काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । एकदिने नेपाल भ्रमणमा रहनुभएकी उहाँले आइतबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।
आइतबार नै काठमाडौं आइपुग्नुभएकी विदेशमन्त्री योको सहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठ सहितको नेपाली प्रतिनिधि मण्डलबीच सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा जापानलाई पुरानो असल मित्रका साथै ठूलो विकास साझेदारका रूपमा लिएकाले द्विपक्षीय सम्बन्धलाई सुदृढ र विस्तार गर्नका लागि सबै पक्षहरूमा छलफल भएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो । जापानी विदेशमन्त्री कामिकावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उहाँले स्पष्ट पार्नुभयो । वार्तामा नेपाल र जापानको सम्बन्धको विविध पक्षलगायत विषयमा छलफल र क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा धारणाहरू एक–आपसमा सुन्ने काम पनि भएको हो । परराष्ट्रमन्त्री श्रेष्ठले जापानी समकक्षी योकोलाई पेन्टिङ उपहार दिनुभएको थियो ।
यता, प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नै भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवं आर्थिक-सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो । ‘नेपाल-जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘आगामी दिनमा नेपाल र जापान दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।’
त्यस अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल-जापानबीच सम्बन्ध सदैव सौहार्द्रपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रही आएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्न जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताका, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटालगायत उच्च अधिकारीको सहभागी थियो ।
विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आइतबार नै काठमाडौं आउनुभएको हो । सद्भावना भ्रमण भनिए पनि उहाँको आगमनलाई अर्थपूर्ण’ मानिएको छ । जापानबाट हुने उच्चस्तरीय भ्रमणलाई नेपाल सरकारले महत्वसाथ तयारी गरिरहेको थियो । आइतबार नै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । खामिखावा आइतबार नै काठमाडौंबाट टोकियो फर्किएको विदेश मन्त्रालयले जनाएको छ ।
जापनिज युनिभर्सिटी अलुम्नी-नेपाल (जुआन) का अध्यक्ष सुनीलबाबु श्रेष्ठ जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको उच्च महŒव रहेको बताउनुहुन्छ । ‘जापानमा अहिले एक लाख ४० हजारको हाराहारीमा नेपाली समुदाय रहेको बताइन्छ । चिनियाँ समुदायपछि सबैभन्दा बढी नेपाली छन्,’ उहाँले भन्नुभयोे, ‘जापानमा वृद्धवृद्धाको जनसंख्या बढी छ, नेपालमा युवा जनसंख्या छ । दुई मुलुकबीच समन्वय गरेर यसलाई कसरी उपयोग गर्ने भन्ने विषय महत्वपूर्ण हुनसक्छ ।’
परराष्ट्रमन्त्री खामिखावाले अप्रिल २६ देखि मे ५ सम्म नेपाल, श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरियार फ्रान्सको भ्रमण गर्ने कार्यक्रम थियो । नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच