
साहित्यकार रञ्जु दाहालको भरखरै प्रकाशित पुस्तक हो ‘डोहोडोहो डोल्पो’ । उहाँको यो दोस्रो प्रकाशित पुस्तक हो । यसअघि उहाँको ‘प्रियसँगको यात्रा’ प्रकाशित भइसकेको छ । हुन त रञ्जु पद्य कवितामा पनि सिद्धहस्त हुनुहुन्छ तर उहाँका प्रकाशित पुस्तक भने दुवै यात्रा निबन्धात्मक कृति हुन् । उहाँले आफ्नो यस पुस्तकलाई यात्रानिबन्ध भन्नुभएको छ । साहित्यका विधागत अन्तर केलाउने क्रममा विद्वानहरूले नियात्रा र यात्रा निबन्धमा पनि केही भेद देखाउने गरेको पाइन्छ । यो पुस्तक भुँडीपुराण प्रकाशन बागबजारबाट प्रकाशित भएको छ । २०८० साल फागुनमा अथवा हालैमात्र यो पुस्तक प्रकाशित भएको छ ।
डिएमआई साइजको छरितो यो पुस्तक भूमिका खण्डसहित १६० पृष्ठको छ । पुस्तक आकर्षक छ र यसमा पँहेलो हलुका कागजको प्रयोग भएको छ । यसको छपाइस्तरीय छ र अशुद्धिहरू कमैमात्र पाइन्छन् । पुस्तकको आवरण पृष्ठ वृष्टि उपाध्यायको छ । आवरण आकर्षक छ । माथि थोरै भाग आकाश र त्यसमुनि हिमाल अनि केही पहाडी हरियालीहरू देख्न सकिन्छ । आवरणको बीचमा डोल्पा वा तिब्बती शैलीका सेता ठूला अक्षरमा पुस्तकको शीर्षक दिइएको छ । यो आवरण पृष्ठले पुस्तकको शीर्षकसँग सामन्जस्यता राख्छ । डोल्पाको भौगोलिक परिवेशलाई उतार्न चाहेको छ ।
डोल्पाको रहस्य, सुन्दरताका साथै विकटता र कष्टकर जीवनको सग्लो चित्र यहाँ उतारिएको छ । यसका लागि अनेकौं सन्दर्भ चित्रण भएका छन् । नेपालको हिमाली क्षेत्र त्यसमा पनि डोल्पाका बारेमा जान्न चाहनेका लागि यो पुस्तक उचित पाठ्यसामग्री बनेर आएको छ ।
पुस्तकको पृष्ठआवरणमा भूमिकालेखकहरू इल्या भट्टराई र युवराज नयाँघरेका भनाइ राखिएका छन् । त्यसमुनि प्रकाशक संस्था भुँडीपुराण प्रकाशनको लगोसहित नाम दिइएको छ । यहीँ बारकोड र पुस्तकको मूल्य पनि खुलाइएको छ । पुस्तको मूल्य २९० रुपैयाँ छ । पुस्तको भूमिका खण्डमा फोटोसहित इल्या भट्टराईको ‘हिम्मतिलो यात्रा’ र युवराज नयाँघरेको ‘डोल्पो : उँधो र उँभो’ छन् । त्यसपछि नियात्राकार रञ्जु दाहालको फोटोसहितको दश पृष्ठ लामो विचार ‘किताबी लत’ शीर्षकमा छ । त्यसपछि विषयसूची छ । यस पुस्तकमा दशवटा यात्रा निबन्धहरू समावेश छन् ।
जसरी यो पुस्तक आकर्षक र छरितो छ त्यसरी नै पुस्तकमा समावेश भएका यात्रानिबन्धहरू छरिता छन् । निबन्धका शीर्षक हेर्ने हो भने रुझेको रुकुम, बेहुलीजस्तै बाहुली, शरद्का पाहुना र त्रिपुरासँग जम्काभेट चारवटा यात्रानिबन्ध दुई शब्दका, त्यसपछि बनेन मोबाइल, जान्या हो डोल्पो ?, मनै कुँड्याउने अस्मिता, तीनवटा तीन शब्दका, शरया बनाऊँ सरिता तँलाई ! र यो विचित्र ! त्यो पवित्र !! दुईवटा चार शब्दका र ठूली भेरी तेरी कि मेरी एउटा पाँच शब्दको शीर्षकमा संरचित छन् । यसबाट रञ्जु शीर्षक छनोटमा पनि छोटा र आकर्षक शीर्षक मन पराउनुहुन्छ भन्ने थाहा पाइन्छ ।
फैलावटका आधारमा हेर्ने हो भने यस पुस्तकमा समेटिएका यात्रानिबन्धहरू ६ पृष्ठदेखि २५ पृष्ठसम्मका छन् तर समग्रमा छोटा निबन्धहरूको समाविष्टि बढी छ । समावेश भएका यात्रा निबन्धहरू सम्पूर्ण डोल्पाको यात्रामा केन्द्रित छन् । यात्रानिबन्धकारको अभिष्ट पनि यही हो । डोल्पाको रहस्य, सुन्दरताका साथै विकटता र कष्टकर जीवनको सग्लो चित्र यहाँ उतारिएको छ । यसका लागि अनेकौं सन्दर्भ चित्रण भएका छन् । नेपालको हिमाली क्षेत्र त्यसमा पनि डोल्पाका बारेमा जान्न चाहनेका लागि पुस्तक उचित पाठ्यसामग्री बनेर आएको छ ।
यहाँ यो छोटो पाठक प्रतिक्रियामा यसबारे साङ्गोपाङ्ग लेख्न सम्भव छैन, यो सानो जानकारीमूलक आलेखमात्र हो । यसबारे विस्तृतमा पछि कतै लेख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । पुस्तकको अन्तिम पृष्ठमा फोटोसहित यात्रानिबन्धकार रञ्जु दाहालसम्बन्धी केही चिनारी दिइएको छ । पुस्तकका लागि यात्रानिबन्धकार रञ्जुलाई बधाई छ । यसका साथै कृतिको सफलताका कामना । रञ्जु दाहालबाट यस प्रकारका अन्यान्य पुस्तकहरूको अपेक्षा गर्नु अन्यथा हुनेछैन, उहाँलाई अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच