इलामका गाउँ-गाउँमा चुनावी रौनक

हिमालय टाइम्स
Read Time = 6 mins

प्रकाश नेपाल/हिटा
इलाम । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तीव्र बनेको छ । यसअघि सीमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेदवारहरू बिहीबारदेखि चुनाव प्रचारप्रसार खुला भएसँगै आक्रामक चुनावी प्रचारमा जुटेका छन् । समकालीन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्व-प्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा भएका कारण पनि इलामको निर्वाचन मुलुककै चासोको विषय बनेको छ ।

दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलाममा राजनीतिक दल र स्वतन्त्र गरी २५ जना चुनावी प्रतिस्पर्धामा छन् । दुवै क्षेत्रमा देशका दुई ठूला नेताहरू पूर्व-प्रधानमन्त्री खनाल र संविधानसभाका अध्यक्ष नेम्वाङसँग पार्टीका जिल्ला अध्यक्षहरू प्रतिस्पर्धामा छन् । विगत निर्वाचनहरूमा एउटै पार्टीबाट निर्वाचित हुँदै आउनुभएका खनाल र नेम्वाङ नेकपा एमाले विभाजनसँगै यसपटक फरक-फरक दलबाट चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका पूर्व-प्रधानमन्त्री झलनाथ खनालको सातौं उम्मेदवारी हो । २०५६ सालमा नेपाली कांगे्रसका उम्मेदवार बेनुपराज प्रसाईंसँग पराजित बन्नुबाहेक खनालले निरन्तर यही क्षेत्रबाट निर्वाचन जित्दै आउनुभएको छ । आसन्न चुनाव आफ्ना लागि अन्तिम भएको बताउँदै आउनुभएका खनाललाई यसपटक आफ्नै पूर्व-पार्टी एमालेका उम्मेदवार महेश बस्नेत चुनौती बनेर आउनुभएको छ ।

नेकपा एमालेमा आएको फुटपछि पहिलो चुनावको सामना गर्नुभएका खनाललाई पाँचदलीय सत्ता गठबन्धनको साथ रहे पनि आफ्नो पुरानो पार्टीको संगठन र जिल्ला तहमा लोकप्रिय रहेका बस्नेतका कारण विगतमा जस्तो सहज भने छैन । तर, नेता खनाल भने चुनाव जित्नेमा ढुक्क देखिनुहुन्छ ।

खनालसँग प्रतिस्पर्धामा उत्रिनुभएका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत दुईपटक इलाम नगरपालिकाको प्रमुख भइसक्नुभएको छ । लामो समयदेखि पार्टीमा राम्रो पकड बनाए पनि हेभिवेट नेतासँग प्रतिस्पर्धा गर्नुपर्दा बस्नेतलाई पनि चुनाव जित्न फलामको च्युरा चपाउनुसरह हुने देखिन्छ । तर, बस्नेत भने यो कुरामा सहमत देखिनुहुन्न । निर्वाचन क्षेत्र नम्बर १ मा सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी पाँच स्थानीय तह रहेका छन् ।

इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । खड्कालाई गठबन्धनको साथ रहँदा नेम्वाङलाई पार्टी संगठन र व्यक्तित्वको साथ छ । खड्का प्रतिस्पर्धी भएसँगै यही क्षेत्रबाट ०५६ सालदेखि अपराजित नेम्वाङलाई भने चुनाव जित्न सकस पर्ने देखिन्छ । पटक-पटक मुलुकको राजकीय उच्च पदमा पुगे पनि विकास निर्माणको काम नगरेका नेम्वाङप्रति यस क्षेत्रका मतदाताको असन्तुष्टिलाई क्यास गर्ने खड्काको दाउ छ । तर, सुवास नेम्वाङले भने आफ्नो जितप्रति शंका नरहेको जिकिर गर्दै आउनुभएको छ ।

एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेससहित गठबन्धन दल लागिपरेका छन् । यो पटक एमाले फुटेका कारण पनि आफूले जित्ने कांग्रेसको दाबी छ । इलाम क्षेत्र नम्बर २ मा इलाम र देउमाई गरी दुई नगरपालिका र चुलाचुली, माङसेबुङ, फाकफोक गाउँपालिका गरी पाँच स्थानीय तह छन् । दलगत उम्मेदवारबाहेक चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेदवार पनि आ-आफ्नो एजेण्डासहित मतदातामाझ गइरहेका छन् । मतदातासँग सबैजसो उम्मेदवारले इलामको विकासलाई मुख्य एजेण्डा बनाएका छन् ।
कहाँ कति मतदाता ?

जिल्लामा दुई लाख २४ हजार ८७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा एक लाख नौ हजार ५३५ र क्षेत्र नम्बर २ (२) मा एक लाख १५ हजार ३४२ मतदाता रहेका छन् । त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २८८, क्षेत्र नम्बर २ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २६० मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?