
दार्चुला । नेपालमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । पुराना सवारी, क्षमताभन्दा बढी यात्रु बोक्नु, सडकको दुर्दशा र चालकको लापरबाही आदिका कारण हाम्रा सडक मृत्युमार्ग जस्तै बनेका छन् । बर्सेनि सडक दुर्घटनामा चार हजार जनाको हाराहारीमा ज्यान गुमाउने गरेको भयावह तथ्यांक देखिने गरेको छ । जसकारण नागरिकहरू त्रासदीपूर्ण यात्रा गर्न विवश छन् । यसमा सरोकारवालाको गम्भीर नजर नपुग्दा दुर्घटनाको कहालीलाग्दो दुष्चक्र दोहोरिएको दोहोरियै छ । अझ चाडपर्वको मुखमा दुर्घटनाका दुःखद खबरहरू बढी मात्रामा देखिन्छन् । यस्तो विकट परिस्थितिलाई जिम्मेवार निकायले गम्भीर रूपमा नलिँदा नागरिकहरू अकालमा ज्यान गुमाउनुपरेको छ । शुक्रबार पनि दार्चुलामा भएको एक सवारी दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् ।
दार्चुलाको मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्राबाट फर्कने क्रममा भएको जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म१ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ को बगजेबलामा शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर, सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर-९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका-५ का वीरेन्द्रसिंह बोहरा रहनुभएको छ ।
मृतकमध्ये चार जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
यस्तै, दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी-५ का उत्तम रोकाया, शैल्यशिखर-५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका-८ निवासी जिप चालक सुनिल जोशी घाइते हुनुभएको छ । टाउकोमा चोट लागेका जिप चालक जोशीको अवस्था गम्भीर छ । अन्य मध्यम घाइते छन् । घाइते सबैको उपचार सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको छ । घाइतेहरूलार्ई हेलिकोप्टरबाट धनगढी लगिएको थियो । महाकाली लोकमार्गअन्तर्गत शैल्यशिखर नगरपालिका-६ बगजेबलामा अनियन्त्रित भई जिप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
पछिल्लो केही दिनयता लगातारजसो सवारी दुर्घटना भइरहेका छन् । गत २३ कात्तिकदेखि ३० गतेसम्म देशभर दर्जनौँ दुर्घटना भएका छन् । जसमा ६७ जना नागरिकले ज्यान गुमाएका छन् । जसमा कालीकोटको पलाँता र बागलुङको ढुंगेखानीमा मात्र १२ जनाले ज्यान गुमाएका थिए । नेपाल प्रहरीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा पछिल्लो २४ घण्टामा मात्रै १३ जनाले ज्यान गुमाएका छन् । यसरी हेर्दा यो हप्ता दैनिक सरदर सात जनाभन्दा बढीले ज्यान गुमाएका हुन् । यी दुर्घटना शहरदेखि ग्रामीण क्षेत्रसम्म भएका छन् । दैनिक छिटफुट घटनालाई नगन्ने हो भने देशभर करिब दैनिक ५४ वटा दुर्घटना हुने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच