
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि संघीय संसद् प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक कांग्रेस सहितको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गर्नुभएको हो । प्रमुख प्रतिपक्षी सहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराउनुभएको थियो । प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले शुक्रबारको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते आइतबार ११ बजे बस्ने सभालाई जानकारी गराउनुभयो ।
शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीसमेत थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको उल्लिखित आर्थिक वर्ष (आ.व.) २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची थियो । नीति तथा कार्यक्रम माथिको छलफलका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गर्नुभएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानविन समिति नबनेसम्म सदनमा अवरोध जारी रहने बताउँदै आएको छ । यसअघि शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकले संसदीय छानविन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको थियो ।
एमाले अध्यक्ष ओलीले जे भनेका थिए, संसद्मा त्यही देखियो
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई बोल्नबाट वञ्चित गराउनुभएको छ । सभामुख घिमिरेले बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए । कांग्रेस सांसदहरूले अवरोध जारी राखिरहेकै बेला सभामुख घिमिरेले शून्य, विषय र आकस्मिक समय केही पनि नराख्ने निर्णय भएको सुनाउनुभयो । उहाँले नियमित काम कारबाहीमा जाने कोसिस जारी रहेको बताउनुभयो । सभामुखले यति भनुन्जेलसम्म कांग्रेस सांसदहरू उभिइरहेका थिए । सदनमा सांसद उभिए अवरोध भएको मानिने अभ्यास छ । यसपछि कांग्रेस सांसदहरूले हात उठाए, बोल्न समय पाउनुपर्छ भनेर माग गरे । तर, सभामुख घिमिरेले पहिले भनिसकेकै वाक्य दोहो¥याएर भन्नुभयो, ‘शून्य, विशेष र आकस्मिक समय नरहेको जानकारी गराउँछु ।’
कांग्रेस सांसदसमेत रहनुभएका महामन्त्री विश्वप्रकाश शर्माले बोल्न समय पाउनुपर्ने माग गर्दै भन्नुभयो, ‘प्रतिपक्षीलाई बोल्न समय उपलब्ध गराउनु सभामुखको कर्तव्य हो ।’ सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको कुरा निकाल्दै भन्नुभयो, ‘कार्यव्यवस्था परामर्श समितिमा छलफलबाटै अघि बढ्ने भन्ने कुरा भएको छ ।’ त्यसपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हात उठाउँदै भन्नुभयो, ‘छलफल गर्दै जाने त भनिएको हो । तर, सदनमा प्रतिपक्षीले बोल्न पाउनुपर्छ ।’ लेखकलाई समर्थन गर्दै महामन्त्री शर्माले थप्नुभयो, ‘सभामुख महोदय, प्रतिपक्षी बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझिनुहुन्न ।’
बोल्न समय नदिँदा पनि उभिइरहेका कांग्रेसका एकपछि अर्का सांसदले बोलिराखेपछि सभामुख घिमिरेले आसनग्रहण गरेर नियमित काम अघि लैजाने गरी सहयोग गर्न आग्रह गरिरहनुभयो । सभामुखलाई लेखकले जवाफ फर्काउँदै भन्नुभयो, ‘सदनमा प्रतिपक्षले बोल्न नपाउने हो भने कहाँ गएर बोल्ने हो ?’ फेरि महामन्त्री शर्माले सभामुखको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘प्रतिपक्षीले जनताको कुरा राख्न चाहँदा बोल्न नदिएर कस्तो नजिर बसाल्दै हुनुहुन्छ सभामुख महोदय ?’ महामन्त्री शर्मा र लेखकले तलबाट बोल्न समय माग गरिरहेपछि सभामुख घिमिरेले फेरि भन्नुभयो, ‘बोल्न पाउनुपर्छ भन्ने माननीयका मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन । बोल्ने वातावरण कसरी बनाउने र कसरी अघि लाने भन्ने कुरामा सत्तापक्ष र प्रतिपक्ष पनि त्यत्तिकै जवाफदेही र जिम्मेवार छ । आसनग्रहण गरेर वातावरण बनाइदिनुस् ।’ यो सुनेपछि प्रमुख सचेतक लेखकले जवाफ दिँदै भन्नुभयो, ‘बोल्न नपाएपछि बोल्न दिएन भन्नैपर्ला नि सभामुख महोदय । बोल्न समय नपाएपछि त पाइएन भन्छ त ।’
बैठक स्थगित भएपछि संघीय संसद् भवन परिसरमा महामन्त्री शर्माले सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि ‘कांग्रेसलाई अब बोल्न दिइँदैन’ भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै भन्नुभयो, ‘केही दिनअघि उहाँ (केपी शर्मा ओली)ले कांग्रेसलाई अब बोल्न दिइने छैन भन्नुभएको थियो । यो सहकारीबन्धु गठबन्धनको शैली ठीक देखिएन । प्रतिपक्षले संसद्मा बोल्दा संवाद र संसदीय प्रक्रियालाई सहज बनाउँदैन भन्ने खालको आभास आज सभामुखबाट व्यक्त भयो । पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिपक्षीका तर्फबाट आज म बोल्ने कार्यक्रम थियो । यहाँ के देखियो भने सहकारी प्रकरणमा एमालेले साथ दिने र गिरीबन्धुमा रास्वपाले साथ दिनेजस्तो देखियो । सहकारीबन्धु गठबन्धनका रूपमा उहाँहरू देखिनुभएको छ ।’
संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाऔँ : सभामुख
सभामुख देवराज घिमिरेले संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाएपश्चात् सभामुखले संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, ‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पुर्याउनु हुनेछ । संसदले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा गरेको छु । संसद्लाई विधिसंगत ढंगबाट छलफलको केन्द्र बनाऔँ । त्यहीअनुसार जानको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।’
यो सहकारीबन्धु गठबन्धन हो : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिनुभएको छ । सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिएकाले यो सहकारीबन्धु गठबन्धन भएको जिकिर गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हामीमाथि आरोप लगाउनुभएको होइन, कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर खायो भनेर ? छानविन समिति त्यसमा पनि बनाऔँ ।’ गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा कांग्रेस नेताहरूमाथि आरोप लगाएको भन्दै सबैमाथि छानविन गर्न तयार रहेको जिकिर गर्नुभएका महामन्त्री शर्माले भन्नुभयो, ‘कांग्रेसको सभापतिमाथि छानविन गर्ने हो कि महामन्त्रीमाथि ? दाजुमाथि हो कि भाउजूमाथि ? प्रत्येकमाथि छानविन गर्नुस् । नाम, थर गोत्र लेख्नुस् । माइतीपट्टि पनि लेख्नुस्, ससुराली पनि लेख्नुस् । हाम्रो आपत्ति छैन ।’
‘सभामुखको छेउमा बस्नेको दुईवटा नागरिकता छन्, किन पक्राउ गरिएन ?’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरण उठाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाण्डेयको नाम नलिई भन्नुभयो, ‘सभामुखको अगलबगलमा, छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकता र पासपोर्ट छ भन्ने कुरा सार्वजनिक भएको होइन ? उहाँ पक्राउ पर्नुभएको छ ? मैले नाम बिर्सिएँ । उहाँ गिरफ्तार हुनुभएको छ र ? अहिले भर्खरै मैले हेरेर आएको छु । गृहमन्त्रीको राहदानीको कुरा छ उहाँ पक्राउ पर्नुभएको छ ? दुईवटा पासपोर्टको विषयमा गिरफ्तारी नगरी गृहमन्त्री रवि लामिछानेमाथि छानविन गरिएको होइन र ? कैलाश सिरोहियालाई बदलाका लागि पक्राउ गरिएको हो ।’ संघीय संसद्का महासचिव पाण्डेयले दुईवटा नागरिकता र दुईवटा राहदानी लिएको सार्वजनिक भएको थियो ।
कांग्रेस सहमतिमा नआए सरकारले संवैधानिक बाटोबाट बजेट ल्याउँछ : बर्तौला
सत्तारूढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सदन सुचारु गर्न तयार नभए सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा बर्तौलाले १५ गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘कांग्रेसले यो संवैधानिक बाध्यता बुझ्नुपर्छ । यदि संवैधानिक बाध्यता बुझेर हाउसलाई सहज गरेन भने सरकारले बजेट त ल्याउनैपर्छ । सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउनुपर्ने बाध्यता निर्माण हुन्छ । त्यसो भए त्यसको सम्पूर्ण जिम्मेवारी कांग्रेसले लिनुपर्छ ।’
अध्यादेशबाट बजेट ल्याउने तयारी छैन : पाण्डे
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको दाबी गर्नुभएको छ । शुक्रबार संसद् भवन परिसरमा प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको दाबी गर्नुभएको हो । संसद् चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने उहाँको भनाइ छ । ‘बारम्बार हामीले संसद्मा प्रतिपक्षलाई पनि बोल्न दिएका छौँ । र, समस्याको समाधान गर्न निरन्तर प्रयत्न भइरहेको छ । अहिले सदन चलिरहेको छ । अध्यादेशको कुरा कहाँबाट आयो र ? सरकारले आफ्नो नीति, कार्यक्रम प्रस्तुत गरिसक्यो । त्यसपछि यो समस्या जुन आइरहेको छ । यो समस्याको समाधान गर्ने गरेर कार्यदल बनेको छ । त्यो कार्यदलले एउटा निचोड निकाल्दै छ । त्यसैका लागि आज सबै विषयवस्तुलाई सकारात्मक ढंगले लैजाने गरेर हामी अगाडि बढेका छौँ,’ उहाँले भन्नुभयो, ‘सहमति कहिले जुट्छ ? भन्ने कुरा जुटेपछि नै आउला । अहिले नै आइरहेको छैन । जुटाउन सरकारका तर्फबाट प्रधानमन्त्रीले बारम्बार प्रयत्न गरिरहनु भएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच