
कालीकोट । खाँडाचक्र नगरपालिका वडा नम्बर ७, पिलीकी ७५ वर्षीया राजु कार्कीले जीवनको लामो समय संघर्षमै बिताउनुभयो । सन्तानबिहीन उहाँले जिउने आधार खोज्दै कर्णाली राजमार्गको किनारमा गिट्टी कुटेर दिनरात बिताउनु परेको थियो । अरूका गोठमा शरण लिनुपर्ने अवस्था थियो, ओत लाग्ने छानो थिएन, खाना पकाउने आफ्नै चुलो थिएन ।
जीवनको उत्तरार्द्धमा पनि कठोर परिस्थितिसँग जुध्दै बाँच्नुपर्ने बाध्यता थियो । तर, मानवताका निम्ति अझै पनि संवेदनशील मनहरू बाँकी रहेछन्, सहयोगका हातहरू अझै रोकिएका रहेनछन् । यही भावनाले प्रेरित भएर समाजका केही अभियन्ताहरूको समन्वयमा उहाँका लागि नयाँ घर निर्माण गरिएको छ ।
युवा मानव अधिकार रक्षक सञ्जाल कालीकोटकी अध्यक्ष तथा पत्रकार निस्ता कार्कीको पहलमा एम.आर.आर र एम.वि. कमल टिमको सहकार्यमा घर निर्माण गरिएको हो । एम.आर.आरका सरोज अधिकारीको विशेष पहलमा आर्थिक संकलन अभियान सञ्चालन गरिएपछि विभिन्न ठाउँमा रहेका सहयोगी मनहरूले हात अघि बढाउनु भयो । संकलनबाट जुटेको १ लाख ३५ हजार रुपैयाँमा उहाँका लागि नयाँ घर निर्माण गरियो । घर मात्र होइन, उहाँको दैनिक जीवन सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँ बराबरका जिन्सी सामग्री, भाँडाकुडा, खाद्यान्न, नुन, तेल, ओढ्ने ओछ्याउने कपडा समेत प्रदान गरिएको छ ।
सधैं अर्काको गोठमा आश्रय लिन बाध्य राजु कार्कीले जब आफ्नो घर पाउनुभयो, उहाँका आँखामा खुशीका आँसु टिलपिल भए । कठिनाइले भरिएको जीवनमा पहिलो पटक उहाँले आफ्नै घरको शीतल छानोमुनि बास पाउने दिन आयो । सहयोगी हातहरूबाट प्राप्त यो उपहार उहाँका लागि मात्र नभई सम्पूर्ण समाजका लागि पनि मानवताको उज्ज्वल उदाहरण बन्यो ।
महावै गाउँपालिका डिल्लिकोटका केदारसिंहले एक दिन उहाँलाई गिट्टी कुटिरहेको अवस्थामा देख्नुभयो । त्यो दृश्य हेर्न नसकी उहाँले भिडियो खिचेर टिकटकमा राखिदिनुभयो । भिडियो ‘भाइरल’ हुनासाथ समाजका विभिन्न ठाउँमा रहेका युवाहरूको मन छोयो । कतिले आर्थिक सहयोग गर्नुभयो, कतिले घर निर्माणको जिम्मा लिनुभयो, कतिले आवश्यक सामग्री जुटाउनुभयो । स्थानीय तुलसिंह कार्की र गोर्ख कार्कीले घर निर्माण कार्यको नेतृत्व लिनुभयो । वडा सरकारको सहजिकरणले पनि यो अभियानलाई थप सहज बनायो ।
नेपाल तरुण दल प्रदेश (क) का अध्यक्ष जितेन्द्र मल्लले युवा पुस्ताले मानव सेवामा सक्रिय हुनुपर्ने बताउँदै भविष्यमा यस्ता कार्यहरूमा अझ बढी सहभागिता जनाउनुपर्ने धारणा राख्नुभयो । घर निर्माण अभियानले देखाएको सकारात्मक उदाहरणले अब आउने दिनमा अन्य पीडितहरूलाई पनि राहत पुग्ने आशा गरिएको छ ।
सहयोगी हातहरूले बनाइदिएको घरले राजु कार्कीको जीवनको कठिन यात्रा सहज बनाएको छ । अब उहाँलाई रात बिताउने ठेगाना खोज्न सडकका छेउछाउ घुम्नु पर्दैन । आफ्नो घरको चौबाटोमा बस्न पाउने, चिसो रातहरूमा शीतल ओढ्नेछ । यो अभियानले केवल एक जना वृद्ध आमालाई मात्र होइन, समाजलाई नै नयाँ प्रेरणा दिएको छ । मानवताको भावनाले सधैं बाँधिरहन्छ, जसले कठिन परिस्थितिलाई पनि सहज बनाउन सक्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच