काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब रुपैयाँ बढी हो । प्रतिशतका आधारमा यो १३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म चार खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ ।
आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी पाँच खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।
चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्र एक खर्ब ६० अर्ब राजस्व संकलन भएको छ ।
विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक : अर्थमन्त्री
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले लक्ष्यअनुरूप राजस्व संकलनमा मन्त्रालय केन्द्रित हुने बताउनुभयो । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढीपहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दूरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमीलगायतले असर पारे पनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रूपमा राजस्व संकलन भएको बताउनुभयो ।
कसको योगदान कति ?
अन्तःशुल्कमा चुरोट र सुर्तीबाट ११ अर्ब ९१ करोड, मदिराबाट १३ अर्ब ८६ करोड, बियरबाट १३ अर्ब ६४ करोड र अन्य उत्पादनमा ११ अर्ब २८ करोड राजस्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार अन्तःशुल्क गत वर्षको तुलनामा बढी संकलन भए पनि यो वर्षको लक्ष्यको तुलनामा भने कम संकलन भएको छ ।
पहिलो ६ महिनामा संकलन भएको अन्तःशुल्क यस अवधिमा उठाउने भनी लिइएको लक्ष्यको ९५.३० प्रतिशतमात्र हो । यो वर्ष उठेको समग्र राजस्वको संरचनामध्ये मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको १०३.६० प्रतिशत संकलन भएको छ । अन्य शीर्षकको राजस्व भने लक्ष्यको हाराहारी पुगेको छ ।
आयातमा उच्च वृद्धि
भन्सारतर्फको राजस्व संकलनमा वृद्धि देखिएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सारतर्फको राजस्व संकलन लक्ष्यको तुलनामा १०१.६८ प्रतिशत देखिएको छ । आन्तरिक राजस्व भने ९३.७८ प्रतिशतमात्र संकलन हुन सकेको छ ।
मूल्य अभिवृद्धि करमा भएको राजस्व वृद्धिमा भने आयातको योगदान ठूलो देखिएको छ । तर, आन्तरिकतर्फको भ्याटमा भने कमी आएको छ । यसो हुनुमा पुँजीगत खर्च कम हुनुलाई एक कारण मानिएको छ । यसबाट ठेक्का तथा परामर्श सेवाबाट संकलन हुने मूल्य अभिवृद्धि करमा कमी आएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच