
शिशिरराज पाण्डे
बालबालिकलाई कस्तो खाना खुवाउने कुराको ध्यान बाबुआमाले विशेष रूपमा दिनुपर्दछ । मौसम परिवर्तनले सँगै बलबालिकालाई विभिन्न खालका सरुवा रोग तथा संक्रमण लाग्न सक्छन् । जाडोमा उचित पोशणयुक्त खानेकुराको कमिका कारण रोगसँग लड्ने क्षमतामा कमी भएर विशेषगरी बालबालिकामा संक्रमणको समस्या बढी हुन्छ । बालबालिकाहरूमा चिसोसँग सम्बन्धित समस्या रुघा लाग्ने, टन्सिल हुने, कान दुख्ने, दात दुख्ने, खोकी लाग्ने, घ्यारघ्यार हुने समस्या जाडोमा बढी देखिन्छ । जाडोको समयमा श्वासप्रश्वाससँग सम्बन्धी समस्या जस्तो रुघा लागेपछि रुघामा मात्र सीमित नभएर घाटिमा एवं छातीमा कफ जम्ने, कान र दात दुख्ने, स्वाँ-स्वाँ र घ्यारघ्यार हुने, दम भएका बालबालिकामा रुघा लागेपछि दम बढ्ने, चिसो आफैं पनि दमको ट्रिगरको रूपमा काम गर्ने भएकाले बालबालिकामा दमको समस्या हुने गर्छ ।
जाडोको समयमा बालबालिकामा धेरै हुने अर्को खाना र पानीबाट हुने प्रमुख समस्या झाडापखाला पनि हो । रोटा भाइरसले हुने पखाला, जुका लाग्ने, चिसोले गर्दा साना बालबालिकामा ‘हाइपोथर्मिया’ हुनेगर्छ । अर्को चिसोबाट बच्न प्रयोग गरिने आगो तथा हिटरले हुने समस्यामा पोल्ने, बन्द कोठामा हिटर बाल्दा कार्बोनमनोअक्साइड ग्यास बढी भएर हुने समस्या जाडोमा बढी देखिने गर्छ । साना बालबालिकाहरूमा रुघाकै कारण दुध चुस्न नसक्ने, नाक बन्द भएर मुख खोलेर सुत्ने, छट्पटी हुने समस्या देखिन्छ । बलबालिकालाई सामान्य रुघाखोकी लाग्दैमा औषधि वा एन्टिबायोटिक्स प्रयोग गरिहाल्नु हुँदैन । बालबालिकामा सामान्य रुघाखोकी लागेमा नाक सफा गरिदिने, दुधमात्र खाने बच्चालाई दुध खुवाइरहने, अघि ठूलो बालबालिकालाई झोलिलो पोसिलो खानेकुरा खुवाउने, ज्वरो आएमा पारासिटामोल दिने गर्नुपर्छ ।
बच्चा एक वर्षभन्दा माथिको भएपछि एउटै टेबुलमा बसेर सबै परिवारका सदस्यले खाने बानी हुनुपर्छ । टिभी बन्द गर्नुपर्छ या टिभीको अगाडि बसेर खाने गर्नुहुँदैन । बालबालिकलाई घरमा बनाएको पोषिलो खाना खुवाउनु नै रोगबाट बचाउनु हो भन्ने प्रमुख उद्देश्य लिएर नै बाबुआमा तथा परिवारले ध्यान दिनुपर्दछ ।
साना बालबालिकामा रुघा लागेको बेलामा छातीको घ्यारघ्यार हुने समस्या सामान्य समस्यामा पर्छ । यो समस्या पनि सामान्य रूपमा कहिलेकाँही हुनु स्वाभाविक मानिन्छ । तर, पटक-पटक छाती घ्यारघ्यार भइरहन्छ भने दम हुनसक्ने भएकाले रोग पहिचान र उपचार गर्नुपर्छ । नाकको पनि घ्यारघ्यार हुन्छ । रुघा लाग्दा नाक बन्द हुने, घुर्ने, घ्यारघ्यार हुने, सास फेर्न नसकेर मुख खोलेर सास फेर्ने समस्या हुन्छ । न्यानो पारेर राख्नुपर्छ । न्यानो पार्दा ध्यान दिन जरुरी छ । न्यानो पार्ने नाममा धेरै कपडा लगाएर गुम्साउन पनि हुँदैन । त्यसले बच्चालाई झनै पसिना आएर चिसो भइरहेको हुन्छ । एक-दुई लेयर कपडा लगाएर बाहिर ज्याकेट लगाइदिने, मोजा पञ्जा लगाइदिने, कान छोपिने टोपी लगाइदिने ।
बालबालिकालाई न्यानो बनाउन बाबुनानी बस्ने कोठालाई पनि न्यानो बनाउने हो । कोठा न्यानो बनाउँदा गाउँघरमा धेरै दाउरा बालेर सबै झ्याल ढोका बन्द गर्ने चलन छ । यस्तो गर्नु भने हुँदैन । बन्द कोठामा दाउरा बालेर कोठा तताउन सबै झ्यालढोका बन्द गर्दा कार्वनमनोअक्साइड ग्यास बन्छ । त्यसले पनि बालबालिकालाई असर गर्छ । धुँवामा बालबालिकालाई राख्दा नाक सुुख्खा भएर असर गर्छ । आगोको धुँवा, व्रिकेटको धुँवा राम्रो हुँदैन । हिटर बाल्दा पनि ध्यान दिनुपर्छ । झ्याल ढोका बन्द गरेर रातभर हिटर बाल्नु हुँदैन । एकछिन् बालेर कोठा तताएर हिटर बन्द गर्नुपर्छ । बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन् । औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै झन् सिकिस्त हुँदै जान्छन् । लामो समयसम्म खानेकुरामा ध्यान पुर्याउन नसक्दा शारीरिक, मानसिक रूपमा नराम्रो असर पर्नसक्छ । शारीरिक शक्ति, मेटाबोलिजम् आदिमा परिवर्तन हुनसक्छ । चिसो मौसममा न्यानो लुगा आदि मात्रैले पुग्दैन । पोषिलो खानेकुरामा बढी ध्यान पुर्याउनु पर्छ ।
बालबालिकाको मांसपेशीको सही विकास र हड्डीको मजबुतीका लागि प्रोटिन आवश्यक हुन्छ । यसका लागि बच्चालाई पनीरयुक्त खाद्यपदार्थ, अण्डा, मासु, माछा आदि दिनुपर्छ । भिटामिन र मिनरल्स भरपूर दिनुपर्छ । क्याल्सियम भरपूर मात्रामा पाइने पौष्टिक पदार्थ दिनुपर्छ । भिटामिन र आइरनका लागि बच्चालाई हरियो सागसब्जी खुवाउनुपर्छ । फलामआ भिटामिन, आइरन र अन्य पौष्टिकत्व पाइन्छ । हुर्केका बलबालिकलाई बढीभन्दा बढी फल, जुस र मौसमी फल दिनुपर्छ । बच्चालाई अंगुर, स्याउ, सुन्तला जस्ता फलको सलाद काटेर खुवाउन सकिन्छ । साथै बालबालिकलाई विभिन्न मौसमी फलफुलको घरमा नै जुस बनाएर पिलाउन सकिन्छ । बालबालिकालाई पानी बढी पिउन दिनुपर्छ र सूपजस्ता तरल पदार्थको सेवन थोरै-थोरै मात्रामा धेरै पटक गराउनुपर्छ । यसका साथै बच्चालाई फाइबरयुक्त खाद्यपदार्थ दिनुपर्छ । शारीरिक वृत्ति विकास, इन्सुलिनको मात्रा मिलाउन, मष्तिस्क बलियो बनाउन, मुटु स्वस्थ राख्न, स्मरण शक्ति बढाउन, बालबालिकाको सम्पूर्ण विकासका लागि यी खानेकुरा अति नै उपयोगी हुन्छन् । खान सक्ने बालबालिकलाई उमेर समुह अनुसार जाडो महिनामा मात्रै नभई सधैं ड्राइ फ्रुट्स जस्तो : खजुर, बदाम, ओखर, नेपाली बदाम, छोकडा, खुर्पानी अत्ति नै स्वास्थबर्धक खानेकुरा दिनुपर्दछ । बढ्दो उमेरका बालबालिकलाई जंकफुडभन्दा पौष्टिक खाना खुवाउने बानी गर्नुस् । चामल, गहुँ, मकै, जौ र कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ ।
अभिभावक बालबालिकाको पोषणका लागि राम्रो रोल मोडेल हुनुपर्छ । आमाबाबुले बच्चाहरूको खानपानमा सशक्त भूमिका खेल्छन् । बालबालिकालाई खुशी र स्वस्थ हुन, राम्रोसँग बढ्न र विकास गर्न आवश्यक हेरचाह प्रदान गर्न अभिभावकले विचार पुर्याउन अत्यन्त आवश्यक छ ।
विद्यालय जाने गरेका बालबालिकाले विद्यालयमा कस्तो प्रकारका खाने कुरा खान्छन, कस्तो पानी पिउछन् त्यो कुरा अभिभावकले ध्यान दिन जरुरी छ । अभिभावकहरूको आफुले समय अभावका कारण स्कुलमा दैनिक तथा पूर्णकालीन बोडर्स गर्दिने गरेका छन् । त्यो बेला आफ्न बालबालिकाले कस्तो खालका खानेकुरा खाए, विद्यालयले आफ्ना बालबालिकलाई कस्तो खानेकुरा दिएको छ त्यो कुराको जानकारी पनि राख्नुपर्दछ । बालबालिकले दिने खानेकुरामा अत्यधिक नुन, स्याचुरेटेड फ्याट, चिनी, कम मात्रामा मात्र फाइबर र पौष्टिक तत्व पाइने भएकाले बच्चाको वृद्धिविकासमा असर पुग्छ ।
स्कुलका केटाकेटीलाई पोषणयुक्त सन्तुलित आहार खुवाउनुपर्छ । वास्तवमा खाना पहिलो प्राथमिकता हो भने पढाइ र सिकाइ दोस्रो महत्वपूर्ण कुरा हुन् । हुर्किँदो बालबालिकामामा हरेक बार खाना चारको मूल मन्त्रलाई जीवनमा अपनाउनुपर्छ । अर्थात् हरेक पटकको खानामा सात प्रकारका खाद्य समूहहरूमध्ये कम्तीमा चार समूहका खानेकुरा पार्नुपर्छ । खानाको चार समूह यसप्रकार छन्ः
समूह (१) अन्न वा अन्य जमिनमुनि फल्ने कन्दमुल समूह
(२) गेडागुडी, दालहरू, तेलबिउ, नट्सहरू आदि समूह
(३) विभिन्न किसिमका तरकारी र फलफूलहरू र समूह
(४) पशुजन्य श्रोत (दूध तथा दुग्ध पदार्थ, माछा, मासु, अण्डा) ।
शिक्षा र खाना परिपुरक जस्तै हुन् । कस्तो खाना खानुपर्छ, कुन खाना राम्रो, कुन खाना नराम्रो भन्ने कुरा बच्चालाई सानैदेखि नै सिकाउनु जरुरी छ । खाना खानुको महत्व, पानी खानुको महत्व, पोषिलो खाना खानुको फाइदा, बजारको (पत्रु) खानाले गर्ने असरबारे बच्चाहरूलाई घरदेखि विद्यालयसम्म शिक्षा दिनु जरुरी छ । यसमा घर–परिवारका सदस्यहरू (खासमा आमाबुवा), विद्यालय (खासमा शिक्षक वर्ग) र विद्यार्थी सबै सचेत हुनुपर्छ । यसका लागि घरको भान्सादेखि स्कुलको क्यान्टिनसम्म सुधार आउनु जरुरी छ । शिक्षकहरूले पोषण शिक्षामा मुख्य रूपमा पोषण अवधारणा सिकाउन ठूलो भूमिका खेल्न सक्छन् । बच्चाहरूले पनि शिक्षकहरूको कुरा छिटो विश्वास गर्छन् । पोषण बानीहरूलाई उत्प्रेरित गर्दै त्यसको सहजीकरणका लागि वातावरण सिर्जना गर्ने जिम्मेवारी विद्यालय र शिक्षकहरूको हातमा हुन्छ ।
शिक्षा र खाना परिपुरकजस्तै हुन् । कस्तो खाना खानुपर्छ, कुन खाना राम्रो, कुन खाना नराम्रो भन्ने कुरा बच्चालाई सानैदेखि नै सिकाउनु जरुरी छ । खाना खानुको महत्व, पानी खानुको महत्व, पोषिलो खाना खानुको फाइदा, बजारको (पत्रु) खानाले गर्ने असरबारे बच्चाहरूलाई घरदेखि विद्यालयसम्म शिक्षा दिनु जरुरी छ ।
चिसो पदार्थ र बजारमा किनिएको चिनी मिसिएको जुसले बालबालिकाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । तसर्थ, बच्चालाई यस्ता पेय पदार्थबाट टाढा राख्नुपर्छ । चकलेट तथा अस्वस्थ खानाले दाँतमा कीरा लाग्ने तथा आन्द्राको रोग लाग्ने सम्भावना हुन्छ । स्वस्थ खानेकुरामात्रै खुवाउनुपर्छ । बालबच्चालाई आफ्नै भान्साको खाना खुवाउने कुरा पनि । बालबालिकलाई दालको पानी, जाउलोलगायत खाद्यवस्तु खुवाउन सकिन्छ । विभिन्न गेडागुडी मिलाएर पिँधेर बनाएको सातु, लिटो बच्चालाई खुवाउँदा राम्रो पोषण पुग्दछ । त्यसैगरी, दालभातमा अण्डा मुछिदिने, हलुवा बनाउँदा घ्यू मिसाउने, चिनी, सख्खर मिलाएर धेरै क्यालोरी बनाई खुवाउने पनि गर्न सकिन्छ । दूधका परिकार जति पनि खुवाउन सकिन्छ । बच्चाको उमेरअनुसार तीन-चार घण्टाको फरकमा खानेकुरा खुवाउन सकिन्छ । जंकफुडमा लोभिएका बालबच्चाले घरको खानामा स्वाद पाउन छाडेका छन् । त्यसैले उनीहरूलाई आफ्नै भान्सामा पाकेको दालभात खुवाउन कम्ता महाभारत हुँदैन ।
बच्चालाई फकाएर, लोभ देखाएर, डर देखाएर खाना खुवाउनुपर्ने स्थिति छ । कति बच्चा त यस्ता हुन्छन्, जसलाई मोबाइल नदेखाई खाना नै खाइदिंँदैनन् । कतिलाई टेलिभिजन देखाएपछि मात्र खाना खुवाउन सकिन्छ । बालबालिकालाई विभिन्न खेलौना दिएर, ल्यापटप देखाए र कार्टुन देखाएर खाना खुवाउने चलन बढ्दो छ । यो प्रवृति बालबालिकालाई भन्दा पनि खुवाउने बाबुआमाका लागि सजिलो हो । बच्चाले आफूले के खाइरहेको छु भन्ने थाह पाउँदैन । उसको ध्यान ल्यापटपमा ग्याजेटमा हुन्छ । न बच्चाले यो के खाना हो भनेर थाह पाउँदा, न उसलाई स्वाद नै हुन्छ ?
बच्चा विस्तारै ठूलो हुँदै जान थालेपछि स्कुलमा भर्ना भएपछि आफैंले खानुपर्ने अवस्थामा भने गाह्रो हुन्छ । जो बालबलिकाहरू टिभी र ग्याजेटको अगाडि बसेर खान्छ, उसको तौल वास्तविकभन्दा पनि बढी हुने जोखिम रहन्छ । बच्च टिभीको अगाडि बसेको हुन्छ, बुबाआमाले आफ्नो सजिलोका लागि टिभीको अगाडि ल्याएर खानेकुरा राखिदिने र कार्यक्रम नसकिएसम्म उसले थपीथपी खाइरहने प्रवृति हुन्छ । टिभी हेर्दै खानेकुरा खाने समस्यापनि उत्तिकै हुन्छ । बच्चाको तौल उमेरभन्दा बढी हुने समस्या ज्यादा हुन्छ । यसलाई ओबिसिटी भनिन्छ । यस्तो भए सानै उमेरमा डाइवेटिज देखिने, हाइपरटेन्सन हुने कलेजोमा समस्या हुने देखिन्छ । शहरी क्षेत्रमा यस्तो समस्या ज्यादा छ ।
बच्चालाई खुवाउने निश्चित समय तालिका हुनुपर्छ । खानामा पनि अनुशासनको पालना गर्नुपर्ने हुन्छ । बच्चा एक वर्षभन्दा माथिको भएपछि एउटै टेबुलमा बसेर सबै परिवारका सदस्यले खाने बानी हुनुपर्छ । टिभी बन्द गर्नुपर्छ या टिभीको अगाडि बसेर खाने गर्नु हुँदैन । बालबालिकलाई घरमा बनाएको पोषिलो खाना खुवाउनु नै रोगबाट बचाउनु हो भन्ने प्रमुख उद्देश्य लिएर नै बाबुआमा तथा परिवारले ध्यान दिनुपर्दछ । (लेखक पाण्डे कान्तिपुर मिडिया ग्रुपको सर्कुलेशन, प्रेस तथा रिजनल विभाग प्रमुख हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच