![प्रतिपक्ष गठबन्धनले विशेष अधिवेशनको माग गरेपछि मात्र सरकारले अधिवेशन बोलाएको प्रचण्डको आरोप](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Prachanda.jpg)
माघ १६ लाई एकमुष्ट रूपमा शहीद दिवस मानेर प्रचलनमा आएको हुनाले आज शहीद दिवस । लामो समयदेखि आजको दिनलाई राष्ट्रले शहीद दिवसका रूपमा मान्दै र मनाउँदै आएको छ । राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने महान् व्यक्तिहरू नै शहीद हुन् । आज तिनीहरूको सम्झना गर्ने दिन हो । यीमध्ये कतिले आफ्नो चेतनासहितको बलिदानी दिएका थिए भने सबै त्यही स्तर र चेतानासहितको बलिदानीबाट शहीद बन्न पुगेको नहुन सक्छन् । तर सबैको जीवनको बलिदानीको मूल्यांकन कमबेसी भनेर गर्न मिल्दैन । नेपालको पहिलो अभिलिखित प्रथम शहीद गोरखाका लखन थापालाई मानिएको छ । उनलाई सरकारका तर्फबाटै उक्त सम्मान दिइएको छ । उनले पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाको शासनको विरोध गरेका थिए र त्यही कारणले उनलाई मारियो । राणाशासन कालमै कृष्णलाल अधिकारी पनि राणाशासकको विरोध गरेका कारण जेल परेका थिए र उनको जेलमै मृत्यु भएको थियो ।
नेपाल देशको निर्माणक्रममा भएका शहीदहरूको अभिलेख पूर्ण छैन । अंग्रेजसँगको युद्धमा वीरगति पाउनेहरू हुन् वा चीन तिब्बतसँगको युद्धमा बलिदान भएका हुन् तिनको स्मृति पनि हुनसकेको छैन । नेपालको भूगोल सानो भए पनि देश निर्माण गर्नेहरूबाट आरम्भ शहादतको यात्रा भने निकै ठूलो र विस्तारित छ । यो यात्रासमेतलाई स्मृतिमा राख्दै शहीद दिवस मनाउनु उचित हुन्छ । परम्परागत रूपमा मनाउने गरेको शहीद दिवस माघ १० देखि १६ सम्मलाई मात्रै मान्ने कि देश निर्माणको इतिहासको समेत सम्मानमा कुनै दिन र समय तोक्ने हो ? समयले गर्न लागेको प्रश्न हो यो ।
प्रचण्ड गोरखा काण्डमा पनि केही मानिस मारिएका थिए भने कतिपयले लामो समयसम्मको जेल जीवन बिताएका थिए । राणा शासनको अन्तिम चरणमा नेपाल प्रजा परिषद्को उदयपछि त्यसमा संलग्न भएका र आर्यसमाजी जागरणमा संलग्नहरूलाई १९९७ सालमा मृत्युदण्ड दिइयो । यो नै नेपालको पहिलो ठूलो शहीद काण्ड थियो । प्रजा परिषद्मा संलग्न भएकाहरू सबैलाई कठोर सजाय दिइयो । टंकप्रसाद आचार्य र रामहरि शर्माहरू बाहुन् भएकै कारणले मारिएनन् तर प्रजा परिषद्मा संलग्नमध्ये शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई झुण्ड्याएर मारियो । त्यसपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली ठोकेर मारियो । फरक-फरक दिन फरक ठाउँमा मारिएका व्यक्तिहरूको सम्झना गर्दै शहीद दिवस मनाउन माघ १६ गतेलाई तोकिएको छ ।
यही हीनताबोधका कारण अनेकौं भोगविलास ऐसआरामको जीवन बिताइरहेका राणा प्रधानमन्त्री जुद्धशमशेरले त्यसको पाँच वर्ष बित्ता नबित्तै शासनसत्ता परित्याग गरी जोगीका रूपमा रिडीमा बसेर बाँकी जीवन बिताए । आफूभन्दा पछाडि रोलक्रममा बसेका मोहनशमशेरकै दबाबका कारण उनी १९९७ सालको काण्ड गराउन बाध्य थिए भन्ने गरिएको छ । त्यसयताका शहीदहरूको संख्या उल्लेख्य छ । सात सालको क्रान्तिमा धेरैले शहादत प्राप्त गरे । थीरबम मल्ल र तेजबहादुर अमात्यलगायतको शहादतले सात सालको क्रान्ति सफल बनेको थियो भने यसैगरी २०१७ सालको प्रजातन्त्र अपहरणको घटनाको प्रतिरोध गर्दा देशैभरि नेपाली कांग्रेसका योद्धाहरू मारिएका थिए, नेपाली कांग्रेसका कार्यकर्ता चितवनको भरतपुरमा भने ठूलो संख्यामा मारिए । पञ्चायतको विरोधको शृंखला उक्त प्रणाली रहुन्जेल नै चलिरहृयो ।
२०२८ सालताका कम्युनिष्टहरूको एक समूहले झापामा सामन्ती सफाया आन्दोलन चलाएको प्रकरणमा रामनाथ दाहाल, वीरेन राजबंशीलगायतलाई पञ्चायतले मार्यो । राजा महेन्द्रलाई जनकपुरमा बम प्रहारको घटनाक्रममा दुर्गानन्द झालाई २०२० सालमा मृत्युदण्ड दिइयो भने छिन्ताङ र पिस्करमा कम्युनिष्ट पार्टीका कार्याकर्ताको हत्या भयो । २०३१ सालको ओखलढुंगा सशस्त्र क्रान्तिको तयारी र त्यसमा संलग्नहरूको पनि ठूलो संख्यामा हत्या भएको इतिहास छ । महोत्तरीको मटिहानीमा ओखलढुंगाका केशव कोइरालाको निर्मम हत्या भएको थियो भने ललितपुरको नखुमा पनि ओखलढुंगाकै लीला दाहाल, ठगीराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई मारियो । ओखलढुंगामा पेशल दाहालको हत्या भयो । ओखलढुंगाकै टोक्सेल सातसल्लेमा १० जना मारिए ।
२०३१ साल पुस १ गते बिहान टिम्बुरबोटे ओढारमा महेश कोइराला, राम र लक्ष्मण उपाध्यायलगायत १० जना मारिए भने सोही दिन ठाडेमा प्रहरीको गोलीबाट पाँचजनाको हत्या भयो । सोलुमा एकजनाको हत्या भयो । यस क्रान्तिमा संलग्न कमाण्डर कप्तान यज्ञबहादुर थापा र तयारीका क्रममा भएको विराटनगर बमकाण्डका आरोपी भीमनारायण श्रेष्ठलाई माघ २६ गते गोली हानी मृत्युदण्ड दिइयो । यो शृंखला २०४६ सालको जनआन्दोलनमा पनि थपिन पुग्यो । पचासको दशकमा माओवादीले चलाएको सशस्त्र विद्रोहका क्रममा त १७ हजार बढी मानिस मारिए । तीमध्ये केहीलाई माओवादीले मार्यो भने केहीलाई सरकार पक्षबाट । साथै २०६२/०६३ मा र विभिन्न समयमा भएका तराई आन्दोलनका साथै पहिचानवादी आन्दोलनहरूमा समेत मानिसहरू मारिएका छन् ।
यसरी हेर्दा नेपालमा हालसम्म मारिएका सबैलाई शहीद मान्ने हो भने त्यो संख्या बीसौं हजार हुन आउँछ तर यहाँ एउटा गम्भीर प्रश्न पनि उठ्ने गर्छ कसलाई शहीद मान्ने भनेर । मारिएकाहरू सबै १९९७ सालका जस्ता सचेत र खुशीले मर्न तयार थिए कि थिएनन् । अनेक घटना र सन्दर्भमा भाग्दा मारिएका, भिडमा रमिता हेर्दा मारिएकाहरू सबै शहीद हुन् कि होइनन्, तिनको बलिदानी राष्ट्रको प्रणाली परिवर्तनका लागि र अधिकार स्थापित गर्न कत्तिको सहयोगी सिद्ध हुनसकेको छ ? त्यो सवाल महत्वपूर्ण हुन आउँछ । प्रजातन्त्र स्थापनार्थ कृष्णप्रसाद कोइराला, बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराईहरूको योगदान धेरै महत्वपूर्ण छ । करिब नौदशक लामो लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा अनेक सपूतहरूको योगदान महनीय छ । तर कालगतिले मृत्युवरण गर्नेहरूलाई शहीद मान्ने गरिएको छैन ।
केही क्षेत्रीय आन्दोलनमा नेताहरूले मानिसहरूलाई प्रलोभनकासाथ सहभागी गराएर मरेको खण्डमा परिवारलाई यति रुपैयाँ दिन्छौं भनेर कबोल गरेको नसुनिएको होइन । माओवादी आन्दोलनमा रिसइबीले कतिको हत्या भयो, त्यसरी व्यक्ति हत्या गर्नेहरू पनि पछि मारिएको अवस्थासमेत छ । हाल त्यस्ता दुबैलाई शहीद मान्नुपर्ने बाध्यता छ । शहीदको पुनर्परिभाषा आवश्यक देखिएको छ । शहीद राष्ट्रको हुन्छ, सबैको साझा हुन्छ । पार्टीको झण्डाका आधारमा शहीदको परिभाषा गर्नु न्यायसंगत हुँदैन । ३६४ दिन उनीहरूको मार्गदर्शन बिर्सिएर एक दिन उनीहरूको तस्वीरमा फूल चढाउने कार्यले मात्र उनीहरूप्रति सम्मान गरिएको मान्ने प्रवृत्तिमा पनि हामीले सुधार गर्नैपर्छ । आजको यस महान् दिनको अवसरमा महान् शहीदहरूप्रति सम्मानभाव प्रकट गर्दै सम्पूर्ण वीर शहीदहरूमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दैछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच