गीत र कविताको सिर्जनामा आफूलाई व्यस्त बनाउँदै आउनुभएको नाम हो अनिता खड्का । बुढानीलकण्ठ नगरपालिका-९ मा बसोबास गर्दै आउनुभएकी खड्का सानैदेखि गीत र कविता कोर्नुहुन्थ्यो । विसं. २०४० देखि आफ्ना सिर्जनाले आकार लिन थालेको बताउनुहुने उहाँको औपचारिक रूपमा पहिलो सिर्जना ‘नदुखेको मन जानीजानी किन दुखाएछु’ गीत रहेको थियो । जसमा पछि वरिष्ठ संगीत निर्देशक राजु सिंहले संगीत भर्नुभयो भने दीपक बज्राचार्यको स्वरमा श्रोता/दर्शकमाझ आयो । उहाँका हालसम्म ‘शब्द स्थापत्य’, ‘भाव अनुष्ठान’, ‘मेरो रोइरहेको सगरमाथा’, ‘स्वरका आयाम’, ‘समयको आरोहण’ र ‘अस्मिताका स्वर’ जस्ता कृति पाठकमाझ आएका छन् । केही नयाँ कृति पाठकमाझ ल्याउने तयारीमा पनि रहनुभएकी उहाँका छवटा गीत एवं कविता संग्रह र दुईवटा एल्बम सार्वजनिक भएका छन् । देश, प्रकृति, राजनीति, सामाजिक, समसामयिक घटनालाई उहाँले आफ्ना सिर्जनाका विषयवस्तु बनाएको पाइन्छ । उहाँका कर्महरूलाई श्रीमान् डा. रूप खड्का, छोरा डा. उत्सव र छोरी उपासनालगायतले साथ दिइरहनुभएको छ । नेपाली गीत/संगीत, कविता एवं साहित्यमा नै बाँकी जिन्दगी समर्पित गर्ने ध्येयका साथ उहाँले आफूलाई सिर्जनाकर्ममा तल्लीन बनाइरहनुभको छ । आफ्ना सिर्जनालाई भावनाले समेट्ने र शब्दले सिंगार्ने बताउनुहुने कवि एवं गीतकार अनिता खड्कासँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अंशः-
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
मेरा लागि सधैँ गार्हस्थ जीवन प्राथमिकता हो र बाँकी समय पढाइलेखाइ र पोडकाष्टहरू सुन्नमा व्यस्त रहन्छु ।
साहित्यमा कहिलेदेखि हुनुहुन्छ ?
म सानैदेखि धेरै नै भावुक थिएँ । मन-मनमा सधैँ नानाथरी भावनाले ओतप्रोत हुन्थेँ । सबै मानसपटलबाटै हराउँथ्यो । पछि-पछि यसको अर्थ बुझ्न थालेँ र सानोतिनो मुक्तक लेख्थेँ । मेरो श्रीमान् अध्ययनका लागि बाहिर गएपछि पत्र लेख्न थालेँ । यसै क्रममा गीत तथा कविता फुर्न थाले । पछि-पछि छोराछोरी अध्ययनका लागि विदेशिएपछि सधैँ पत्र लेख्दा केही न केही भावनात्मक कुराहरू निस्किराख्थ्यो जुन मेरा पुस्तकहरूमा झल्किएका छन् । वि.सं. २०४० देखि होला सायद मेरा शब्दहरूले आकार लिन थालेको ।
मेरा लागि गीत र कवितामा खासै फरक छैन । दुवै मनले कोर्ने हो । भावनालाई समेट्ने हो र शब्दले सिंगार्ने हो । शब्दको छनोट गर्दा गीतमा अलिकति छन्द मिलाउनुपर्छ, कविता लेख्दा सजिलो हुन्छ । मनै खन्याउन पाइन्छ । गीत कोर्दा विचार पुर्याउनुपर्छ भने कविता कोर्दा भावनाका सबै रूपहरू दर्शाउन पाइन्छ ।
यहाँको पहिलो सिर्जना गीत थियो कि कविता ?
सायद गीत थियो । मेरो पहिलो रचना ‘नदुखेको मन जानीजानी किन दुखाएछु’ बोलको गीत थियो । जुन गीतमा पछि गएर संगीतकार राजु सिंहले आत्मा हालिदिनुभयो र स्वरका धनी दीपक बज्राचार्यले ब्युँझाइदिनुभयो ।
अनिता खड्का को हो ?
अनिता खड्का आजकी एक संवेदनशील नारी हुन् । उनी धैर्यलाई र मौनतालाई शक्ति ठान्छिन् । सबैको मर्मलाई गहन गरेर बुझ्छिन् र आफ्नै ठान्छिन् । हरेक कर्तव्य आत्मसात गरी कार्यशील हुन्छिन् । उनी आफ्नो गृहस्थी जीवनमा पूर्णरूपमा डुबेकी छिन् र आफ्नो हरेक भूमिकालाई कर्तव्य ठानी हृदयले निभाउँछिन् ।
यहाँका हालसम्म कति सिर्जना सार्वजनिक भए होलान् ?
छवटा गीत र कविता संग्रहहरू र दुईवटा एल्बम सार्वजनिक भएका छन् ।
गीत र कवितामा यहाँले कुनै एकलाई छान्नुपर्दा कुन छान्नुहुन्छ ?
गीत र कविता मेरा लागि दुई आँखा हुन् । सायद छान्न सक्दिन ।
जीवन के हो ?
जीवन त मृगतृष्णा हो । केही अलौकिक पलको आनन्दको अनुभूतिको पछि लाग्दालाग्दै सिद्धिने म्याराथन हो । जीवन अनुशासित भई पालना गर्दा सरल छ भने जटिल बनाउँदा जटिल नै छ । सुख क्षणिक छ, दुःख सधैँ साथमा हुन्छ । जन्मिने हुर्किने अनि विलिन हुने हो तथ्य । तर, यो बुझ्न नसक्दा ब्ल्याकहोल बन्न सक्छ जीवन । यो सत्यता नबुझ्दा हामी सधैँ केही न केहीको खोजीमा हुन्छौँ । भविष्यको सुन्दर सपनाका लागि वर्तमान जलिरहेको जस्तो लाग्छ ।
गीत र कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरा लागि गीत र कवितामा खासै फरक छैन । दुवै मनले कोर्ने हो । भावनालाई समेट्ने हो र शब्दले सिंगार्ने हो । शब्दको छनोट गर्दा गीतमा अलिकति छन्द मिलाउनुपर्छ, कविता लेख्दा सजिलो हुन्छ । मनै खन्याउन पाइन्छ । गीत कोर्दा विचार पुर्याउनुपर्छ भने कविता कोर्दा भावनाका सबै रूपहरू दर्शाउन पाइन्छ ।
तपाईंले लेख्ने गीत कविता कसका लागि हुन्छ ?
म विशेष गीत चाहिँ सबैका लागि र मैले चिनेजानेकाको भावना टिपेर वर्णन गर्ने कोसिस गर्दछु भने कविता चाहिँ देश, प्रकृति, राजनीति, सामाजिक, समसामयिक घटनालाई छोएर लेख्छु । मन छोयो कि टिप्न खोज्छु । कहिले त कफी शपमा बसेर न्याप्किनमा लेख्छु । कति त टिप्न नपाउँदै मस्तिष्कमै हराउँछन् ।
अहिले नेपाली गीत संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
सबै प्रकारका गीतले आफ्नै मौलिकता बोकेका हुन्छन् । यसमा मिहिनेत र पसिनाले गीत निस्कन्छ । त्यसैले यो पाटो बुझेकी छु मैले र सबै गीत र संगीत मलाई गरिमामय लाग्छ । आजकल त झन् मिडियाले यस क्षेत्रलाई उत्कृष्ट बनाएको छ र नयाँ-नयाँ प्रविधिहरूले सबैजनालाई सहज बनाएको छ ।
लेखेर पाइने र नपाइने के हो ?
लेखेर सन्तुष्टि पाइन्छ । कहिलेकाहीँ त आफूले लेखेको आफैंलाई अचम्म पनि लाग्छ । सन्तुष्टि पाएपछि त पुग्छ नि के खोज्नु ।
तपाईंलाई मन पर्ने गीत र कविता कुन हो ?
मलाई सबैभन्दा मनपर्ने गीतिकाव्य ‘मुनामदन’ हो । जुन जति पढ्दा पनि नौलो लाग्छ र सधैँ जस्तो रुन मन लाग्छ, मन दुख्छ । लक्ष्मीप्रसाद देवकोटा सबैभन्दा बढी मनपर्ने कवि हुनुहुन्छ र साथै कविशिरोमणि लेखनाथ पौड्याल, भूपि शेरचन, गोपालप्रसाद रिमाल र बालकृष्ण सम, माधवप्रसाद घिमिरेका कविताहरू पनि उत्कृष्ट लाग्छन् । देशसम्बन्धी गीत गजल र कविताले मन छुँदा रुन मन लाग्छ । सायद देशलाई दुखेकाले होला । हिन्दी गीत ‘तेरी मिट्टी’ सुनेकी छु, रुन मन लाग्छ । मलाई मनोज मुन्तसिर, इस्माइल दरवार, जावेद अफ्तर र रविन्द्रनाथ टैगोर मन पर्छन् ।
तपाईंलाई मन पर्ने गीतकार, संगीतकार र गायक-गायिका ?
गीतकारमा लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, किरण खरेल, गोपाल योञ्जन, गोपालप्रसाद रिमाल, भूपि शेरचन, प्रकाश सपुत, महेन्द्र वी.वी. शाह र चाँदनी शाह । मनपर्ने संगीतकारमा गोपाल योञ्जन, नारायण गोपाल, पे्रमध्वज प्रधान, प्रकाश गुरुङ, राजुसिंह, शम्भुजित बास्कोटा । मनपर्ने गायक-गायिकामा नारायण गोपाल, ओमविक्रम विष्ट, दीपक बज्राचार्य, करनदास, निमा रुम्बा, प्रमोद खरेल, प्रताप दास, पुष्पन प्रधान, नेपथ्यका गीतहरू, नाइन्टी सेबेन्टिफोर एडीका गीतहरू, हेमन्त राना, अरुणा लामा, इन्दिरा जोशी, मिलन नेवार, रचना रिमाल, अस्मिता अधिकारी, आस्था राउत, प्रविशा ।
वर्तमान गीतहरूमध्ये मनपर्ने गीत ?
‘एउटा सपना छ’, ‘तिमीलाई हेर्ने बानी’, ‘साइली’, ‘फूलबुट्टेसाडी’, ‘हरयुग होस’, ‘सपनाको राजा’, ‘तिमीलाई भुलेको छैन’ ‘हाइझुमा’ लगायतका थुप्रै छन् ।
गीतबाहेक अन्य विषयमा लेख्ने ‘झोक’ चलेको छैन ?
कसैका आत्मकथा लेख्ने कोसिस गर्ने मन त छ तर आँट चाहिएको छ । के हुन्छ थाहा छैन ।
गीत कविता श्रोता/दर्शकमाझ पुर्याएपछि कस्तो महसुस हुन्छ ?
तृप्तिको अनुभूति हुन्छ उहाँहरूले सुनिदिँदा मात्र । मन पराइदिनुभए त जोश र जाँगर सबै बेताल हुन्छन् ।
परिवारको कत्तिको साथ छ ?
सुरुवात नै श्रीमान् डा. रूप खड्काबाट भएको हो । मैले त यस्तो सोचेकै थिएन । अलमलिएकी थिएँ । छोरा डा. उत्सव, छोरी उपासनालगायत मेरी स्वर्गीय मुमा, बुबा, बहिनीहरू र भाइहरू सबैले दिएको उत्साह नै ऊर्जा बन्न पुग्यो । नबुझे पनि विदेशी साथीहरूले ‘वा उ ओ’ले त झन् हौसला दियो । भर्खरकै गीत ‘आमा नहुँदा’ उत्कृष्ट भइदियो । कतिले त सुन्न सक्दैनन्, अनि रुन्छन् । प्रायः म जस्तै आमा नभएकालाई गाह्रो भएछ यो गीतले । यसले पनि मेरो यो पाटोलाई हिम्मत दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच