भीरकोटमा पहिरोका कारण जोखिममा गाउँहरू

स्याङ्जा । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ मा असार २२ गते परेको भीषण वर्षाका कारण पहिरोमा परी थुप्रै गाउँहरू जोखिममा परेका छन् ।

भीरकोट ५ को ज्यामिरे मल्ल गाउँमा असार २२ गते पहिरोमा परी खिमकुमारी मल्लको ज्यान गएको थियो । मल्लको ज्यान गएको गाउँ ज्यामिरेमा ५ घर जोखिममा छन् ।

अविरल वर्षाका कारण मल्लको घर तथा गोठ पहिरोले लगेको छ भने अर्को एक गोठ पहिरोमा परी १४ वटा बाख्रा मरेका छन् । छिमेकी जमन मल्लले भन्नुभयो, 'असार २२ गतेको अविरल वर्षाले हाम्रो गाउँ छियाछिया बनेको छ । घरहरू तथा गोठहरू झुण्डिएका छन् । पानी पर्यो कि डर लागिहाल्छ ।'

पहिरोका कारण भीरकोट ५ का अधिकांश बस्ती प्रभावित बनेका छन् । अर्चले, थापा गाउँ, बढहरे, केराबारी जस्ता गाउँहरू पहिरोले जोखिममा परेका छन् । वडा नं ६ मा फोक्सिङ, मानडाँडा लगायतका गाउँमा पनि पहिरोका कारण नागरिकहरू पीडित बनेका छन् ।

'भीरकोटका विभिन्न गाउँहरू नजिक ठूलाठूला पहिरोहरू गएका छन् । कतिपय पुरै गाउँका बासिन्दालाई अन्यत्र नै सार्नुपर्ने भएको छ । प्रत्येक गाउँ जोखिममा छन् ।' भीरकोट ५ का वडाध्यक्ष कृष्णबहादुर थापाले भन्नुभयो ।

'भीरकोट पहिरोले अस्तव्यस्त छ । घरगोठ जोखिममा छन् भने भित्री सडकहरू अवरूद्ध छन् । एउटा गाउँबाट अर्को गाउँमा जाने बाटोहरू पहिरोले लगेको हुनाले यातायात सम्पर्क विच्छेद भएको छ ।' पहिरो पीडितलाई राहत प्रदान गर्न पुग्नुभएका नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका सभापति दिनेश अर्यालले भन्नुभयो ।

तर यस्तो अवस्थामा नगर प्रमुख गोविन्द कर्माचार्य भने काठमाडौंमा हुनुहुन्छ ।आफू उपचारको लागि काठमाडौ जाने भएकाले उहाँले उपमेयर भगवती रेग्मी अर्याललाई कार्यवाहक सुम्पेको भए तापनि उपमेयरको अनिच्छा र निष्क्रियताका कारण पीडितहरूले सरकारको महसुस गर्न सकिरहेका छैनन् । उपमेयर रेग्मीले पहिरो पीडितको घरमा पुगेर सान्त्वना दिनसमेत जरूरी नठानेको पीडितहरूले बताएका छन् ।

असार २२ गतेको पहिरोमा परी घरबास गुमाएकी वडा नं ६ फोक्सिङमकी कुन्ती थापाले गहभरि आँसु पार्दै राहत लिएर अहिलेसम्म कुनै सरकारी निकाय नआएको दु:खेसो पोख्नुभयो । घर गुमेपछि स्थानीय नन्दलाल थापाको घरमा आश्रय लिएका कुन्तीका परिवार घरबासको समस्याले रातभरि सुत्न सकेका छैनन्।

स्थानीय सरकारको उपस्थिति नभए पनि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ज्यामिरे गाउँमा मृतक खिमकुमारीको परिवारलाई सङ्घ र प्रदेश सरकारको गरी रू ८० हजार राहत उपलब्ध गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडलले उक्त राहत घरमै पुगी उपलब्ध गराउनुभएको हो ।

पहिरोले पीडित नागरिकहरूलाई भीरकोट लायन्सले सहयोग गरेको छ । भीरकोट जेसिसका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी 'लक्ष्मण' को नेतृत्वमा लायन्सले वडा नं ५ र ६ का पहिरो पीडितहरूलाई राहत उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?