
काठमाडौं । आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको चहलपहल तीव्र बनेको छ । राजनीतिक दल उम्मेदवारहरू मतदातालाई रिझाउन घरदैलोमा व्यस्त छन् । आगामी उपनिर्वाचनमा पनि परम्परागत शक्ति नेपाली कांग्रेस र नेकपा एमालेबीच नै निकटतम् प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । तर, नयाँ दल र पहिचान पक्षधरहरूले अनपेक्षित परिणाम ल्याउन सक्ने चर्चा पनि त्यत्तिकै छ इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत वर्ष मंसिरमा सम्पन्न चुनावमा उम्मेदवार बन्नुभएको थियो । त्यतिबेला नेकपा एमालेको तर्फबाट उम्मेदवार संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाउनुभएको थियो । नेम्वाङसँग ११४ मतले पराजित हुनुभएका खड्कालाई उपनिर्वाचनमा बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।
खड्काको बलियो प्रतिस्पर्धीको रूपमा देखिनुभएको छ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ । सुहाङ दिवंगत सुवासका छोरा हुनुहुन्छ । सुहाङलाई आफ्नो बुवाको विरासत, नेकपा एमालेको बलिया संगठन र सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रको बलियो साथ छ । इलाम–२ मा करिब ६५ प्रतिशत जनजाति र ३५ प्रतिशत खसआर्य मतदाता रहेका छन् । नेताहरूका अनुसार एमाले, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमत र स्वतन्त्र उम्मेदवार जनजाति समुदायबाट मैदानमा आएपछि कांग्रेसले रणनीतिक रूपमा खसआर्य समुदायका खड्कालाई अगाडि सारेको हो । २०७९ को निर्वाचनमा खड्कालाई माओवादी र एकीकृत समाजवादीको पनि साथ थियो । आगामी उपनिर्वाचनमा खड्कालाई माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ दिनेछैन । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा अप्रत्याशित नजिता ल्याउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बूलाई अगाडि सारेको छ ।
पछिल्लो समय कोशी प्रदेश र त्यसमा पनि इलाममा प्रदेश नामकरण र पहिचानको मुद्दा जबरजस्त रूपमा उठेको छ । पहिचानवादी समूहले डकेन्द्र थेगिमलाई स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि सारेको छ । थेगिम कोशी प्रदेश खारेजीको माग गर्दै पहिचानवादीले गरेको आन्दोलनको अग्रमोर्चामा रहनुभएको थियो । थेगिमलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ राईको बलियो साथ रहेको छ ।
गत स्थानीय चुनावमा इलाम-२ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस र एमाले लगभग बराबर अवस्थामा छन् ।
कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले दुई हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, एकीकृत समाजवादीले २७७ र राप्रपाले १३० मत पाएका छन् । गत वर्ष मंसिरको आम चुनावमा इलाम-२ मा समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत आयो भने कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । समानुपातिकतर्फ माओवादीको मत पाँच हजार १५३, रास्वपाको मत चार हजार ६८६, नेशनल मंगोल अर्गनाइजेसनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टी १४१३, संघीय लोकतान्त्रिक मञ्च १३२९, राप्रपा ११९१, जसपा ९०६ र नेकपा एकीकृत समाजवादीको ५८६ मत थियो ।
शीर्ष नेताहरू इलाम केन्द्रित
आफ्नो उम्मेदवार विजयी गराउन राजनीतिक दलका शीर्ष नेताहरू इलाम-२ मा केन्द्रित भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ५ (बुधबार)का लागि बृहत् संयुक्त आमसभा आयोजना गर्दै छ । उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू पुग्ने कार्यक्रम रहेको छ । इलामकी इञ्चार्जसमेत रहनुभएकी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे केही सातादेखि निर्वाचन क्षेत्रमै व्यस्त रहनुभएको छ । नेपाली कांग्रेसले वैशाख ८ गते विशेष सभा गर्दै छ । इलाम नगरपालिकामा पर्ने इलाम चोक बजारमा हुने सभामा कांग्रेस डा.शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलगायत शीर्ष नेताहरू सम्बोधनका लागि पुग्ने तय भएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अहिले इलाममै रहनुभएको छ । शर्मालाई पार्टीले इलामको चुनावी कमाण्डर बनाएर पठाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख ७ गते इलाम चोक बजारमै आमसभा गर्दै छ । आमसभालाई पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । लामिछाने कम्तीमा तीन दिन इलाम-२ मै रहने रास्वपाले जनाएको छ । वैशाख ६ र ७ गते शिक्षामन्त्री सुमना श्रेष्ठ इलाम पुग्ने कार्यक्रम तय भएको छ । श्रेष्ठ दुई दिन चुनावी अभियानमा सहभागी हुने बताइएको छ । त्यस्तै, ८ गते श्रममन्त्री डोलप्रसाद अर्याल । सांसद सोविता गौतम पनि इलाम पुग्ने कार्यक्रम छ । पार्टीका चुनावी कमाण्डर सहमहामन्त्री कविन्द्र बुर्लाकोटी केही सातादेखि इलाममै रहनुभएको छ ।
यस्तो छ विगतको इतिहास
इलामको संसदीय निर्वाचनमा एमालेको दबदबा देखिन्छ । २०१५ सालमा तत्कालीन इलाम पश्चिमबाट कांग्रेसका गणेशप्रसाद रिजाल र इलाम पूर्वबाट कृष्णबहादुर शाखे निर्वाचित भएका थिए । २०४८ को आमनिर्वाचन इलाम एमालेमय भयो । इलाम १ बाट एमालेका झलनाथ खनाल र इलाम २ बाट मणिकुमार लिम्बू निर्वाचित हुनुभयो । २०५१ मा इलाम १ मा खनाल दोहोरिँदा २ मा कांग्रेसका कुलबहादुर गुरुङ निर्वाचित हुनुभयो । २०५६ मा इलाममा तीनवटा निर्वाचन क्षेत्र तोकिँदा १ मा कांग्रेसका बेनुप प्रसाईं र ३ मा केशव थापाले जित्दा २ मा एमालेका सुवास नेम्वाङ निर्वाचित हुनुभएको थियो । २०६४ मा इलाम १ मा एमालेका खनाल र २ मा नेम्वाङ निर्वाचित हुनुभयो भने इलाम–३ मा कांग्रेसका गुरुङले बाजी मार्नुभयो । २०७० मा गुरुङको ठाउँमा कांग्रेसका थापा निर्वाचित हुनुभयो भने अन्य दुई क्षेत्रमा उस्तै परिणाम आयो । दुईवटा निर्वाचित क्षेत्र कायम हुँदा २०७४ र ०७९ को नर्वाचनमा कांग्रेस इलाममा निल भयो ।
बझाङमा पनि बढ्यो केन्द्रीय नेताको दौडधुप
वैशाख १५ गते उपनिर्वाचन हुने अर्को क्षेत्र हो बझाङ प्रदेशसभा-१ । उपनिर्वाचनलाई लिएर मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ । उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि अहिले कांग्रेस, एमाले र माओवादीका केन्द्रीय स्तरका नेता बझाङ पुगिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि चाहिने अंकगणितमा बझाङबाट जित्ने प्रदेश सभा सदस्यले महत्व राख्ने भएकाले दलहरूले उपनिर्वाचनलाई महत्वका साथ हेरेका छन् । कांग्रेसले स्वर्गीय सांसद पृथ्वीबहादुर सिंहका छोरा अभिषेकबहादुर सिंह, एमालेले दमन भण्डारी र माओवादी केन्द्रले जनक बुढालाई आ-आफ्ना उम्मेदवारका रूपमा मैदानमा उतारेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावल मनोनयनदेखि नै बझाङमा खटिएका छन् । पूर्वपरराष्ट्र मन्त्री एनपी साउद, पूर्वमन्त्री गोविन्दबहादर शाह, कांग्रेस केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृप ओडलगायत नेता पनि बझाङ पुगेका छन् । बद्री पाण्डे, प्रदीप पौडेल, उमेशजंग रायमाझी लगायतका नेतापनि बझाङ आउने कार्यक्रम रहेको छ ।
एमालेले आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरूलाई मनोनयन अघिदेखि नै बझाङमा सक्रिय बनाएको थियो । एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, केन्द्रीय सदस्य एवं पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी लगायतका नेता बझाङमा आफ्ना उम्मेदवारलाई जिताउन दौडधूप गरिरहेका छन् । सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल आफ्नो दलका उम्मेदवार जनक बुढाको पक्षमा जनमत सिर्जना गर्न बझाङमा खटिनुभएको छ । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी केन्द्र र समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका स्वर्गीय सिंहले १७ हजार ११२ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३७६ मत पाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच