
सुर्खेत । कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङको काम सुरु भएको छ । आइतबार संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुख्य ड्रिलिङको काम शिलान्यास गर्नुभएको हो । दैलेखको भैरबी गाउँपालिका-१ स्थित जलजलेमा मुख्य ड्रिलिङको काम सुरु भएको छ । पेट्रोलियम अन्वेषणअन्र्तगत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै संघीय आपूर्तिमन्त्री भण्डारीले अन्तिम चरणको कामको शुभारम्भ घोषणा गर्नुभएको हो । ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम तथा देशको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण रहेको यो परियोजना सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
यो परियोजना सफल भएको खण्डमा कर्णालीबाट इन्धन समृद्धिको यात्रा सुरु हुने भन्दै मन्त्री भण्डारीले मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङको काम सुरु भएपछि अब छिट्टै पेट्रोलियम पदार्थ उत्खनन हुने अपेक्षा छ । अबको चार महिनाभित्र काम सम्पन्न हुनेगरी मुख्य ड्रिलिङको काम सुरु भएको हो ।
ड्रिलिङको काम सकिएपछि उक्त स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास हो भन्ने कुरा एकिन हुनेछ । २०७२ मा भारतले लगाएको अघोषित नाकाबन्दीपछि चर्चित बनेको पेट्रोलियम पदार्थका खानीको अन्वेषण र उत्खननको काम नतिजा उन्मुख चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार मुख्य ड्रिलिङका लागि चीनबाट ल्याइएका उच्च प्रविधि सहितका आवश्यक उपकरण प्रयोग गरिएका छन् ।
अब हुने मुख्य ड्रिलिङबाट चार हजार पाँच सय मिटरसम्मको गहिराइसम्म अन्तिम अन्वेषणको काम गरिने परियोजना प्रमुख नापित बताउनुहुन्छ । जसका लागि १५७ वटा ट्रकबाट आवश्यक उपकरणहरू परियोजनास्थल पुर्याइएको छ भने केही उपकरणहरू ल्याउने तयारी छ ।
‘अबको चार महिनाभित्र पेट्रोलियम पदार्थ वा ग्यास के हो ? कति परिमाणमा छ ? उत्पादन गर्न सकिने वा नसकिने भन्ने सबै कुराको निक्र्योल हुनेछ’ नापितले भन्नुभयो, ‘दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको र पादुकादेखि श्रीस्थान सम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको भन्ने प्राविधिक प्रतिवेदनका आधारमा पनि पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण छ । जहाँ सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको छ ।’
पादुकादेखि श्रीस्थान सम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको प्राविधिक रिपोर्टले देखाएकाले कति गहिराइमा छ ? र कुन–कुन ठाउँमा छ ? भन्ने कुरा अब अध्ययनरत ड्रिलिङको कामबाट एकिन हुनेछ । हाल परियोजना स्थलमा २१ चिनियाँ प्राविधिकसहित झण्डै ५० जना नेपाली सहयोगीहरूले २४सै घण्टा अन्वेषणको काम गरिरहेका छन् ।
एक वर्षको समायावधि थप
२०७६ बाट सुरु भएको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाको अवधि २०८१ चैत १६ सम्मका लागि थपिएको छ । दुई वर्षअघि थपिएको १४ चैत २०८० सम्मको म्यादमा पनि काम सम्पन्न नभएपछि मन्त्रिपरिषद्ले एक वर्षको समायावधि थप गरेको हो । चिनियाँ पक्षसँग सम्झौता हुँँदा ड्रिलिङका लागि ११ देखि १८ महिना लाग्ने उल्लेख भएकाले एक वर्षका लागि कामको म्याद थपिएको जनाइएको छ । ड्रिलिङ सुरु भएको ढिलोमा पाँचदेखि ६ महिनामा काम सम्पन्न हुने बताइएको छ । यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । सोहीअनुसार अन्वेषणको काम सुरु गरिएको थियो । तर, कोरोना महामारी लगायतका विभिन्न कारणले परियोजना कार्यान्वयनमा भएको ढिलाइले लागत बजेटसमेत बढेको चिनियाँ पक्षले जानकारी दिएको छ ।
परियोजना कार्यान्वयनका लागि नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागले गठन गरेको ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’का प्रमुख दिनेशकुमार नापितका अनुसार नेपालका तर्फबाट भने जमिन अधिग्रहणका लागि आवश्यक मुआब्जा वितरण गर्न करिब एक करोड रुपैयाँ खर्च भएको छ । यसअघि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो परियोजना सफल भए देशको अर्थिक समृद्धिको ढोका खुल्नेछ ।
यसरी भएको थियो अन्वेषण प्रक्रिया
२०७२ मा नेपालको नयाँ संविधान जारी भएलगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलियो । अभावकै बीचमा देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी थालियो । अनि सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम । भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम गर्ने साइत जुराएको थियो ।
२०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहितको चिनियाँ टोली दैलेख आइपुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डे सहितको टोलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार रहेको अन्वेषण कार्यको सुरुवात गर्ने उद्घोष गरेको थियो । त्यसबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि ग¥यो । २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सहकार्य गर्ने सहमति भएको थियो ।
नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।
२०७६ असार १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइनाजियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो । दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भे लगायतका काम सम्पन भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच