
काठमाडौं । विसं. २०२३ सालमा सार्वजनिक भएको नेपालको पहिलो व्यावसायिक चलचित्र ‘माइतीघर’का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको सोमबार काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।
निमोनियासम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो । उहाँ विगत ६-७ वर्षदेखि अल्जाइमर र पार्किन्सनको समस्याले थलिनुभएको थियो । लोहनीको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उहाँको एक छोरी हुनुहुन्छ जो हाल संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।
‘माइतीघर’मा लोहनी मुख्य भूमिकामा हुनुहुन्थ्यो । उहाँको अपोजिट कलाकारमा बलिउड नायिका माला सिन्हा हुनुहुन्थ्यो । उहाँले नायिका सिन्हासँग नै विवाह गर्नुभएको थियो । चलचित्रमा अभिनय गर्ने क्रममा प्रेममा परेपछि उहाँहरूले विवाह गर्नुभएको थियो । हाल दुवै काठमाडौं डिल्लीबजारस्थित आफ्नो घरमा बसोबास गर्दै आइरहनुभएको थियो । सिपी-मालाको पिरती गाँसिदिने सूत्रसमेत बनेको थियो चलचित्र ‘माइतीघर’ । लोहनीले माइतीघर चलचित्रको गीत ‘उँभोमा झर्ने’ पनि गाउनुभएको थियो । त्यस्तै, ‘काला कुर्तैले’, ‘आँखामा तिम्रो’, ‘एउटा तारा झर्दा पनि’, ‘गरौँला हामी’लगायत उहाँका थुप्रै गीत चर्चित छन् । उहाँ नेपाली झ्याउरे गीतमा सिद्धहस्त मानिनुहुन्छ । पछिल्लो गीतको रूपमा उहाँले ‘पुनरागमन’ ल्याउनुभएको थियो ।
लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गर्नुभएको थियो । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो । तत्कालीन समयमा राजा ज्ञानेन्द्रको शासन कालमा भएको चलचित्र समारोहमा चलचित्र विकास बोर्डले उहाँलाई नेपाली चलचित्रमा गरेको योगदानको स्मरण गर्दै विशेष सम्मान गरेको थियो ।
वि.सं. २०२१ मा सुरसार गरेर २०२२ मा छायांकन र १ पुस २०२३ मा पाटनको अशोक सिनेमा हलमा प्रथम प्रदर्शन भएको ‘माइतीघर’ नेपाली व्यावसायिक सिनेमाको आधारस्तम्भ मानिन्छ । यो चलचित्र धेरै कलाकारका निम्ति सिने–करिअरको पूर्वाधार बन्न गएको थियो । चलचित्रमा जनार्दन सम डाक्टरको भूमिकामा देखापर्नु भएको थियो भने यादव खरेल नायकका साथी । श्रीधर खनाल, टीकाभूषण दाहालले निर्देशक बिएस थापासँगै सम्वाद लेख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच