अगाडि राज्य निरीह बनेको उहाँले आरोप लगाउनुभयो । ‘सरकारले भन्दाखेरी दूधमा आत्मनिर्भर बनाउने भन्छ । तर, अवैध रूपमा दुग्धजन्य पदार्थ आयात हुँदा हामीलाई समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले महिनौँदेखि दूधको पैसा पाएका छैनौँ । राज्य बिचौलियाका अगाडि निरीह बन्यो ।’
आन्दोलनको आँधीबेहरी नल्याई सरकारले सुन्ने देखिएन : थानेश्वर सापकोटा
फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरी माग पूरा नभएसम्म निरन्तर जारी रहने केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका सचिव थानेश्वर सापकोटाले बताउनुभयो । माग सम्बोधन गर्न सरकारलाई फागुन २० गतेसम्मको डेटलाइन दिएको भन्दै नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने उहाँले बताउनुभयो । ‘देशैभरी किसान जागेका छन् । अब माग पूरा नभएसम्म आन्दोलन रोकिन्न,’ उहाँले भन्नुभयो, ‘सकेसम्म हामीलाई काठमाडौं आउन बाध्य नपारोस् भन्ने हो । २० गतेसम्म माग पूरा भएन भने २१ गते माइतीघर मण्डलामा प्रदर्शन सुरु हुन्छ । प्रधानमन्त्री र मन्त्री निवास घेर्छौं । त्यसपछि माग पूरा नभएसम्म फकिँदैनौं । आन्दोलनको आँधीबेहरी नल्याई सकारले सुन्ने देखिएन ।’ त्यसअघि नै सरकारले समस्या समाधानका लागि पहल गर्ने गर्नुपर्ने उहाँको भनाइ छ । ‘गत मंसिर १८ गते पनि आन्दोलन गरेका थियौँ । सरकारले सहमति पनि ग¥यो,’ उहाँले भन्नुभयो, ‘तर, चार महिनासम्म पनि सहमति कार्यान्वयन भएन । सरकार हाम्रो विषयमा संवेदनशील छैन ।’
२१ गते देशभरका किसानलाई माइतीघरमा भेला गराउँछौँ : रामप्रसाद आचार्य
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका महासचिव रामप्रसाद आचार्यले लामो समय दूध बेचेको पैसा भुक्तानी नहुँदा बाध्य भएर किसानहरू आन्दोलित भएको बताउनुभयो । किसानको आन्दोलनमा विभिन्न राजनीतिक दल र संघ संगठनले समेत साथ दिइरहेको उहाँले बताउनुभयो । किसानका माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । ‘विभिन्न चरणका आन्दोलनका कार्यक्रम भइरहेका छन् । बिहीबार देशभरका विभिन्न ठाउँमा चक्काजामसहित विरोध प्रदर्शन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले किसानका माग सम्बोधन गर्नुपर्छ । नभए २१ गतेबाट देशभरका किसानलाई माइतीघरमा भेला गराउने कार्यक्रम छ ।’ सरकारले अनौपचारिक रूपमा कुराकानी गर्न खोजिरहेको उहाँले बताउनुभयो । तर, औपचारिक रूपमा भने कुनै जानकारी नआएको उहाँको भनाइ छ । ‘सरकारले अनौपचारिक रूपमा कुरा त गरिरहेको छ । तर, औपचारिक रूपमा भनेको छैन,’ उहाँले भन्नुभयो, ‘किसानका मागप्रति सरकार गम्भीर बन्नुपर्छ । वार्ताको वातावरण बनाउनुपर्छ ।’
भुक्तानी दिन नपाएकोमा सरकारभन्दा बढी हामी चिन्तित छौँ : प्रहृलाद दाहाल
किसानको भुक्तानीको विषयमा डेरी उद्योगी पनि चिन्तित देखिएका छन् । विभिन्न कारणले भुक्तानी हुन नसकेको भन्दै उनीहरूले पनि चिन्ता व्यक्त गरेका हुन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले धेरै समस्या एकैचोटि आउँदा भुक्तानी गर्न समस्या भएको बताउनुभयो । लम्पी स्किन रोग, आर्थिक मन्दी र नेपालीभन्दा भारतीय दुग्धजन्य पदार्थ सस्तो हुँदा किसानलाई समयमै भुक्तानी गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । ‘नेपालीको डेरी इतिहासमा पहिलोचोटि यस्तो समस्या आएको छ । पहिले पनि सानातिना आउँथे । तर, चाँडै समस्या समाधान भइहाल्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले चार/पाँचवटा समस्या एकैचोटि आइदिँदा समस्या भएको हो । हामीले किसानबाट दूध लिँदै राख्दै गयौँ । तर, बिक्री भएन । सबै भद्रगोल भयो ।’ चाँडै नै सबै समस्या समाधान हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘किसानलाई भुक्तानी दिन नपाएकोमा सरकारी निकायभन्दा बढी हामी चिन्तित छौँ । सधैँ किसानसँग जोडिरहने हामी हो,’ उहाँले भन्नुभयो, ‘हामीलाई नै दूध चाहिन्छ । धुलो दूध बाहिर निर्यात गर्न सकिन्छ । राज्यले थोरै सहुलियत गरिदियो भने हुन्छ । सरकारले निर्यातमा सरकारले सहयोग गरोस् । हामी जतिसक्दो चाँडो म्यानेज गरेर तिर्छौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच