
साहित्य भनेको नै अन्तर हृदयको विरेचन हो । हृदय विरेचित हुने हिम्मत जन्माएर साहित्य लेखनको समाधिमा बस्यौँ भने समग्र संसार त्यसमा नै विरेचित भएर झल्कन्छ । श्लील/अश्लील, श्ष्टि/अशिष्ट जस्ता देशीय रङ्मा शासकले बनाएका विधिविधानलाई सामु राखेर भयले वा स्वार्थ प्राप्तिका आशाले अनि प्रगतिशील र अप्रगतिशीलका पुच्छर झुण्डाउँदै लेख्ने लेखक पनि यसको मर्मभन्दा धेरै टाढा रहन्छन् । नेपाली साहित्यमा यस्ता कमै साहित्यकार छन् जसले आफूलाई सर्वाङ्ग नङ्ग्याएर साहित्य लेखनमा न्यौछाबर गरेका हुन् ।
तिनै कम मध्येकी एक गोरखामा जन्मी न्युजिल्याण्डलाई कर्मथलो बनाएर बसेकी साहित्यकार हुन्- नमिता दवाडी । निरन्तर लेखन क्षेत्रमा लागेका छैनन् लाग्ने हो भने वर्तमान अवस्थामा गोरखाले जन्माएका दुई चेली रश्मि भट्ट र नमिता दवाडी निकै आशालाग्दो भविष्यका उदाहरणका रूपमा देखा पर्दछन् । रश्मि अलिकति सीमा राख्छिन्, सर्वाङ्ग खुल्न रुचाउन्नन् तर नमिता दवाडीमा यो पक्ष छँदै छैन भने पनि हुन्छ । यिनी निर्भीक तरिकाले आफूभित्र ज्वारका रूपमा सल्बलाएका भावहरूलाई जस्ताका त्यस्तै तर कलात्मक शिल्पमा उतार्छिन् ।
नमिता पशुपति, चर्च, गुम्बाका अहंसँग आफ्नो अस्मिता दाँज्छिन् । उनीहरू जस्तै बजारको भीडभित्र भित्रिने आफ्ना अहंका स्मरण गर्छिन् । उनीहरू खुला बजारमा भएकाले अग्ला भएका हुन् भने आफू किन खुला बजारबाट टाढा हुने त भन्ने भावको झड्कामा उनी कवितामा बोल्छिन् ।
‘जीवन नदीको किनारै किनार’ नमिता दवाडीको सशक्त मुक्तकविता सङ्ग्रह हो । विश्वकै सर्वसौन्दर्य देशमध्येको दोस्रो देश न्युजिल्याण्ड आफैँमा कवित्वको छहारी छ । पारिवारिक संस्कारगत प्रतिकूलता, डलरप्रतिको स्वाभाविक सम्मोहन, बलियो आर्थिक स्थितिका अभावले यिनीहरू मेसिनझैँ काममा घुम्न विवश हुन्छन् । अध्ययनको समयाभाव, साहित्यिक वातावरणको अझ अभाव, बल्लतल्ल वर्ष दिनमा एक दिन कार्यक्रम भए पनि त्यस ठाउँसम्म पुग्न विमानको टिकट अनिवार्य लिनुपर्ने हुन्छ । यो चाहिँ विदेशमा रहेका सबैजसो साहित्यकारको प्रतिकूल अवस्था हो । अन्य सामाजिक वा भेटघाटको वातावरण अनुकुलन भए पनि न्युजिल्याण्ड आफैँमा कविता छ ।
प्रशान्त महासागरको शान्त तटमा उभिएर नै हेर्यो भने पनि व्यक्ति भावुक नबनी छाड्दैन । वरिपरि खेल्ने हाँसका बथान प्रणयी भावमा वा पारिवारिक रमिताका लागि पुगेका जम्मै खालका मान्छेका चेहरामा एक किसिमको भावुकता त्यसरी लहराएको हुन्छ जसरी प्रशान्तको छाल लहराउँछ । यी जम्मै गुत्थीभित्र यिनी आफ्नो कवित्व चेतना छल्बलाउँछिन् । प्रकृति, खनिज पदार्थ, समाज अझ जटिलभन्दा जटिल यौनउन्मादका उर्लदा मादलाई बिम्बविधानका चातुरीभित्र सुटुक्क सजाएर यिनी कविताभित्र उफ्रिन्छिन् । हुन त अहिले आऊ मलाई बलात्कार गर, पोइला जान पाम् जस्ता शीर्षकमा नै नारीहरू आफूलाई निर्वाध अभिव्यक्ति दिन थालेका छन् ।
मान्छेभित्र जे छ त्यस रूपमा व्यक्त नभई भित्र सडी कुही सकेर पनि बाहिर चिल्ला चिप्ला शब्दमा व्यक्त भएका स्वाँगे प्रवृत्तिप्रति क्रूद्ध हुँदै नमिता यसरी व्यक्त हुन्छिन् कवितामा-कसैलाई नदेखेको
आफ्नै मनको ऐनामा
आफैँलाई नियाल्दा
लाजले
शरमले
झुक्नुपर्ने हो शिर
देखेर आफैँभित्रको नग्नता-(चिहान खन्दैछु म शीर्षकबाट)
अशान्त मन सायद उनी परिवेशसँग सन्तुष्ट छैनन् । त्यो परिवेश आफ्नै घरपरिवारको पनि हुन सक्छ, छरछिमेकको पनि हुन सक्छ, आफैँभित्र सञ्चित भुमरिएका विचारको पनि हुनसक्छ, त्यसलाई देखेर/पाएर उनी आवेशमा यसरी पोखिन्छिन्-
भत्किएको
जिन्दगीको मानचित्र
मनको कलमले
म जोड्न खोजिरहेछु
र जान्दछु
यो वहकाउभन्दा
बढी केही होइन-(दर्शक भएर हेर्नुको मजा शीर्षकबाट)
मान्छेभित्र खेल्ने सहस्र विचारमध्येको सबभन्दा शक्तिशाली विचार नै यौनेच्छा हो । यो सन्तुष्ट हुन पायो भने सामान्य मान्छे पनि निकै सक्षम बन्न पुग्छ, शक्तिशाली हुन सक्छ, सफल हुन सम्भव छ, सन्तुलनबाट नसक्ने पनि सक्ने हुनसक्छन् । असम्भव पनि सम्भव बनाउन सक्ने क्षमतामा उक्लन सक्छन् । यसले सन्तुष्टि पाएन भने आफूभित्र भएको क्षमता पनि सही ठाउँमा प्रयोग गर्न नसकी आफैँ समाप्त हुन पुग्छन् । यस सत्यलाई उजागर गर्दै उनी हरिण जोडीलाई माध्यम बनाएर यसरी व्यक्त हुन्छिन्-
धेरै भएको छैन
मेरो नजरमा परेको
त्यो हरिणजोडी
अनि सुनेका
तिनका प्रेमालाप पनि
छोएर परेली
जोई हरिणको
पोइ हरिण
कबुलनामा गर्छ
चुमेर तिम्रै अधर
ढुन्मुनाएको हुँ
अनि बकेर
तिम्रै प्रेम
बर्बराएको हुँ रातारात-(तरुणी हरिण शीर्षकबाट)
उनी समाजमा रहेका छुवाछुत, जातभात जस्ता प्रथाप्रति यिनी भित्रैदेखि विद्रोह बोल्छिन् । यिनको आकर्षक कवित्व चेतनको पक्ष त विद्रोह नै हो । यिनी आफ्ना कविताका कतै कुनै पङिक्तमा पनि राष्ट्रवादको थोत्रो वकालत गर्दिनन् । रीतिरिवाजको ‘र’ सम्म कतै यिनी उच्चारण गर्न रुचाउँदिनन् ।
यसै सन्दर्भमा उनी पशुपति, चर्च, गुम्बाका अहंसँग आफ्नो अस्मिता दाँज्छिन् । उनीहरू जस्तै बजारको भीडभित्र भित्रिने आफ्ना अहंका स्मरण गर्छिन् । उनीहरू खुला बजारमा भएकाले अग्ला भएका हुन् भने आफू किन खुला बजारबाट टाढा हुने त भन्ने भावको झड्कामा उनी कवितामा बोल्छिन् यसरी-
मस्जिदले बुनेको एक थान
कट्टरताको बर्को
यी सबै सबैलाई
बाह्रमासे हाटमा राखिदिएपछि
मैले पनि
एक भाँडो सपना किन्न
म सिङ्गैलाई
बजारमा टाँगिदिएकी छु-(बिक्रीमा म शीर्षक कविताबाट)
समाजमा रहेका छुवाछूत, जातभात जस्ता प्रथाप्रति यिनी भित्रैदेखि विद्रोह बोल्छिन् । यिनको आकर्षक कवित्व चेतनको पक्ष त विद्रोह नै हो । यिनी आफ्ना कविताका कतै कुनै पङिक्तमा पनि राष्ट्रवादको थोत्रो वकालत गर्दिनन् । ईश्वरभक्तिका जुठा अक्षर फिजाउँदिनन् । रीतिरिवाजको ‘र’ सम्म कतै यिनी उच्चारण गर्न रुचाउँदिनन् । सर्वत्र विद्रोह । यो चेतना समाधिमग्न भएर साहित्य लेखनमा लाग्ने हो भने नितान्त नवधारको सही साहित्य जन्मन सक्छ । ‘बोल्दै छु मनको गीता’ कवितामा अझ चर्को विद्रोहको आगो सल्काउँछिन् यिनी । यो चेतनाले जीवजगत्को दार्शनिक गहिराइ बुझ्ने हो भने, साहित्यिक इतिहासको विश्व अध्ययनको एक छेउमात्र मनमस्तिष्कमा सँगाल्ने हो भने अर्कै लेखनको उचाइ प्राप्त हुन्छ ।
मुक्तक, गीत, गजलसमेतमा त्यत्तिकै रमाउने नमिता दवाडी एक कुशल कार्यक्रम सञ्चालिका वा उद्घोषिका पनि हुन् । केही समय अघिसम्म त यिनी गीत/गजल गाउँदै फेसबुक भिडियोमा पनि खुब देखिन्थिन् । अहिले यो क्रम ठप्प भएको छ । उनी बिग्रेर हो वा सप्रेर ? बिग्रेर यस अर्थमा यो समय डलरतिर लगाएको हो भने बिग्रेकै मानिन्छ । सप्रेर यस अर्थमा गम्भीर सिर्जनशीलताका लागि सञ्जालमा हल्लिनु निकम्मा पन हो । यो एउटा सर्कल भीडको पारिचायक माध्यम मात्र हो । यसलाई छाडेर गहिराइ भेट्न लागिपरेकी हुन् भने यो उन्नतिको सकारात्मक पक्ष हो ।
नमिताको जन्मजात पहिलो प्राप्त प्रकृति भनेको नै साहित्य लेखन हो । यिनले यसलाई बुझेकी छिन् वा छैनन् । बुझेर यसमा नै समर्पित हुँदै सिर्जनाको सङ्घर्षमा लडिबुडी गर्ने हो भने यिनको भोलि उज्यालो छ । नत्र प्रशान्तका किनारमा दौडेर माछाका पक्वान्न खाने, डलरका खेतीमा रमाउने, एक दुई प्रत्यक्ष कार्यक्रममा उद्घोषणको अनुहार देखाउने बाहेकको भोलि रहँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच