
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि २०६८’ तत्काल परिमार्जन गरी समसामयिक र व्यावहारिक बनाउनुपर्ने मागसहित नेपाल राष्ट्र बैंकलाई विभिन्न १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष अर्जुन रसाइली नेतृत्वको महासंघ प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई ज्ञापनपत्र बुझाएको हो ।
२०६८ सालमा जारी भई हालसम्म लागू हुँदै आएको ‘सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि २०६८’ अव्यावहारिक भएको र सुनचाँदी व्यवसायीको समस्या सम्बोधन गर्न नसकेको भन्दै व्यवसायीका समग्र समस्या समाधानमा सहयोग पुग्ने गरी प्रभावकारी आचारसंहिता जारी गर्न महासंघले आग्रह गरेको छ । कार्यकारी निर्देशक नेपालले महासंघतर्फबाट राखिएका मागलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै माग सम्बोधनका लागि शीघ्र पहल गर्ने आश्वासन दिनुभयो । सरोकारवाला निकायबीच आवश्यक परामर्श गरी व्यवसायीका माग सम्बोधन गर्ने उहाँको भनाइ थियो ।
आयात गर्न सकिने दैनिक सुनको परिमाण व्यवसायीका लागि ३० केजी र उद्योग तथा ठूला करदाता एवं व्यवसायीका लागि २० केजी बनाउन माग गरिएको छ ।
बजार मागअनुसार सुन आपूर्ति व्यवस्था सुनिश्चित नहुँदा व्यवसायीले धेरै समस्या बेहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष रसाइलीले पर्याप्तमात्रामा सुन आपूर्ति व्यवस्था सुनिश्चित गर्न, सदस्य संख्या र पान नम्बरका आधारमा सुन वितरणको वातावरण मिलाउन, तोकिएका नाका-नाकाबाट सय, दुई सय र पाँच सय ग्रामको सुन उपलब्ध गराउन, एउटै बैंक खाताबाट जुनसुकै बैंकको सुन उठाउन मिल्ने व्यवस्था मिलाउन र भन्सारदरमा एकरूपता आउने वातावरण बनाउन सहजीकरण गर्न आग्रह गर्नुभयो । त्यस्तै आयात गर्न सकिने दैनिक सुनको परिमाण व्यवसायीका लागि ३० केजी र उद्योग तथा ठूला करदाता एवं व्यवसायीका लागि २० केजी बनाउन, बैंकले सुन आयात गरेपछि सम्बन्धित महासंघको सिफारिसमा कम्तीमा ३० दिनभित्र बैंकबाट सुन उठाइसक्नुपर्ने व्यवस्थाका साथै सो अवधिभित्र सुन नउठेमा ३१औँ दिनदेखि महासंघसँगको समन्वय र सिफारिसबिना नै बैंकले सुन बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने र दैनिक आयात हुने सुन बजार माग वा आवश्यकताका आधारमा कम्तीमा छ महिनासम्ममा आयात गर्न पाउने व्यवस्था गर्नुपर्ने पनि महासंघले माग गरेको छ ।
त्यस्तै सम्बन्धित महासंघसँगको सल्लाह र सहकार्यका आधारमा बजार मागअनुरूप बैंकर्ष संघले सुन आयात गर्नुपर्ने, आयात गर्न स्वीकृत सुन मगाउन कति बाँकी छ भन्ने अग्रिम र आधिकारिक सूचना सम्बन्धित महासंघलाई दिने व्यवस्था मिलाउनुपर्ने, बागमती प्रदेशबाहेक पनि चितवन, इटहरी, वीरगञ्जलगायत कार्यविधिमा तोकिएका मुख्य शहरमा बिक्रीवितरण व्यवस्था प्रभावकारी बनाउन र छिमेकी मुलुक भारतमा हालै बजेट वक्तव्यमार्फत् सुनको भन्सारदर घटाई जम्मा छ प्रतिशत कायम गरिएको विद्यमान अवस्थामा नेपालमा भने २० प्रतिशत कायम रहेकाले अर्थ मन्त्रालय, भन्सार विभागलगायतका निकायमा आवश्यक समन्वय गरी भन्सारदर घटाई व्यावहारिक बनाउनुपर्ने माग रहेका छन् । सो अवसरमा महासंघ महासचिव किरणभाइ बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच