राजनीतिक नेतृत्वका सन्दर्भका सबै सैद्धान्तिक भाष्यहरू परिवर्तन गर्नुपर्ने भएको छ । चेरापुञ्जीको मौसम जसरी एकैछिनमा पानी, केही छिनमा घाम र तुरुन्त नै कुहिरो जस्तो भएर नेपाली राजनीतिक नेतृत्वको गति परिवर्तन हुने गरेकाले नयाँ भाष्य हुनुपर्ने आवश्यकता देखिएको हो । किनकि एकाएक सरकारको समीकरण बदलिएको छ । यो अकस्मात् फेरवदल किन भयो ? यो प्रश्नका पछाडिका अनेक गुत्थीहरू भविष्यमा सुल्झदै जालान् । अहिले नै पर्दापछाडिका सूत्राधारहरूको खोजिगर्नु हतार हुनेछ ।
विद्यमान गठबन्धन तोडिएर समीकरण फेरिएको दिन बिहानसम्म पनि गठबन्धनमा रहेका दलका केही सदस्यहरू यो गठबन्धन भत्किँदैन भनिरहेका थिए । यसलाई पाँच वर्षसम्मै टिकाउने उद्घोषदेखि गठबन्धनमा कुनै समस्या नभएको विचार मन्त्री पदमा रहेका व्यक्तिहरूबाट समेत आइरहेको थियो । प्रतिपक्षमा रहेको नेकपा एमालेका सदस्यहरूबाट मात्रै सरकार र गठबन्धनको विरोध र आलोचना भएको थियो । तर, एकाएक उक्त समीकरण झ¥यामझुरुम भएर भत्कियो र नयाँ खालको परिदृश्यको विकास हुनपुग्यो । हुन त यो आश्चर्य मान्नुपर्ने कुरा होइन किनभने एउटै दलको बहुमत नभएको र विभिन्न पार्टीहरू मिलेर बनाएको सरकार धेरै लामो समयसम्म टिक्न सक्दैन भन्ने पूर्वानुमान जहिले पनि भइरहने कुरा हो ।
अन्ततः परिणाम पनि त्यस्तै आयो । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिन्नेहरूले पनि यही किसिमले उहाँको मूल्यांकन गर्ने गरेका छन् । एक त आफ्नो स्वार्थअनुकूल हुनेगरी जोसँग जतिबेला पनि समीकरण गर्न तयार हुने र छिन छिनमै आपूmले गरेका प्रतिबद्धताहरू तोडेर समीकरण फेर्ने कार्यमा उहाँ सीपालु हुनुहुन्छ भनेर उहाँका सम्बन्धमा भन्ने गरिन्छ । उहाँको प्रवृत्तिले यस्तै देखाएको पनि छ । उहाँहरूका शब्दमा ‘जनयुद्ध’ भन्ने गरिएको सशस्त्र हिंसालगत्तैको संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि उहाँहरूमा जति उत्साह भरिएको थियो पछिका निर्वाचनबाट माओवादी केन्द्रको साख गिर्दै गएपछि प्रतिरक्षात्मक अवस्थामा माओवादी पुग्यो । तैपनि आफ्नो अस्तित्व बचाउने अभियानमा उहाँको चतुर्याइँले अझैसम्म काम गरिरहेको छ ।
निर्वाचनमा एक्लै गएको भए आफू केही सिटमा मात्र सीमित हुनुपर्ने अवस्थाबाट पार्टीलाई जोगाउनुपर्ने स्थिति पैदा नहोस् भनेर उहाँले गठबन्धन गरेर अगाडि बढ्ने कार्यमा नेपाली कांग्रेसलाई समेत सहमत गराउनुभयो । गत वर्षको निर्वाचनसम्म माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मित्रशक्तिका रूपमा रहेका थिए । निर्वाचनमा एक भएर गए । निर्वाचन सकिनासाथ पुष्पकमल दाहाल केही समयअगाडि आफैंले साथ छोडेर उसकै विरुद्धमा सडक आन्दोलन गरेको पार्टी नेकपा एमालेसँग हातेमालो गर्न पुग्नुभयो र प्रधानमन्त्री बन्न सफल हुनुभयो । तर, त्यो एकता पानीको फोका फुटेझैँ तीन महिना पनि बित्तन नबित्दै भत्किन पुग्यो र फेरि उहाँ पछाडि फर्केर नेपाली कांग्रेससँगै हातेमालो गर्न पुग्नुभयो, एमालेसँगको साथ टुट्यो ।
यसरी सरकार बनेको एक वर्ष भयो । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल र उहाँ पालोफेरोमा प्रधानमन्त्री बन्ने सहमतिलाई लत्याएर हाल एमालेसँगको साथ लाग्न जानुभयो । गत वर्षको आमनिर्वाचनमा प्रतिनिधिसभामा ३२ स्थानमा विजय हासिल गरेको माओवादी केन्द्रले यसरी समीकरण फेरिफेरि प्रधानमन्त्रीको पद आफ्नै पोल्टामा पारिरहने नीति अवलम्बन गरिरहेको छ । प्रधानमन्त्री पद आपूmबाहेक अरूलाई नदिने महारोगकै कारण दुई तिहाइ निकटको बहुमत भएर पनि नेकपा फुटेर छिन्नभिन्न बन्न पुगेको थियो । अहिले तिनै शक्तिहरू यसरी एक ठाउँमा आएका कारण यसको स्थायित्वमा विश्वस्त बन्न सकिने अवस्था छैन । पहिलेकै जसरी गठबन्धन तोड्न सक्दैनन् भन्ने कुनै प्रत्याभूति कसैले दिन सक्दैन ।
गत वर्ष एकता भएको तीन महिनामै एमालेसँगको साथ छोड्ने र अहिले कांग्रेस, एकीकृत समाजवादी लगायतसँगको सम्बन्धमा लात बजोर्ने प्रचण्डले एमालेसँगको साथ चाहिँ लामो समयसम्म कायम राखिराख्नुहोला भन्ने कुरामा विश्वास गर्न सकिँदैन । अर्को कुरा नेपाली कांग्रेसलाई सरकारबाट बाहिरिनु परेको पीडा देखिन आए पनि पछिका लागि सत्ताबाहिर रहनु नै फलदायी हुनसक्छ । सबैभन्दा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नपाउनु दुःखपूर्ण त छँदैछ तर सबै पार्टी एकातिर भएर कांग्रेसलाई एक्लो पार्ने नीतिअनुसार अगाडि बढेका कम्युनिष्ट पार्टीहरू कालान्तरसम्म एकै ठाउँमा बस्न सक्ने कुरा भरपर्दो छैन । ती पार्टीहरूको विगतबाट पनि यस्तै देखिँदै आएको छ । भोलिका दिनमा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुनः नेपाली कांग्रेसको साथ खोज्दै आउनुभयो भने पनि त्यो आश्चर्यको विषय मानिने छैन ।
अर्कातिर प्रचण्डबाट नेपाली कांग्रेसले दुई पटक धोका पाइसकेको र एमालेले पनि आमनिर्वाचन पहिले एक पटक र निर्वाचनपछि एक पटक गरी दुई पटक धोका पाएका कारण भोलिका दिनमा धोका पाउँदैन भन्ने छैन । यदि त्यस्तो परिस्थिति आयो भने एमाले र नेपाली कांग्रेसले पनि फेरि उहाँलाई विश्वास गर्न सक्ने अवस्था रहँदैन । हुन त राजनीतिमा सबै कुरा जायज हुन्छन् भनिन्छ तैपनि अब त्यस्तो राजनीतिक परिस्थिति सिर्जना भयो भने उहाँबाट पटक-पटक धोका खाएका दुई राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिने हो भने त्यो एकता चाहिँ बाँकी अवधिसम्म टिक्न सक्ने कुरामा विश्वस्त बन्न सकिन्छ । हामीचाहन्छौं : नवगठित गठबन्धन ठगबन्धनमा परिणत नहोस् र यसले मूल तिन कार्य पहिलो देशको स्वाभीमानको रक्षा, दोस्रो जनताका पक्षमा विकास र तेस्रो राजनीतिक प्रणालीको सुदृढीकरण । यी तीनवटै विषयमा सरकार सफल होस् हाम्रो तर्फबाट शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच