काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘विद्युत् उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदा पनि राज्यले करोडौं घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न हुनेगरी स-साना समस्यालाई समाधान गर्दै लाग्नुपर्छ ।’ सन् २०३५ सम्म नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको पनि ऊर्जामन्त्रीले बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जामन्त्री खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई अघि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । ऊर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो । उहाँले आयोजनागत रूपमा ऐलानी जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी गराउनुभयो । बैठकमा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारी, संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, अरुण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृतलगायतले प्रसारण लाइन विस्तारका क्रममा देखिएका समस्याका बारेमा मन्त्रीलाई ध्यानाकर्र्षण गराएका थिए ।
यसैबीच ऊर्जामन्त्री खड्काले नयाँ सरकार गठनसँगै मुलुकमा लगानीको वातावरण सिर्जना भएको दाबी गर्नुभएको छ । मिडिया स्पेस प्रालिको आयोजनामा भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘दुर्ई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ, नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन्, यो सरकारले मुलुकमा लगानीको वातावरण सिर्जना गर्छ ।’ ऊर्जामन्त्री खड्काले वर्तमान सरकार, स्थायी सरकार भएकाले ढुक्क भएर लगानी गर्नसमेत आग्रह गर्नुभयो । उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने मेलामा स्वदेश र विदेशका गरी ९० भन्दा बढी स्टल रहेको मिडिया स्पेसका सञ्चालक श्रीजल भट्टराईले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच