तानसेनमा पानीका मुहान संरक्षण गर्न वृक्षरोपण

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा पानीका मुहान संरक्षण गर्न वृक्षरोपण अभियान थालिएको छ । रुख विरुवाहरु मासिदै जाँदा पानीका मुहानहरु सुक्ने क्रम बढ्दै गएपछि तानसेन खानेपानी उपभोक्ता समितिको अगुवाइमा वृक्षरोपण गर्न थालिएको हो ।

पहिलो चरणमा तानसेनका विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुमा वृक्षारोपण गरिएको छ । समितिले ‘रुख रोपौं मूलको संरक्षण गरौँ’ भन्ने नारासहित अमर नारायण मन्दिर क्षेत्रका साथै तीनधारामा चिउरीका विरुवा रोपेको हो ।

पछिल्लो समय सडक निर्माण, जलवायु परिवर्तन, भूकम्प र बढ्दो शहरीकरणका कारण दिनप्रतिदिन जिल्लामा भएका पानीका मुहानहरु सुक्दै गएका छन् । सुक्दै गएका पानीका मुहान र भएका मुहानहरु वरपर विरुवा रोपेर हरियाली बनाउनुको साथै पानीको स्रोतको दीर्घकालीन व्यवस्थापन गर्न वृक्षरोपण थालिएको समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले भएका पानीका मुहानहरुको संरक्षण गरी तानसेनमा पर्याप्त पानीको व्यवस्था गर्न लागि परेका हौं ।’ समितिको पहलमा लगाईका विरुवाहरुको समिति आफैले संरक्षण गर्ने समेत उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले विगत लामो समयदेखि तानसेनमा रहेको खानेपानी समस्या समाधानमा आफुहरु दिनरात लागेको र केही हदसम्म समाधान समेत भएको उल्लेख गर्नुभयो । उहाँले उपभोक्ताको हितलाई ध्यानमा राखी खानेपानीको महशुल छिट्टै समायोजन गर्ने बताउनुभयो ।

वृक्षरोपणका लागि संघीय, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी, सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीहरु वृक्षारोपणस्थल पुगेका थिए । वृक्षरोपणका लागि अमर नारायण मन्दिर परिसर पुगेका संघीय सांसद ठाकुर गैरेले विरुवा रोप्नु मात्र ठूलो कुरा नभएकाले त्यसलाई हुर्काउन बढाउन सके मात्र वातावरण स्वच्छ हुनुका साथै पानीका मूल संरक्षण हुने बताउनुभयो ।

सांसद गैरेले ऐतिहासिक अमर नारायण मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचिमा समावेश गराउन सबैको सहयोग रहनु पर्ने उल्लेख गर्नुभयो । गुठी व्यवस्थापन समिति पुर्नगठन गर्न नसक्दा यस क्षेत्रको विकासमा असर पर्दै गएकाले छिट्टै यसका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले पुर्खाले बनाएका सम्पदा संरक्षणमा सबैले चासो राख्नु पर्ने बताउनुभयो । उहाँले नारायणस्थान क्षेत्रमा विगतमा रहेका चमेरा लोप हुने र यहाँका पानीका मुहान सुक्ने अवस्थामा पुगेकाले यसलाई संरक्षण गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सांसद रानाले भन्नुभयो‘ खानेपानी समितिले पानीको मुहान संरक्षणमा देखाएको सक्रियता प्रशंसनिय रहेको छ, यसमा हामी सबैले ध्यान दिनुपर्ने छ ।’ उहाँले विगतमा विरेन्द्र फुलबारी क्षेत्रको विकासका लागि ठूलो धन रासी खर्च भएता पनि पूर्ण हुन नसकेकाले यस क्षेत्रलाई पार्कको रुपमा विकास गर्न आफुले पहल गर्ने बताउनुभयो ।

बढ्दो सहरीकरण र वन विनाशका कारण तानसेनमा रहेका ऐतिहासिक ढुङ्गेधारा सुक्न थालेको अवस्थामा खानेपानी उपभोक्ता समितिको सक्रियतामा गरिएको वृक्षरोपणको उचित संरक्षण गर्न सके मात्र हरेक वर्ष गरिने वृक्षरोपणले सार्थकता पाउने वृक्षरोपणमा पुगेका सहभागीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?