
काठमाडौं । काठमाडौंमा एक विशेष समारोहबीच सिक्किमका सर्जक टिबी चन्द सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’को परिचर्चा तथा सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको कार्यक्रममा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो । दुवै जनालाई समारोहका प्रमुख अतिथि प्राडा. गोविन्दराज भट्टराईले सम्मान अर्पण गर्नुभएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २३ सय पृष्ठको ‘विश्वमा मानव सभ्यता–जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’ कृतिको परिचर्चामा वक्ताहरू बृहत् कृतिका लागि सर्जक सुब्बालाई शुभकामना बधाई दिनुका साथै कृतिको चर्चा गर्नुभएको थियो ।
मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि प्राडा. गोविन्दराज भट्टराई, विशेष अतिथि प्राडा. सुरेन्द्र केसी, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित सर्जक टिबी चन्द सुब्बा, पत्रकार शोभा अर्याल, महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ट कलाकारहरू लय संग्रौला, उत्तम केसी, वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार अमर वान्तु, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
स्वागत मन्तव्यका क्रममा प्रधानसम्पादक भुसालले मिलापको चर्चा गर्दै नेपाली भाषा, साहित्य, कला संस्कृतिका विषयमा मासिकमार्फत विगत १५ वर्षदेखि आफूहरूले सामग्री प्रस्तुत गर्दै आएको बताउनुभयो ।
प्रमुख अतिथि प्राडा भट्टराईले सर्जक सुब्बाले यस बृहत् कृतिको सुरुवातदेखि नै आफूसँग आउने गरेको र आफूले सक्दो सहयोग पु¥याएको बताउनुभयो । उहाँले यसभित्र समावेश भएका विषयवस्तुको समयक्रममा चर्चा हुँदै जाने र के कस्ता विषयवस्तु छन् भन्ने विषयमा चर्चा हुने बताउँदै उहाँको साहस तारिफयोग्य भएको जिकिर गर्नुभयो ।
यस्तै, प्राडा केसीले हामीले गर्न नसकेको काम सीमापारिका सर्जकहरूले गरिरहेको बताउँदै हाम्रो राजनीति र समाजिक परिवेश एक अर्काको खुट्टा तान्ने प्रवृत्ति रहेको सुनाउँदै हामीले आफूलाई परिमार्जित गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
महाकाव्यकार दाहालले साहित्यको सीमा नहुने भन्दै जहाँका सर्जकले सिर्जना गरेका रचना भए पनि ती सबैले मानवीय संवेदना, परिवेश, कला र संस्कृतिका लागि हुने जिकिर गर्नुभयो ।
वरिष्ठ कलाकार संग्रौलाले नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै सर्जक सुब्बाको खोज अनुसन्धानमूलक लेखनको चर्चा गर्नुभयो । गीतकार तथा निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा अध्यक्ष लेकालीले आफू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष हुँदा सर्जक सुब्बासँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै नेपाल बाहिरका धेरै सर्जकले नेपाली साहित्यको उत्थानमा आफूलाई संलग्न गराइरहेको र सर्जक सुब्बाका कार्य प्रशसनीय रहेको बताउनुभयो ।
सम्मानित सुब्बाले आफूले १७ वर्ष लागाएर यो पुस्तक तयार पारेको जानकारी गराउँदै नेपालका ७१ जिल्लामा आफू पुगेको सुनाउनुभयो । उहाँले कृतिको सुरुवातदेखि तयारहुँदा सम्मका विभिन्न अनुभव सुनाउनुभएको थियो ।
सम्मानित सुब्बाका यसअघि नै गीत, कविता, खण्डकाव्य, कथा, उपन्यास, जीवनी, गीति एल्बम र एक दर्जनकृति प्रकाशित छन् भने उहाँले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार रहनुभएका साहित्यकार सुब्बा नेपाली साहित्य परिषद्, गान्तोकलगायत विभिन्न संघ सस्थामा आबद्ध हुनुहुन्छ । त्यसैगरी, अर्का सम्मानित पत्रकार अर्याल सत्र वर्षदेखि पत्रकारिताकर्ममा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच