
म्याग्दी । पाँच महिनापछि भएको वर्षा र हिमपातका कारण म्याग्दीका किसानहरू खुसी भएका छन् । गत असोजमा मनसुन बाहिरिएपछि पहिलोपटक म्याग्दीलगायत धौलागिरि क्षेत्रमा वर्षा र हिमपात भएको हो । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
बेनी नगरपालिका-२ बगरफाँटका किसान भीमबहादुर कार्कीले भन्नुभयो, ‘लामो समयसम्म वर्षा नहुँदा हिउँदेबालीमा समस्या देखिन थालेको थियो । जंगलमा जंंगली फलफूल र कन्दमूलहरू सप्रिन पाएका थिएनन् । अहिले ढिलै भए पनि वर्षा भएपछि गहुँ, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।’ किसान टीका मिजारले लामो समयसम्म वर्षा नहुँदा सिँचाइ नभएको ठाउँमा बालीनाली सुक्न थालेका र ढिलोगरी भए पनि वर्षा भएपछि किसानलाई ठूलो राहत मिलेको बताउनुभयो ।
घोडेपानी, पुनहिल, खोप्रालेक लगायतका उच्च हिमाली क्षेत्रमा बिहीबारदेखि हिमपात भएको थियो । तल्लो क्षेत्रमा वर्षा र उपल्लो क्षेत्रमा हिमपात भएपछि किसानहरूलाई ठूलो राहत मिलेको बेनी नगरपालिकाकी कृषि अधिकृत आकृति ढुंगानाले बताउनुभयो । गत असोजमा मनसुनी वर्षा बाहिरिएपछि पहिलोपटक वर्षा भएको छ । वर्षा र हिमपातले हिउँदे बालीका लागि राम्रो हुनुका साथै वायुमण्डल पनि सफा भएको छ ।
गहुँ, जौँ, आलु लगायतका हिउँदेबाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको मंगला गाउँपालिका-२ का किसान रणबहादुर क्षत्रीले बताउनुभयो । ‘खेतबारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भए पनि वर्षा भयो राम्रो भयो’, उहाँले भन्नुभयो ।
त्यसैगरी, म्याग्दीको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीयस्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडि ओढार लगायतका ठाउँमा हिमपात भएको स्थानीयले जनाएका छन् । पर्यटकीयस्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन् । यस वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा किसानलाई राहत भएको अन्नपूर्ण गाउँपालिका-२ का शेरबहादुर पुनले बताउनुभयो । पश्चिमी वायुको प्रभावस्वरूप वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच